पाठकहरु केही समयको विश्रामपछि यहांहरुसमक्ष आएको छु । आशा छ क्रिसमस, अंग्रेजी नयां वर्ष २०१९ उल्लासका साथ बित्यो होला । मेरो बिलेटेड शुभकामना ।
खुशीको खबर सुन्दैछु, बेलायतबाट नेपाल भ्रमण गर्न जाने पर्यटक संख्या सन् २०१८ मा १५ प्रतिशत बढि अर्थात ६३ हजार ८६ पुगेको छ रे । महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाउने उत्साह पनि देखाएको समाचार पढें । महामहिमलाई अग्रीम शुभकामना ।
बेलायतबाट मात्र होइन्, समग्रमै सन् २०१८ मा नेपाल भ्रमणमा जाने विदेशी पर्यटकको संख्या उत्साहजनक रुपमा वृद्धि भई झण्डै १२ लाख पुगेको समाचार पढेर खुशी लागेको छ ।
नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउन महामहिमकै अध्यक्षतामा यही जनवरी १९ मा दूतावासमा एक उच्चस्तरिय समिति गठन हुन लागेको समाचारले झन् म गदगद छु किनकि यस्तो समितिको आवश्यकता मैले विगत देखि नै आफ्नो लेखहरुमा उठाउंदै आएको थिएं । पर्यटन बुझेका मान्छे त्यस्तो टिममा रहुन् र काम गर्न सक्ने मान्छे परुन् भन्ने मेरो चाहना पनि थियो र छ ।
पर्यटन नेपालको अर्थतन्त्रको मेरुदन्ड मानिन्छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरि त्यस वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्रयाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । के २० लाख पर्यटक नेपाल उतार्न सम्भव छ ? अबको दुई वर्षमा झण्डै दोब्बर बनाउन सकिएला ?
आउनुहोस् त्यसका चुनौती र हामीले के गर्न सकिन्छ त्यसबारे संक्षिप्त रुपमा चर्चा गरौं ।
१) एयरपोर्ट पूर्वाधार- नेपालमा जम्मा हालसम्म एउटा मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट छ जसमा अन्तर्राष्ट्रिय उडान र डोमेस्टिक उडानहरुले भरिन्छन् र अत्यन्तै जोखिमपूर्वक जहाज अवतरण गर्छन् । जहाज पार्किंग सानो छ, रनवे लम्बाई सानो छ । रनवेको गुणस्तर निम्न छ । समय समयमा पिच उप्कन्छ र पाइलटका लागी हैरानी भइदिन्छ । भौगोलिक बनावट अनि मौसम परिवर्तन तथा ट्राफिकको चापले गर्दा जहाजहरु धेरै समय आकासमै होल्ड गर्नुपर्ने वाध्यता छन् । के यही चापले फेरी दोब्बर जहाज अवतरण गर्न सक्लान् ?
भैरहवा एयरपोर्ट २०७५ को साउनसम्म तयारीमा आउने भनिएको छ । यदि त्यो सांच्चिकै भनिएको समयमा बन्यो भने अर्को वर्षबाट भैरहवा सञ्चालनमा आउंदा काठमान्डौंको ट्राफिकमा ३० प्रतिशत कमी आउन सक्छ जुन ठूलो सफलता हो । पोखरामा बन्दै गरेको एयरपोर्ट रिजनल हब बने ट्राफिकलाई न्यूनीकरण गर्न भूमिका खेल्न सक्छ ।
२) नेपाल बायु सेवा निगम- पर्यटक भित्रयाउन देशको आफ्नै जहाजले ठूलो भूमिका खेल्ने गर्छ । थाइल्याण्डको पर्यटन ब्यवसायले यति बिघ्न फड्को मार्न थाई एयरवेजको ठूलो हात छ । नेपाल बायु सेवा निगम अनि थाई एयरसंगै जन्मिएका हुन् । भ्रष्ट राजनीतिज्ञहरुले गरिखाने ठाउं बनाउंदा निगम करिब करिब टाट पल्टने अवस्थामा छ । हप्तैपिच्छे घाटा छ, बिना बजार जहाज खरिद गरिएको छ र वाइड वडी प्रकरणतिर म जान चाहन्न । तर, ने.बा.से.नि.ले सिरियस्ली आफ्नो बजारलाई एनालिसिस् गर्न सक्ला ? प्रश्न हजार छन् र अहिलेसम्म बांचेको खाली ग्राउन्ड हयाडलिंगको आम्दानीबाट मात्र हो । आगामी दिन निगमका लागि सहज छैन् । अब पर्यटन विकासका लागी निगम युरोप अनि अमेरिका छिर्नु नै पर्छ । बेलायत र युरोपमा नेपाली जनसंख्या बढ्दो छ, कोड सेयर गरेर भएपनि चल्नुपर्छ तर त्यो यती चांडै हुने सम्भावना न्यून छ । त्यो भन्दा पहिला निगम आफूलाई ईयूको ब्ल्याक लिस्टबाट निस्कन जरुरी छ । युरोपका दूताबासबाट त्यो कदम चालिनु पर्ने देखिएको छ ।
३) कनेक्टिभिटी- हाम्रो भूगोलले गर्दा विदेशीहरु नेपाल छिर्नका लागी हवाई अनि सडक मार्ग नै हुन् । हामी संग ब्यवसायिक रेल, रोडको कनेक्टिभिटी हाल लाई छैन् । भौगोलिक हिसाबले हाम्रा बाटा घाटाहरु त्यति राम्रा छैनन् । मानौं १०० माइलको दुरी विदेशमा दुई घन्टा मै गर्न सकिन्छ तर नेपालको भौगोलिकता र गुणस्तरहीन बाटोले गर्दा पुरै दिन नै बाटोमा बित्न सक्छ । १५ मिनेटको हवाई भाडा निकै महंगो छ । विदेशीका लागि फेरी अर्को भँडा लिने गरिन्छ सायद त्यो नेपालमा मात्र होला । युरोप, अमेरिकामा कहीं छालाको रंगका आधारमा भाडा लिने गरिएको ज्ञान छैन् । त्यो परिपाटी अन्त्य गरिनु पर्छ । नेपालमा हुने जुलुस र धर्नाले पर्यटकीय स्थान जाने बाटा घाटा र पर्यटकीयस्थलबाट दुई किलोमिटर नजिक नारा जुलुस र धर्ना निषेध नै गर्नुपर्ने कानुन बनोस् । पर्यटक स्थलमा जाने बसहरु सिमित गति र नियममा चलोस्, बस अथवा माइक्रो लिएर पर्यटकहरु गन्तव्यसम्म पुग्न सक्ने पूर्बाधारको विकास होस् ।
४) विदेशीका लागि महंगो भाडा दर- मसंग युरोपका अधिकांश र अमेरिकी तथा केही एसियन देशहरु घुमेको अनुभव छन् । मलाई कुनै पनि देशमा मेरो छालाको रंग हेरेर अर्कै मुल्य तोकिएको थाहा भएन् । हामीमा किन मुल्य असमानता हुन्छ ? पैसामा हुने जुन असमानता छ, त्यो रोकिनु पर्छ भन्ने बुझ्ने गरेको छु । साथै पर्यटकीयस्थल घुम्दा नेपाली र विदेशीलाई लिने शुल्क आकास जमिनका फरक छन्, त्यसतर्फ पनि ध्यान दिन जरुरी लाग्छ मलाई ।
५) भिजा फ्री- तुलनात्मक रुपमा नेपालको भिजा फ्री त्यति महंगो छैन् तर २०२० पर्यटन वर्षको उपलक्ष्य पारेर २१ दिनसम्म नेपाल बस्ने पर्यटकलाई भिजा फ्री गरियो भने नेपाल प्रतिष्पर्धी बजारमा दरहोसंग जम्न सक्थ्यो र निक्कै पर्यटकका लागी आकर्षक गन्तव्यका रुपमा नेपाल लाई प्रवर्धन गर्न सकिन्थ्यो ।
६) हयासल फ्री नेपाल- पर्यटकका लागी आतिथ्य सत्कार नेपालको आफ्नै परिचय बन्ने गरेको छ तर केही समययता नेपाली हरुबाट पर्यटक ठगीएका वा लुटिएका घट्नाहरु पनि बढ्दो छ । सिंगल फिमेल ट्राभलका लागी अझै नेपाल खुल्न सकेको
छैन् । अपराधिक घटनाका लिस्ट चांग
छन् । पर्यटकीयस्थलहरु हयासल फ्री हुन सकेका छैनन् । बाटोमा हिंडेका पर्यटक हरुलाई टुर, होटल, कार्पेट, हेन्डीक्राफ्ट अनि ड्रग्स बेच्ने बिचौलियाहरुले निक्कै दुःख दिने गरेका छन् । अब पर्यटकीयस्थलहरु हयासल फ्री हुन जरुरी छ ।
७) पर्यटकीयस्थल दुर्गन्ध- हाल ताल अतिक्रमण गर्ने, हेरिटेज साइटका डिजाइन परिवर्तन गर्ने, जगेर्ना नगर्ने र आधुनिक भवनहरुको निर्माण गर्ने, ठूला होर्डिंग राख्ने बानीले गर्दा पर्यटकीयस्थल हरुमा नराम्रो प्रभाव पारेको छ । काठमान्डू दरबार स्क्वायर यसको राम्रो उदाहरण हुन सक्छ । सरांगकोटको रुखहरु काटिनाले माटो पुरै बगेर तालमा थेग्रिएको छ र त्यसले तालको भविष्य नै संकटमा पारिदिएको छ ।
बाग्मति अनि विष्णुमतिमा पानी बग्ने बाटो पुरि घरहरु निर्माण गरिएको छ । फोहोर पानी फाल्ने नेपालीहरुको रोगले पुरै जलचर रु नास भइरहेका छन् । नारायणी नदीको भविष्य संकटमा पर्न लागेको छ जसबाट निकुन्जभित्र जनावरहरुमा ठूलो प्रभाव परेको छ ।
सगरमाथामा फोहरको डंगुर छ । त्यो सफा गर्नु पर्ने देखिन्छ र फोहोरका लागि कडा नियम कानुन बनाउन पर्ने देखिन्छ ।
लुम्बिनीको हालत त्यस्तै छ । हामी फोहोर ब्यवस्थापनमा निक्कै चुकेका छौं ।
माथी उल्लेखित कुराहरु सरकारी योजनाको रहयो । अब हामी बेलायत अथवा सम्बन्धित देशका दूताबास र टुरिजम् बोर्डका दूतहरुबाट के गर्न सक्छौं आउनुस् चर्चा गरौं ।
१) बिदेशी मिडियाको सहभागिता- हामी नेपालीहरु लाई बुद्ध र सगरमाथाकाबारेमा गुनगान गाइ राख्नै परेन् । बिदेशी मिडिया बीबीसी र आइटिभी, मेट्रो, गार्डियन, डेली मेल, ट्राभल ब्लगर अथवा सम्बन्धित देशहरुलाई भेला गरेर कार्यक्रम आयोजना गर्ने, भिजिट नेपाल २०२० को उदेश्य, नयां थपिएका गन्तव्य अनि पर्यटनबाट होमस्टे कन्सेप्ट लगायतबारे जानकारी गराउने, सम्बन्धित देशबाट सोसल मिडिया फेसबुक, इन्सटाग्रामबाट नेपालको भिडियोहरु लाई प्रोमोट गर्ने ।
२) डेभिड एटेनबरो प्रकृतिवीज्ञ हुन्, नेपाल प्रकृतिको बरदान भएकाले उनलाई नेपाल लगेर डकुमेन्ट्री बनाउने र हिमाल पग्लंदा हुने क्षतिका बारेमा जानकारी गराउने
३) जोआना लुम्ले र टम क्रुज, प्रिन्स हयारी, रिक्की मार्टिन, डेभिड बेकहयाम साथै एभरेस्ट मुभीका कलाकारहरु नेपाललाई माया गर्छन् । उनीहरुलाई पनि सहभागिताका लागि आव्हान गरेर प्रवर्धन गर्न सकिन्छ ।
४) नेपाल प्रवर्धनका निम्ति लन्डनमा डुल्ने बसहरुमा भिजिट नेपाल २०२० को पेन्ट लगाउने र स्टीकर बनाएर आफ्ना आफ्ना गाडीहरुमा लगाउने ।
६) नेपालको हवाई सेवा तुलानात्मक रुपमा महंगो छ । हप्ताको २ वटा डाइरेक्ट फ्लाइट लन्डन काठमाण्डू चलाउने, आरएनएएसीले जापान शुरु गर्दैछ । दोस्रो गन्तव्य बेलायतलाई राख्ने र ब्यवसायिक उडानहरु भर्ने ।
७) नेपालको आकाशमा जेट, कतार र इत्तिहाडको मनोमानी चलेको छ । ब्रिटिश एयरवेज र भर्जिन लगायत एयरलाइन्सलाई नेपाल लैजान पहल गर्ने र सिधा उडान गराउने जसले अहिले हैकम जमाइरहेका एयरलाइन्सहरुलाई अप्रत्यक्ष रुपमा भाडा कम गर्न वाध्य बनाउंछ र उनीहरुको एकाधिकार तोडिन्छ ।
८) पर्यटन दूत खारेज गरेर पर्यटनमा काम गरेका बीज्ञहरुको टिम बनाएर काम गर्ने अथवा पर्यटन बुझेको मान्छेलाई जिम्मेवारी दिएर काम गर्ने ।
९) रारा लगायत नयां गन्तव्यहरुको प्रवर्धन हुनै सकेको छैन् । प्राकृतिक, साहसिक र धार्मिक पर्यटनबारे प्रचार प्रसार गरि बजार पुरयाउन सकिएको छैन्, त्यो बहस चलाउने ।
१०) नेपाल, इन्डिया र टिबेट बेच्ने टुर अपरेटरलाई जम्मा गरेर नेपालबाट पनि होटल र ट्राभल एजेन्ट बोलाएर, वर्कसप राखेर नेपाल प्रवर्धन गर्ने केन्जिंगटनमा एडभेन्चर टुरमा नेपालले सहभागिता जनाउने हुन सक्छ र त्यसका निम्ति तीब्र तयारी जरुरी छ ।
११) नेपाली खाना आफैंमा अपरम्पार छ । झानेको, सांधेंको, पोलेको, मोलेको, बफाएको सबै खाना छन् नेपालमा ।
दूतावासमा कार्यक्रमहरु गर्दा नेपाली स्वाद पस्कने, खानाहरुका बारेमा जानकारी दिने ।
१२) वेष्टफिल्ड वा आफ्नो देशमा धेरै मान्छे आउने ठाउं जुन ठूलो छ दैनिक हजारौं सपिंगका लागी मान्छेहरु आउंछन् अनि जान्छन् । नेपाल प्रवर्धनका लागि एउटा शनिबार कार्यक्रम गर्ने, नेपालको प्याकेज बेच्ने टुर अपरेटर, एयर लाइन्स् अनि टिपिकल नेपाली खानाको स्टल राख्ने ।
१३) नेपालको पर्यटन सम्बन्धी किताब, खोज सामाग्री प्रत्येक लाइब्रेरीहरुमा राख्दिने ।
माथी उल्लेखित बुंदाहरुमध्ये केही गर्न सकियो भने पनि नेपालको पर्यटन प्रवर्धनमा टेवा पुरयाउन सकिन्थ्यो । दूताबासलाई टिमको जरुरी छ भने हामी नेपालको लागी भोलिन्टिएर गरेर पर्यटन प्रवर्धन गर्न तयार छौं । युरोपभरका दूताबासहरुले यही अनुरूप कार्यक्रम गर्न सक्छन् तर त्यसको लिड बेलायतले लिन जरुरी छ ।
धेरै आशाहरु छन्, ति आशाले जीवन पाउन् । जय होस् !