लन्डन । रोबोट तथा अन्य प्रविधिको विकासले सन् २०३० सम्म विश्व कुल ग्राहस्थ उत्पादनमा १५ ट्रिलियन (१५ हजार अर्ब) डलरको योगदान पुग्ने एक अनुसन्धानले देखाएको छ । लन्डनस्थित प्रसिद्ध कम्पनी प्राइस वाटरहाउस कुपरले २९ देशका दुईलाख विभिन्न सेक्टरको कामलाई प्रविधिले पार्ने प्रभावबारे गरेको विस्तृत अध्ययनले उक्त तथ्य देखाएको हो ।
अनुसन्धानमा सन् २०२० को दशकमा प्रविधिको पूर्ण विकास भइ सन् २०३० को दशकमा रोबोट तथा अन्य अटोमेटिक प्रविधिले ३० देखि ४० प्रतिशत कामदार विस्थापित गर्ने उल्लेख छ । उक्त अनुसन्धानले बेलायतको रोजगार ३० प्रतिशत, अमेरिकाको ३८ प्रतिशत, जर्मनीको ३५ प्रतिशत, जापानको २१ प्रतिशत अटोमेटिक प्रविधिले लिने भविष्यवाणी गरेको छ । यस्तो प्रविधिले प्रभाव पार्ने क्षेत्रहरु यातायात तथा स्टोरेजमा ५६ प्रतिशत, औद्योगिक उत्पादनमा ४६ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ४४ प्रतिशत र स्वास्थ्य तथा सामाजिक कार्यमा १७ प्रतिशत छन् ।
न्यून सिप भएका कामदारलाई यस्तो प्रविधिको विकासले सबैभन्दा बढि असर पर्नेछ । रोबोट तथा प्रविधिको विकाससंगै स्नातक तथा यसभन्दा बढि योग्यता भएका कामदार मध्ये १२ प्रतिशतको रोजगारी जोखिममा रहनेछ भने यसभन्दा कम दक्षता भएको ४६ प्रतिशत कामदारको जागिर प्रविधिले खोस्ने अनुमान गरिएको छ ।
सन् २०३० को सुरुवातमा यस्तो प्रविधिको विकासले करिब एक करोड बेलायतको जनशक्तिलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने कुरा ध्यानमा राख्दै कामदारको दक्षता बढाउन सिपको विकास गर्नुपर्नेमा जोड दिइएको छ । बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले प्रविधि विकासले धेरैको जागिर जान सक्ने जोखिमलाई ध्यान राख्दै नयां रोबोट कर नीति अबलम्बन गर्ने घोषणा गरिसकेको छ । लेबर पार्टीले कामदार हटाएर प्रविधिको साथ लिने कम्पनीहरुलाई कर लगाउने जनाउंदै प्रविधि मालिक हुने अवस्था अन्त्य हुनुपर्ने कुरा पनि बताएको छ । धेरै कामदारले आफ्नो नोकरी गुमाउनुपरेको समस्या जोडदार रुपले सम्बोधन गर्नुपर्ने आवश्यकता समेत औंल्याइएको छ । प्रविधिको विकासले पुरा समाजले फाइदा उठाउनुको बदला लोभी ब्यवसायीहरुले यसको नाजायज मुनाफा कमाएकाले सामाजिक विभेद अन्त्यका लागि यस्तो कर उपयोगी हुने पनि लेबर पार्टीले जनाएको छ ।
रोबोटका कारण आफ्नो जागिर गुमाएका कामदारका लागि उक्त करबाट उठाइएको रकम खर्च गरिने आवाज टड्कारो रुपमा उठ्न थालेको छ । तर, बढ्दो प्रविधि तथा रोबोटको विकासले उत्पादकत्व बढ्नुका साथै नयां रोजगारका अवसरहरु बढ्ने सम्भावना पनि उत्तिकै रहेको लन्डनका अर्थवीद बिकलचन्द्र आचार्यको टिप्पणी छ । प्रविधि विकासले कार्य दक्षता वृद्धि हुनुका साथै प्रदुषण कम, उत्पादन तथा वितरणमा गुणात्मक वृद्धि र मुल्य शुपथ हुने आचार्यले बताए ।
बढ्दो प्रतिष्पर्धा तथा ग्लोवलाइजेसनको युगमा रोबोट करले उत्पादकत्वमा ह्रास आइ मानिसको आवश्यकता अनुरुप सेवा दिन सक्षम नहुने पनि यसका आलोचकहरुले बताएका छन् ।
कस्तो कम्पनीले रोबोट कर तिर्ने? अब भविष्यमा प्रयोग हुने कम्पनी वा कहिले देखि यो कर लागू हुने ? विदेशमा मुख्यालय भएको कम्पनीहरु जस्तै गुगल, अमेजनलाई कसरी कर लगाउने? प्रविधि विकासको अनुसन्धानका लागि रोजगार खडा गर्न उत्साह कम हुने होइन भन्ने जस्ता अनेक प्रश्न पनि उत्तिकै उब्जिएका छन् ।
संसारका सबैभन्दा धनी व्यक्ति मध्ये एक बिल गेट्सले प्रविधिको विकासले सरकारको आम्दानी कम हुंदै गएकोले रोबोट कर लगाउनु पर्ने धारणा केहि वर्ष अघि नै राखेका थिए । उनले यसबाट उठ्ने करले मानिस चाहिने सेक्टर जस्तै मेडिकलमा लगानी गर्न सकिने कुरा बताएका थिए । कान्तिपुर