वाइडबडी प्रकरण छानविन गर्न बन्यो उच्चस्तरीय न्यायिक समिति

काठमाडौँ, १९ पुस – सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ ।

संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ ।

उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ ।

संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो ।

उक्त समितिले ठहर गरेको दोषीलाई कारवाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको छ । निगमले वाइडबडी जहाज खरीद गर्दा रु चार अर्ब ३५ करोड अनियमितता भएको सो उपसमितिले जनाएको थियो ।

वाइडबडी घटनाका दोषीलाई जिम्मेवारीबाट मुक्त गर्न माग

विवेकशील साझा पार्टीले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले रु चार अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले आज विज्ञप्तिमार्फत संसदीय छानविन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल कार्यभारबाट मुक्त गरी निष्पक्ष कानूनी र न्यायिक प्रक्रिया पारदर्शिरुपमा यथाशिघ्र अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । “सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको स्पष्ट रुपमा देखिन्छ । अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानिबुझि छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्” विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्परिक राजनीतिक अभ्यास नै समस्याको मुल कारण भएको ठहर गर्दै सो पार्टीले यस्ता विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दललगायतलाई आफ्नो ठाउँबाट सार्थक पहल गर्न समेत आह्वान गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री