बग्दाद, १३ पुस – युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ, तर राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ । उनीहरुले इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले सुटुक्क गर्नुभएको भ्रमणलाई इराकी सांसदहरुले “दम्भपूर्ण” र “राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन” भनी व्याख्या गरेका छन् ।
अमेरिकी राष्ट्रपतिहरुबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई प्रायः गोप्य राखिने प्रचलन छ, र ट्रम्पको सवालमा पनि यही भएको बताइन्छ । अमेरिकी राष्ट्रपतिले इराक छाड्नु केही मिनेटअघि मात्र केही व्यक्तिलाई राष्ट्रपति ट्रम्प इराकमा रहेको जानकारी थियो ।
तर राष्ट्रपति ट्रम्पको यस पटकको आकस्मिक भ्रमणलाई लिएर इराकमा राजनीतिक विवाद उत्पन्न भएको छ ।
करिब तीन घण्टा हवाई अखडामा बिताउनुभएका राष्ट्रपति ट्रम्पले सैनिकहरुलाई सम्बोधन गर्दै इस्लामिक स्टेट समूह समाप्त भएको बताउनुभएको थियो । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको उहाँले दाबी गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीलाई अरु देशले बल्ल देशको मान्यता दिन थालेका छन्, हामी अरुमाथि राज्य गर्ने मुलुक होइनौं ।”
तर ट्रम्पको भ्रमणप्रति इराकी सांसदहरुले बिरोध गर्न थालेका छन् । “ट्रम्पले आफ्ना सीमाको विचार गर्नु पर्दछ । इराकमाथि अमेरिकी अतिक्रमण अब सकिएको छ,” इराकी सांसद सबाह अल–सैदीले बताउनुभयो । ट्रम्प सुटुक्क इराक आएकोप्रति रोश प्रकट गर्दै उहाँले भन्नुभयो, “मानौं, इराक संयुक्तराज्य अमेरिकाकै एउटा राज्य हो ।”
ट्रम्पले इराकका कुनै पनि उच्च अधिकारीसँग भेटघाट गर्नु भएन । तर उहाँले इराकी प्रधानमन्त्री अदेल अब्दुल–महादीसँग अन्तिम समयमा फोनमा कुरा गर्नुभएको थियो । इराकी प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको भेटघाट भेट्ने ठाउँका बारेमा विमति रहेका कारण अन्तिम समयमा रद्द गरिएको जनाएको छ ।
इराकको संसदले इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने प्रस्ताव पारित गर्ने बारेमा पटकपटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन ।
बग्दादबाट करिब १०० किलोमिटर पश्चिमको हवाई अखडामा तीन घण्टा बिताउनुभएका राष्ट्रपति ट्रम्पले इराकमा तैनाथ करिब पाँच हजार २०० अमेरिकी सैनिक स्वदेश फिर्ता गर्ने कुनै योजना नरहेको बताउनुभएको थियो । उहाँले ऐन अल–असद हवाई अखडालाई आवश्यक परेको खण्डमा सिरियाभित्र हवाई आक्रमण गर्न प्रयोग गरिने बताउनुभयो ।
“रुसी वा इरानी मामिलामा अमेरिकी स्वार्थलाई भरथेग गर्न इराकलाई प्लेटफर्मका रुपमा प्रयोग गरिनु हुन्न,” संसदमा अल–सैदी इस्लाह समूहका वरिष्ट सांसद हकिम अल–जामिलीले बताउनुभयो ।
इस्लामिक स्टेट समूह विरुद्धको गठबन्धनकै एक हिस्साका रुपमा अमेरिकी सैनिकहरु इराकमा तैनाथ छन् । अमेरिकी सैनिकहरु सन् २०११ मा इराकबाट फिर्ता भएका थिए तर इराक सरकारको आमन्त्रणमा जिहादी समूहसँगको लडाइँमा मद्दत गर्न सन् २०१४ मा पुनः इराक फर्किएका थिए ।