लण्डन । सामान्यतय: प्राय सबै संस्थामा पूर्व अध्यक्षहरु अभिभावक मानिन्छन् । संस्थामा समस्या, बाधा अड्चन, साह्रो–गाह्रो आइपर्यो भने समाधान खोज्ने दायित्व हुन्छ उनीहरुको । तर, यसरी अभिभावक बन्नुपर्ने पूर्व नेतृत्वसितै मुद्दा लड्नु पर्यो भने कस्तो होला ?
यस्तै हुन पुगेको छ युकेको एउटा सामाजिक संस्थामा ।
कसरी हुन पुग्यो यस्तो ?
घटना थकाली समाज सेवा युकेको हो । सन् २००० मा थकालीहरुको बीचमा एकता कायम गर्ने र आपसमा पारस्परिक सहयोग गर्ने उद्देश्य राखेर थकाली समाज सेवा युकेको स्थापना भयो । सन् २००१ मा यसको अध्यक्षमा निर्वाचित भए नविनकुमार गौचन । छ वर्षसम्म उनी संस्थाको अध्यक्ष रहे । उनीपछि अध्यक्ष बन्ने पालो आयो क्याप्टेन राजेन्द्र शेरचन ‘एमबीइ’ को । राजेन्द्र शेरचन अध्यक्ष बनेपछि संस्थाको आजिवन सदस्य बन्ने अवधारणा ल्याइयो । धेरैजना आजिवन सदस्य बन्दा संस्थाको कोष पनि ह्वात्तै बढ्यो । पैसा निक्कै जम्मा भयो अब के गर्ने ? छलफल गर्दा सोच आयो अब संस्थाको घर किन्ने ।
यसैबला संस्थाको नेतृत्व परिवर्तन भयो । राजेन्द्र शेरचनको स्थानमा ज्ञान शेरचन फेरिए । अध्यक्ष परिवर्तन भए पनि घर किन्ने सोच परिवर्तन भएन । बरु ज्ञान शेरचनकै कार्यकालमा संस्थाको घर किन्ने औपचारिक निर्णय नै भयो । संस्थाका सदस्यहरुलाई प्रतिशेयर १ हजार पाउण्डको प्रतिशेयर विभाजन गरेर २४ सेप्टेम्बर २००९ मा प्लमस्टिडस्थित ३ पार्कडेल रोडको घर लिलामी बढाबढमा १ लाख ३५ हजार पाउण्डमा किनियो । घर त किनियो तर संस्थाको नाममा राख्न संस्था दर्ता थिएन । त्यसैले संस्था दर्ता नहुञ्जेलका लागि पूर्व अध्यक्ष नविनकुमार गौचन र उनकी श्रीमती बसुधा गौचनको नाममा घर पास गर्ने लिखित निर्णय गरियो ।
समाजका अनुसार घर किन्दाको लक्ष्य थियो १० वर्ष भित्र सबै शेयर सदस्यहरुको पैसा फिर्ता गर्ने र घर समाजको एकलौटी बनाउने । घर किनिएको दिनमै नविन गौचन र बसुधा गौचनले ‘मुनाफा नकमाउने गरी’ घर धनी हुने कागज गरेका थिए ।
सन् २०१५ मा मेजर खिमप्रसाद गौचनको नेतृत्वमा समाजमा नयाँ कार्यसमिति आएपछि नविन गौचनलाई समाजको नाममा घरको नामसारी गर्न अनुरोध गरियो । सोको जवाफमा नविन गौचनले औपचारिक रुपमा समाज दर्ता गरेपछि मात्र घर नामसारी गर्ने जवाफ दिए ।
त्यसपछि १५ अप्रिल २०१६ का दिन गैरनाफामुखी संस्थाका रुपमा समाजलाई दर्ता गरियो । र, गौचनलाई पुनः घर नामसारी गर्न ताकेता गरियो । जवाफमा उनले घरको तत्कालीन बजार भाउअनुसार सबै शेयर किन्न पैसा तयार गर्न भने । समाजले त्यसलाई पनि स्वीकार गर्यो र पुनः राजेन्द्र गौचनको पहलकदमीमा एक साताभित्र सबै शेयर किन्न चाहिने रकम जम्मा गरियो ।
त्यसपछि सबै शेयर किन्न रकम जम्मा भएको जनाउँदै घर नामसारी गरिदिन समाजले नविन गौचनलाई अनुरोध गरयो । प्रत्यूत्तरमा नविन गौचनले घरका डाइरेक्टरहरुको बैठकमा घरको नामसारीको विषयमा छलफल गर्नुपर्ने बताएको समाजको दाबी छ । १७ अप्रिल २०१६ मा डाइरेक्टरहरुको बैठक बस्यो र यदि समाजको साधारणसभाले अनुमोदन गरेमा ३१ जुलाई २०१६ लाई घरको नामसारी गर्ने मिति तोक्ने निर्णय गरयो ।
तर, ७ मे २०१६ को दिन बसेको समाजको साधारणसभामा समाजका सदस्यहरुबाट किनिएको घर प्रिन्सिपालिटी बिल्डिङ सोसाइटीको नाममा राखिएको र त्यसै घरलाई रिमोर्गेज गरी १७ जुन २०११ मा नविन गौचनले पैसा निकालेको रहस्योद्घाटन भयो ।
समाजको सदस्यहरुबाट किनिएको घर किन निजी कम्पनीको नाममा राखेको भनी समाजले सोध्दा नविन गौचनले व्यवस्थापन गर्न सजिलो र बीमा सस्तो पर्ने कारण देखाएको समाजको भनाइ छ । सो साधारणसभाले ९ मे मै २०१६ मा घरको नामसारीको प्रक्रिया शुरु हुनुपर्ने र ३० जुनमा सकिनुपर्ने निर्णय गरयो ।
घर नामसारीको प्रतीक्षा गरिरहेका समाजका सदस्यहरु त्यतिबेला तीनछक्क परे जब उनीहरुलाई सही गर्न एउटा फाराम पठाइयो । समाजका अनुसार फाराममा लेखिएको थियो – घर नामसारी सकिएपछि म घरका पूर्व धनीहरु नविनकुमार गौचन र श्रीमती बसुधा गौचनउपर कुनै कानुनी कारबाही नगर्ने स्वीकृति दिन्छु ।
१७ जुलाई २०१६ दिन बसेको समाजको आकस्मिक बैठकले सो फाराममा हस्ताक्षर नगर्ने निर्णय गर्यो । त्यसपछि पनि घर नामसारी गर्न विभिन्न उपायहरु गर्दा असफल भएपछि समाजले नविन गौचन र बसुधा गौचनको विरुद्धमा अदालत जाने निर्णय गरेको अध्यक्ष मेजर खिमप्रसाद गौचन बताउँछन् ।
अदालतको फैसला
यसरी समाज, घर किन्दाका शेयर सदस्यहरु बेग्लाबेग्लै रुपमा तीन पक्ष वादी बनी नविन गौचन र उनकी श्रीमती बसुधा गौचनविरुद्ध अदालत पुगे । सो मुद्दामाथि सेण्ट्रल लण्डनस्थित काउण्टी कोर्ट, रोयल कोर्ट अफ जस्टिसमा अक्टोबर २९, ३० र ३१ मा बहस भई २८ नोभेम्बर २०१८ मा फैसला सुनाइयो । न्यायाधीश वुलवीकको इजलासले नविन गौचन र उनको श्रीमती बसुधा गौचनलाई ३ पार्कडेल रोड, प्लमस्टिडको घर समाज र यसका नयाँ ट्रष्टी खिमप्रसाद गौचनको नाममा नामसारी गर्न आदेश दिएको छ ।
सो घर रिमोर्गेज गरी प्रिन्सिपालिटी बिल्डिङ सोसाइटीको नाममा पैसा निकालिएकोमा अदालतले ‘विश्वासको उल्लङघन’ गरेको ठहर गरेको छ । सो पैसाबाट किनिएको २७ आर्टिलरी रोड कोलचेष्टरस्थित घरमा समाज र शेयरहोल्डरहरुको पूर्ण हिस्सा रहने आदेश जारी भएको छ । त्यसैगरी, समाजकै पैसाबाट किनिएको २ राडनोर ब्रिज स्ट्रिट, फोल्कस्टोनको घरमा समाज र शेयरहोल्डरहरुको ६२ हजार ३३५ पाउण्ड ८८ पेन्स लगानी भएकोले सो घरमा समाजको ६१.५ प्रतिशत र नविन गौचनको ३८.५ प्रतिशत शेयर रहने अदालतले फैसला गरेको छ ।
त्यस्तै, यी तीनवटा घरहरुको सन् २००९ देखिको खर्च, आम्दानी र मोर्गेजको हरहिसाब लगायत बाँकी विषय छिनोफानो गर्न डिष्ट्रिक न्यायाधीश लाइटम्यानको इजलासमा पठाउने आदेश अदालतले दिएको छ ।
यसैगरी, मुद्दा लड्दा समाज र शेरयरहोल्डरहरुको ६५ हजार पाउण्ड खर्च भएको ठहर अदालतले गरेको छ । सोमध्ये नविन गौचन र बसुधा गौचनलाई अन्तरिम रुपमा ४८ हजार २५० पाउण्ड २७ डिसेम्बर २०१८ साँझ ४ बजेसम्म वादीहरुको वकिललाई तिर्न अदालतले आदेश दिएको छ ।
अदालतको फैसलापछि कुरा गर्दै समाजका अध्यक्ष मेजर खिमप्रसाद गौचनले भने, ‘हामी अदालतको फैसलाबाट पूर्णरुपमा खुशी छौँ ।’
समाजले आफ्नै पूर्व अध्यक्षविरुद्ध तीनवर्ष लामो मुद्दा लड्न हजारौँ पाउण्ड खर्च गर्नुपर्यो । बयानका क्रममा पटकपटक समाजका दर्जनौँ सदस्यहरु, बृद्धावस्थाका सल्लाहकार र सदस्यहरु अदालत धाउनु पर्यो । अध्यक्ष खिमप्रसाद गौचनलाई सोधियो, यो मुद्दाबाट तपाईहरुले के शिक्षा पाउनु भयो ?
‘झूठो बोल्नु हुँदैन, जालझेल जति गरे पनि त्यो एकदिन पर्दाफास भएरै छाड्छ । सत्य जति लामो समय लागे पनि प्रमाणित भएरै छाड्छ । हाम्रो समाजमा घटेको घटनाबाट अरु समाजलाई शिक्षा मिलोस्’, उनले भने ।
उता, यस मुद्दामा प्रतिवादी रहेका नविनकुमार गौचनसित वीनेपालीले प्रतिक्रिया लिन खोज्दा उनले ‘परिवारभित्रको विषयलाई समाचारमा लैजाने कुरामा आफू खुशी नरहेको’ बताए ।