बेलायतमा कागज (आवासीय अधिकार) भएपछि नेपाल फर्कनु हुन्न भन्ने पुरानो मानसिकता फेरिएको छ । जहां जे काम गरेपनि हुन्छ भन्ने विचार विकास हुन थालेको छ । यसले गर्दा जन्मभूमिमा विस्तारै विकासको विचार जनस्तरबाट पनि जान थालेको छ । यस्ता कामलाई हामीले सामूहिक ढंगले लग्न सकेमा अझ स्तरीय र प्रभावकारी हुन्छ जस्तो लाग्छ । एनआरएनएले जन्मभूमिको विकासका लागि झिल्कोको काम गर्नु पर्छ । जसरी डढेंलो लाग्न एक झिल्को आगो भए पुग्छ, त्यस्तै नेपालको विकासका लागि एनआरएनले झिल्कोको भूमिका निर्वाह गर्नुपर्छ ।
धनीको मात्र क्लव होइन
एनआरएनए अहिले ७८ देशमा फैलिएको छ । जहां जहां नेपाली छन् त्यहां त्यहां एनआरएनए छ भन्दा फरक नपर्ला । नेपाल सरकारको
राजदूतावास नभएको ठाउंमा पनि एनआरएनए गठन भएको छ । मानिसहरुमा एउटा छाप छ कि एनआरएनए संस्था भनेको धनीहरुको क्लव हो । त्यो विल्कुल गलत कुरा हो । म त्यो बुझाइलाई पूर्णत अस्वीकार गर्छु । मेरो बुझाइमा एनआरएनए प्रवासमा रहेका सबै नेपालीहरुको साझा संस्था हो चाहे उनीहरु धनी हुन् वा गरिब । जसको उहारहण म आफैं हुं । म एक साधारण जागिर खाने मान्छे हुं । मैले व्रिटिश आर्मीमा जागिर खाएर रिटायर्ड भएं । अहिले दैनिक जीविकोपार्जनका लागि अर्को जागिर गर्छु । यसो भनिरहंदा म धनाढ्यहरुको विरोधी भने हुंदै होइन । समाजलाई सहजीकरण गर्न वा जुनसुकै कामको लागि आर्थिक आवश्यकता पर्दछ । यो संस्थामा पनि धनाढ्य व्यक्तिहरुको अवश्य जरुरत छ । अर्कोतर्फ समाज सेवाको भावना र भिजन भएका मानिसहरु पनि चाहिन्छ । एनआरएनए जस्तो संस्था हांक्न सबै खालको मानिसको सहभागिताले मात्र संस्थालाई जीवन्त बनाई उचाईमा पुरयाउन सक्छ भन्ने मेरो ठहर छ ।
(अध्यक्ष, गैर आवासीय नेपाली संघ बेलायत)