नेपाल सरकार यतिखेर पर्यटन वर्ष २०२० मनाउने तयारीमा जुटेको छ । देश समृद्धिको पथमा लम्किएको बताइरहंदा पर्यटनलाई प्रत्यक्ष टेवा पुग्ने यो अभियान थप कोशेढुंगा हुनेमा दुईमत छैन् ।
नेपालमा पर्यटन सम्भवतः एकमात्र यस्तो उद्योग हो जसले सबैभन्दा धेरै प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । अर्थतन्त्रलाई गतिशील बनाउन र देशको समृद्धिमा पर्यटन ठूलो सम्भावना भएको क्षेत्र हो । वर्ल्ड टुरिजम काउन्सिलको विश्लेषण अनुसार पर्यटनबाट नेपालको जिडिपीमा ४.९ प्रतिशत प्रत्यक्ष योगदान रहेको देखिन्छ । गत वर्षको पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान झण्डै एक खर्ब रुपैयां रहेको तथ्यांक छ । यही उद्योगबाट करिब ५ लाख नेपालीले प्रत्यक्ष रोजगारी पाएका देखिन्छ । पर्यटकले हस्तकला सामाग्री, कार्पेट र पश्मिना जस्ता सामानहरु किनेर लैजाने हुंदा वस्तु निर्यातमा पनि यसले ठूलो टेवा पुरयाएको छ ।
अब पर्यटन वर्षमै केन्द्रित हौं । नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्रयाउने महत्वाकांक्षी योजना ल्याएको छ, जुन सुन्दा र पढ्दा खुबै उत्साहित बनाएपनि व्यवहारमा उत्तिकै उदेक लाग्दो छ । नारामा मात्र पर्यटन वर्षको हल्लाले यस अभियान सफल होला त ? आशंका पनि उत्तिकै छ । अहिलेको आगमन ट्रेन्ड र वृद्धि हेर्दा सन् २०२० मा बढिमा १५ देखि १६ लाख पर्यटक भित्रने देखिन्छ । यद्यपि २०१८ को पर्यटन आगमन दर उच्च देखिन्छ तैपनि गत वर्ष २०१७ मा ९ लाख ४० हजार पर्यटक आएकामा २०२० मा २० लाख पुग्न करिब २९ प्रतिशतका दरले प्रत्येक तीन वर्ष वृद्धि हुन जरुरी छ ।
तर, २० लाख पर्यटक भित्रयाउने भनेर तामझामका साथ अभियान घोषणा गरिएपनि प्रचार अभियान ज्यादै सुस्त पाइएको छ । घोषणा गरेर मात्र पर्यटक भित्रने भए वर्षै पिच्छे यस्तो अभियान चलाइदिए मात्र हुने थियो । २० लाख पर्यटक भित्रयाउन नेपाल सरकारले ठोस नीति तथा कार्यक्रम कागजमा मात्र सिमित नराखी व्यवहारमै देखिने गरि काम अगाडि बढाउन सक्नुपर्छ । सार्क राष्ट्र बाहेक अन्यत्रका पर्यटकहरु होलिडे जान धेरै अगाडि योजना बनाउंछन् । नेपालमा पर्यटक आगमनको आंकडा हेर्दा अमेरिका र बेलायत क्रमशः तेश्रो र चौंथो बढि पर्यटक जाने देशमा पर्छन् । यी देशका पर्यटकहरु आफू घुम्न जानु वर्षौं अगाडि नै कुन देशमा यो वर्ष जाने भन्ने योजना बनाउंछन् । छोटो होलिडे प्लान भएपनि कम्तीमा ५, ६ महिना अगाडि उनीहरु फ्लाइट, होटल आदि बुकिङ गरिसकेका हुन्छन् । तसर्थ, सम्बन्धित निकाय नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले बेलायत अमेरिका जस्तो आफ्नो सम्भावित बजारमा आक्रामक रुपले प्रवर्धन कार्य बढाउन आवश्यक छ ।
नेपाल सरकारले ‘भिजिट नेपाल इयर २०२०’ मनाउन आव्हान गरेपछि विभिन्न मुलुकहरुमा विभिन्न कार्यक्रम आयोजना भइरहेका पनि छन् तर ती लक्षित समुदायसम्म पुग्न सकेको छैन् । यसपटक लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट जस्तो इभेन्टमा पनि विगत वर्ष भन्दा पृथक खासै केहि नयांपन देखिएन ।
नेपालले बेलायती पर्यटकहरुलाई नेपाल भित्रयाउने ठूलो सम्भावना रहेपनि त्यसको एकछेउ पनि दोहन गर्न सकेको छैन् । २०० वर्ष भन्दा लामो द्वीपक्षीय सम्बन्ध रहेको र सर्वोच्च शिखर सगरमाथा तथा गोर्खा सैनिकका कारण सबै बेलायतीहरुले चिन्ने र माया गर्ने बेलायतबाट वर्षेनी झण्डै ५० हजार पर्यटकमात्र नेपाल भ्रमण गर्न जानु निकै न्यून हो । नेपाल अझै पनि बेलायती मानसपटलमा ट्रेकिङ र वाकिङ बाहेकको गन्तब्य बन्न सकेको छैन् । सन् २०१७ मा बेलायती नागरिकहरुले ४५ बिलियन पाउण्ड (नेपालको पुरै अर्थतन्त्र भन्दा दोब्बर) होलिडे मा खर्च गरेको यहांको तथ्यांकले देखाउंछ । सन् २०१७ मा स्पेनले एक करोड ५८ लाख बेलायती पर्यटक भित्रयाएको थियो । नेपालमा भने करिब ५० हजारले मात्र पाइला हाले । अवश्य पनि स्पेनसंग नेपालको तुलना गर्नु सान्दर्भिक हुंदैन्, यद्यपि बेलायतबाट नेपाल भन्दा ३ घण्टा पर रहेको कम्बोडियाले नेपालले भन्दा ४ गुणा बढि करिब २ लाख बेलायती पर्यटक भित्रयाएको छ भने संगैको भियतनामले ६ गुणा भन्दा बढि ३ लाख हाराहारी बेलायतीलाई आफ्नो देशमा स्वागत गरेको छ ।
बेलायतको सन्दर्भमा वर्षेनी करिब ५० हजार पर्यटक नेपाल जान्छन् । प्रभावकारी अभियान चलाउन सके पर्यटन वर्ष २०२० मा एक लाख बेलायती पर्यटक सजिलै भित्रयाउन सकिन्छ । आंकडा अनुसार बेलायती पर्यटकको नेपाल बसाइ सरदर १२ दिन छ र उनीहरुले सालाखाला दिनमा ९९ डलर खर्च गर्ने गर्छन् । यस हिसाबले पनि १५ अर्ब रुपैयां नेपालको अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्ने देखिन्छ ।
हामी कम्बोडिया, भियतनाम देशका जति पर्यटक भित्रयाउन किन सक्दैनौं ? यसका लागि प्रभावकारी अभियान चलाउन जरुरी छ । नेपालको पर्यटन विकासका लागि जति पनि काम हरु भएका छन् त्यतिले मात्र नेपालले विश्वस्तरको गतिलो गन्तब्य बनाउन सम्भव छैन् । तसर्थ, तुरुन्त गर्न सकिने सुधारहरु र दीर्घकालिन रुपमा गर्न सकिने सुधारका कामहरुलाई पहिचान गरि शीघ्र अवलम्बन गर्नु आवश्यक छ ।
राम्रोसंग प्रचारप्रसार गर्ने हो भने दुई, तीन वर्षभित्रै नेपाल भ्रमण गर्ने ब्रिटिश पर्यटकको संख्या दोब्बर पार्न सकिन्छ । यसकालागि नेपाल पर्यटन बोर्ड, लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र स्थानीय काउन्सिलहरुसंग मिलेर काम गर्न आवश्यक छ । खासगरी स्थानीय ‘मेनस्ट्रिम’ मिडियाहरुमा लक्षित विज्ञापन दिनुकासाथै नेपालसंग सम्पर्कमा रहेका ट्राभल एजेन्सी, टुर अपरेटर तथा विमानसेवा कम्पनीहरुसंग अरु निकटमा रहेर काम गर्न जरुरी छ । त्यस्तै बेलायतका व्यापारिक संघसंस्थाहरु, स्थानीय काउन्सिल तथा विश्व विद्यालयहरुसंग सहकार्य गरेर पनि बेलायतीहरुलाई नेपालतर्फ आकर्षित गर्न सकिन्छ ।
सोर्ट टर्ममा तुरुन्त गर्न सकिने केहि अभियानहरु जस्तै ट्राभल ट्रेड जर्नालिष्ट, टुर अपरेटर, ट्राभल प्रोफेशनल्स् आदिलाई नेपाल घुमाउन आवश्यक छ, जसले आफ्नो देशमा फर्किएर प्रचार प्रसार गरुन् । बेलायती राष्ट्रिय मिडियामा नेपाल ट्रेकरका लागिमात्र होइन, यो आममानिस सबैका लागि होलिडे गन्तव्य पनि हो भन्ने प्रचार प्रसार गर्न जरुरी छ । नेपाल पर्यटन बोर्डले बीबीसीमा गरेको नेपाल सम्बन्धि विज्ञापन बेलायतमा बज्दैन् । बीबीसी यूकेमा विज्ञापनरहित सेवा भएका कारणले अरु देशमा विज्ञापनसहित भएपनि यहां कसैले सुनेको मैले थाहा पाएको छैन् ।
अर्को कुरा भिजिट नेपाल २०२० अभियान घोषणा गरिएपनि मुख्य पर्यटन आउने देशहरु जस्तै भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका जस्ता देशमा यसबारे अहिलेसम्म केही अभियान भएको छैन् । माथि उल्लेखित देशहरुमा प्रचार गर्न तथा त्यहांस्थित टुर अपरेटर र सरकारी निकायलाई निम्तो दिने जस्ता कार्य गर्न अब ढिलाइ गर्नुहुन्न ।
यस अलवा विदेशमा रहेका नियोग र पर्यटन प्रतिनिधिमार्फत बजार प्रवर्धनका लागि अभियान थालिहाल्न आवश्यक छ । नेपाल आउने एयरलाइन्सहरुसंग साझेदारी गरि भिजिट नेपाल एउटा अभियान भनि प्रचार प्रसार गर्न जरुरी छ । व्यापार मेलाहरुमा नेपालको सहभागिता केवल औपचारिकतामात्र भएको हुंदा यसलाई सशक्त र पृथक शैलीमा जोडदारका साथ अब अगाडि बढाइनुपर्छ । विकसित र क्रयशक्ति ज्यादै भएका देशहरुका राष्ट्रिय सञ्चारमाध्यममा नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्न अब बिलम्ब गरिनुहुन्न । विभिन्न देशका ट्राभल जर्नालिष्ट साथै टुर अपरेटरहरुलाई २०२० अभियान अगावै भ्रमणको निम्तो दिइ प्रचार प्रसारमा साथ लिन सक्नुपर्छ । नेपालको अस्तव्यस्त विमानस्थल, बस सेवा र सरसफाइमा सुधार गर्नुपर्छ । झन्झटिलो र समय धेरै लाग्ने भिसा नियमलाई इ भिसा लागू गरि कन्जेस्टेड भएको त्रिभुवन विमानस्थलमा आउने पाहुनालाई अलिकति भए पनि छिटो बाहिर निकाल्न सकेमा राहत हुने देखिन्छ ।
दीर्घकालीन रुपमा भने नेपाल पर्यटनबाट प्रशस्त फाइदा लिन सक्ने सम्भावना बोकेको देश हो । तर, यसका लागि सडक, विमानस्थल, होटेल तथा रिसोर्ट लगायतका पूर्वाधारहरुको व्यापक विकास गर्नुपर्छ । एकीकृत वस्ती बसाउनु, विभिन्न मनोरम होलिडे रिसोर्टहरुको विकास गर्नु, हिल स्टेशनहरु बनाउनु, रेल तथा मेट्रोहरु जस्ता आधारभूत सेवाहरु विकसित देशमा जस्तै बनाउंदै लैजानु पर्ने हुन्छ । नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायुसेवाले छिट्टै युरोपतर्फ पनि आफ्नो सेवा विस्तार गर्न पहल गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले त कालो सूचीबाट नेपाल हट्न सक्नुपर्छ । त्यसोभयो भने युरोपबाट नेपालमा जाने पर्यटकहरुको संख्या बढ्न गई नेपालको राष्ट्रिय अर्थतन्त्रमा थप टेवा पुग्नेछ । नेपाल वायुसेवाले ब्रिटिश एअरवेज र अन्य युरोपेली वायुसेवासंग कोड शेयर गरेर मात्रै पनि राम्रो फाइदा लिन सक्छ । लाखौं यूरोपेली गर्मीको छुट्टीमा युरोप तथा मध्यपूर्वका मुलुकहरुमा जान्छन् भने अक्टोबरदेखि फेब्रुअरीसम्म नेपाल लगायतका मुलुकहरुको भ्रमणमा जान्छन् । हवाइसम्पर्क, पर्यटन पूर्वाधार तथा लक्षित मार्केटिङ गर्न सकेमा युरोप धेरै नजिक छ भन्ने समय आउने छ । अझै दक्षिण र उत्तरमा रहेका ८०० करोड मध्यम वर्गलाई लक्षित गर्दै नेपाल एउटा विश्वस्तरिय पर्यटक क्षेत्र बन्न सक्दछ ।
पश्चिम नेपालमा नयां ट्रेकिङ रुटहरु विकास गर्न, पर्वतारोहीहरुलाई थप सुविधा दिन, आतिथ्य उद्योगलाई अरु बढी व्यावसायिक बनाउनुका साथै साहसिक खेलमा भाग लिन रुचाउने युवा पुस्ताकालागि नेपाल सर्वोत्तम गन्तव्य हो भन्ने सन्देश दिन आवश्यक रहेको मेरो बुझाइ छ ।
अहिले प्रविधिको विस्तारसंगै पर्यटकहरुको रुची पनि बदलिंदै गएको छ त्यसकारण उनीहरुका रुची अनुसारका उत्पादन तथा सेवा उपलब्ध गराएमा मात्रै प्रतिष्पर्धी बन्न सकिनेछ । अहिले मानिसहरु नयां ठाउं हेर्न मात्रै होइन्, नयां अनुभवकालागि पनि घुम्न जान्छन् । त्यसकालागि नेपाली खाना, संगीत, उपहार दिन मिल्ने नेपाली सामान र नेपालको भौगोलिक तथा जैविक विविधतालाई पनि संगसंगै राखेर प्रवर्धन गर्न जरुरी छ । अहिले पश्चिमा मुलुकहरुमा योग तथा ध्यानप्रति मानिसहरुको रुची बढ्दै गएको छ, त्यसलाई पनि लक्षित गरेर प्रचारसामग्री तयार पार्नुपर्ने देख्छु म ।
(बिराज भट्टको यो लेख कान्तिपुरबाट लिइएको हो, भट्ट लन्डनस्थित ट्राभल कन्सोलका प्रवन्ध निर्देशक हुन् । २० वर्षदेखि पर्यटन व्यवसायसंग सम्वन्धित उनी ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष र एनआरएन युकेका सल्लाहकार पनि हुन्)