काठमाडौँ, १८ फागुन – दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसैबीचमा भारत र पाकिस्तान दुई ठूला युद्ध लडिसकेका छन् भने सीमा क्षेत्रमा हुने घटनालाई लिएर पटक पटक तनाव आएका पाइन्छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसै वास्तविकतालाई स्वीकारेको र भनेको हुनुपर्छ युद्धले कसैको भलो गर्दैन । गत बिहीबार पाकिस्तानी संसदका दुवै सभालाई संयुक्त सम्बोधन गर्दै उहाँले उक्त कुरा भन्नुभएको थियो ।
खानले पाकिस्तानले पराजित हुने डरले नभै युद्ध कसैका लागि लाभकारी नहुने निश्कर्षसाथ ‘शान्तिको सङ्केत’ स्वरूप आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका कमाण्डर तथा युद्धक विमान चालक अभिनन्दन वर्तमानलाई शुक्रबार फिर्ता गर्ने घोषणा गर्नुभयो । यसलाई सकारात्मक पहलका रूपमा पाकिस्तानी प्रधानमन्त्रीलाई विश्वले प्रशंसा गरिरहेको छ । घोषणा अनुरूप पाकिस्तानले अभिनन्दनलाई शुक्रबार साँझ फिर्ता पनि गरेको छ ।
अभिनन्दनलाई भारतले पनि कुनै शङ्काको घेरामा नराखी भब्य स्वागतसहित स्वदेशमा भित्राएको छ । एक युद्धक विमानका चालक तथा सैनिक कमाण्डर अभिनन्दनलाई सहज फिर्ता गर्न तयार बन्नु पाकिस्तानको महानता पक्कै हो ।
कमाण्डर अभिनन्दनको भव्य स्वागत, र भारतीय सेनाको प्रशंसा
वायुसेनाका विङ कमाण्डर अभिनन्दन शुक्रबार साँझ ९.२० मा भारतीय पञ्जाब राज्यस्थित अमृतसर नजिकैको अतारी–वागा सीमा हुँदै प्रवेश गर्दा उहाँको स्वागतका लागि हजारौँको सङ्ख्यामा भारतीयहरू त्यहाँ पुगेका थिए ।
अभिनन्दनको स्वदेश फिर्तीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट् गर्दै भन्नुभयो, “विङ कमाण्डर अभिनन्दनलाई मातृभूमिमा स्वागत छ । उहाँले लेख्नुभयो, राज्य तिम्रो उदाहरणीय साहसका लागि गर्व गर्दछ ।”
“हाम्रो सैनिक बल एक अर्ब तीस करोड भारतीयका लागि प्रेरणा हो ।”
गृहमन्त्री राजनाथ सिंह, रक्षामन्त्री निर्मल सितारमण, प्रतिपक्षी दल भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, हरियाणाका मुख्यमन्त्री मनोहर लाललगायतले अभिनन्दन र भारतीय वायुसेनाको प्रशंसा गरेका छन् ।
विमान चालक अभिनन्दनले पाकिस्तानमा आफूलाई राम्रो व्यवहार गरेको प्रतिक्रिया दिनुभएको छ ।
अभिनन्दनले एमआइजी–२१ विसनलाई भारतीय सीमाको सुरक्षार्थ उडान गरेका समय पाकिस्तानी सीमानामा पुगेको भन्दै पाकिस्तानी एफ–१६ले पिछा गरेको थियो ।
तर भारतीय अधिकारीले आफ्नो विमान भारतीय आकाशमा नै रहेका वेला पाकिस्तानी एफ–१६ ले पिछा गरेपछि भाग्ने क्रममा पाकिस्तानी सीमानामा पुगेको त्यहीँ युद्धक विमान एमआइजी–२१ लाई खसालिएको जनाएका छन् ।
उनी पाकिस्तानमा प्यारासुटबाट आकस्मिक अवतरण गर्नुभन्दा पहिले पाकिस्तानी एफ–१६ लाई आक्रमण गरेका भारतीय अधिकारीले बताएका छन् । पाकिस्तानी सेनाले अभिनन्दनलाई आवश्यक कानूनी प्रक्रिया पुरयाएर फिर्ता गरेको छ । फिर्ता गर्नु पहिले अभिनन्दनलाई फिर्ता प्रक्रियाका लागि एक सम्झौता पत्रमा हस्ताक्षर गराएको बताइएको छ । पाकिस्तानी विदेश मन्त्रालयका एक अधिकृत र भारतीय प्रतिरक्षा अटाची ग्रुपका क्याप्टेन जोय थोमस कुरेनका साथमा अभिनन्दन स्वदेश आएका थिए । यो अभिनन्दन, भारतीय सेना, भारत र समग्र विश्वलाई खुशी तुल्याएको छ भने विश्वले अवको बाटो भारत–पाकिस्तानबीचको शान्तिको प्रयासको हुने आशा गरेको छ ।
पछिल्लो विवाद
गत फागुन २ मा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी भारत प्रशासित जम्मु–काश्मीरमा गरिएको आत्मघाती आक्रमणसँगै पछिल्लो तनाव चर्किएको हो । हुनत स्वतन्त्रतापछि कहिल्यै पनि भारत–पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको पाइँदैन । कहिले सम्बन्धमा अलि बढी तनाव देखिन्छ त कहिले तनावको स्थितिमा सामान्य सुधार । विगत तीन बर्ष यता भारत र पाकिस्तानबीच सम्बन्ध चिसिँदै गएको थियो ।
इमरान खान नेतृत्वमा नयाँ सरकार गठन भएपछि दुई देशबीचको सम्बन्धमा सुधार हुनसक्ने अनुमान लगाइएको थियो । तर त्यसो हुन सकेको छैन ।
गत मङ्गलबार बिहान भारतीय समय अनुसार ३.५० मा भारतीय वायुसेनाका १२ विमानले १२० किलोमिटरभित्र पाकिस्तानी आकासबाटै पाकिस्तानमा वम खसालेका भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यमहरूले बताएका थिए ।
भारतले वम पाकिस्तानी भूमिमा आश्रयस्थल बनाएको आतङ्कवादी समूह जैस–ए–मोहम्मदको शिविरमा खसालेको र आक्रमणको निशाना सही रहेको भन्दै सेनाको प्रशंसा गरेको छ । भारतीय अधिकारीले आतङ्कवादीको शिविरमा हमलामा कैयौँको हताहतसमेत भएको दाबी गरेको थियो ।
भारतका विदेशसचिव विजय गोखलेले मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकू समूह जैश–ए–मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको बताएका थिए ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले मङ्गलबार भनेका थिए, “भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे । त्यसबाट कुनै हानी या कोही हताहत भएको छैन ।”
भारतले जैस–ए–मोहम्मद पाकिस्तानी संरक्षणमा बसेको दाबी गरेको छ भने पाकिस्तानले भने यस समूह र समूहका सदस्यलाई पाकिस्तानमा कुनै संरक्षण नदिएको दावी छ ।
तर यसको पाकिस्तानले खण्डन गरेको छ । भारतीय सेनाको युद्धक विमान पाकिस्तानी सीमानामा पुगेपछि पाकिस्तानी वायुसेनाले प्रतिकार गरेको र हतारमा फर्किने क्रममा पाकिस्तानी क्षेत्रमा रहेको जङ्लमा वम खासालेको र त्यहाँ कुनै समूहको शिविर नरहेको र कसैको पनि मृत्यु नभएको वा कोही घाइते नभएको दावी पनि पाकिस्तानको छ ।
भारत र पाकिस्तानबीच स्वतन्त्रता पश्चात सीमा विवादलाई लिएर पटक पटक तनाव भएको छ भने सन् १९४७ र १९६५ दुई ठूला युद्ध भइसकेका छन् ।
के हो भारत पाकिस्तान विवाद ?
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन । सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ काश्मीर रह्यो ।
भारतको स्वतन्त्रता पहिले स्वतन्त्र थियो । त्यहाँ राजा हरि सिंहले शासन गरेका थिए । उनी हिन्दू राजा थिए भने बहुसङ्ख्यक जनता मुश्लिम थिए । राजा हरि सिंहले काश्मीरलाई स्वतन्त्र देशको रूपमा राख्न चाहन्थे । सन् १९४७ मा काश्मीरको राजधानी श्रीनगरमा मुश्लिम समुदायले आन्दोलन थाल्यो । त्यो आन्दोलन चर्किंदै गएपछि राजा भागेर भारतको तत्कालिन राजधानी कलकत्ता पुगे । त्यहाँ उनले अक्टोबर २६ मा काश्मीरलाई भारतमा गाभ्ने प्रस्तावमा हस्ताक्षर गरे । काश्मीरी जनता भने यसको विरोधमा थिए । हरि सिंहले हस्ताक्षर गरेपछि भारतले श्रीनगरमा सैनिक पठायो । भारत र काश्मीरबीच युद्धभएपछि दुई भागमा विभाजित भयो । एउटा भारतको पक्षमा र अर्को पाकिस्तानको पक्षमा । जम्मु, उपत्यका, लदाख, श्रीनगर र कार्गिललगायतका क्षेत्र भारतमा परे भने गिलगिट, अजात, बाल्टिस्तान, सियाचन लेक पाकिस्तानमा परे । दुई काश्मीरबीचको सीमा विवाद अहिलेको भारत पाकिस्तानको युद्धको कारण बन्दै आएको छ ।
यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को राजनीतिक तनाव मात्रै । अक्टोबर १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी काश्मीरलाई लिएर युद्धमा होमिएका थिए दोस्रो पटक १९६५ को अगस्टमा काश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध भयो ।
डिसेम्बर १९७१ भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बङ्गलादेश) मा इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन भयो यद्यपि यो बङ्गलादेशको स्थापनासँगै युद्धको अन्त्य भएको थियो । सन् १९८९ मा कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी भयो ।
फेब्रुअरी १९९९ मा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर जानुभयो । तर उक्त प्रयासले काम गर्न नपाउँदै मे १९९९ पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा भयो । सन् २००१ मेमा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफले भेटवार्ता गरे पनि शान्तिको प्रयासले सफलता भने पाउन सकेन । त्यसपछि पनि छिटफुट आक्रमण र प्रतिकारका घटना भएपनि पाकिस्तानको प्रत्यक्ष सम्लग्नता भने देखिएको छैन । तर सीमानामा रहेका अतिवादी मुसलमान समूहहरूका कारण दुई देशबीच पटक पटक विवाद हुँदै आएका छन् ।
सार्कको स्थापना, उद्देश्य र वर्तमान चुनौति
सन् १९८५ डिसेम्बर ८ मा सार्कको विधिवत स्थापना हुँदा सार्कका सात सदस्य राष्ट्र नेपाल, भारत, भूटान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र पाकिस्तानको सहमतिमा सार्कको बडापत्र र झण्डा तयार भएको थियो । अफगानिस्तान भने सन् २००७, अप्रिल ९मा भएको १४ औँ शिखर सम्मेलनबाट सार्क सदस्य बनेको थियो । सार्कको घोषणा पत्रमा सदस्य राष्ट्रहरूबीच आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, शक्तिको प्रयोग नगर्ने तथा आपसी विवादहरू शान्तिपूर्ण ढङ्गबाट सुल्झाउनु पर्ने मान्यता रहेको छ तर पटकपटकका भारत–पाकिस्तान युद्धले यो मान्यतालाई पालना गरेको देखिँदैन ।
सार्कको गठन खासगरी दक्षिण एसियाका जनताहरूको हितलाई अभिवृद्धि गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने, दक्षिण एशियाली मुलुकबीचको सामुहिक आत्म निर्भरतालाई अभिवृद्धि र समृद्ध पार्ने, आर्थिक, सामाजिक, सास्कृतिक, प्राबिधिक तथा वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता र पारस्परिक सहयोगको अभिवृद्धि गर्ने उद्देश्यका साथ भएको हो ।
तर भारत पाकिस्तानबीचको पटकपटकको द्वन्द्वले सार्क सम्मेलनमै अनिश्चितता निम्त्याएको छ । यसले सार्कको भविष्यमाथि प्रभाव पार्ने गरेको छ । १८ औँ सार्क शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा नेपालमा भएको थियो भने १९औँ सार्क शिखर सम्मेलन पाकिस्तानमा गर्ने भन्ने निर्णय १८ औँ सम्मेलनले गरेको थियो ।
दुई पक्षीय विवादास्पद विषयमाथि छलफल नहुनु, सर्वसम्मतिका आधारमा निर्णय हुने प्रावधानका कारण कुनै राष्ट्र झिनो मसिनो कुरामा अल्झिएमा महत्वपूर्ण बिषय पछाडि पर्न जानु सार्कका चुनौति बनेका छन् ।
पचास प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामूनि हुनु, भारत र पाकिस्तान दुई ठूला शक्ति राष्ट्रले सार्कलाई ओझेलमा पार्नु, सदस्य राष्ट्रहरूप्रति सहयात्रा नहुनु, सदस्य राष्ट्र आफ्नै आन्तरिक समस्याबाट ग्रस्त हुनुले सार्कको उद्देश्यमा आघात पुगेको छ । स्वतन्त्र व्यापारको मान्यतालाई प्रर्वद्र्धन गर्ने कुरामा उदाशिनता, घोषणा पत्रका प्रतिवद्धता कागजी औपचारिकतामा सीमित हुनु र परम्परा धान्न शिखर सम्मेलनको आयोजना गरिनु र विवादका कारण सम्मेलन नै नहुनु सार्कका वर्तमान चुनौति हुन् ।
पाकिस्तानले गरेको शान्तिको सङ्केतले भारत–पाकिस्तानबीचको द्वन्द्वलाई घटाउने विश्वास पलाएको छ । भारतले लिने परिपक्व निर्णयले सार्कको भविष्यमाथि लाएको कालो वादललाई सफा पार्ने र सार्कको उद्देश्यमा सार्क राष्ट्र अडिग बन्नेमा आशावादी तुल्याउने आधार खडा होस् ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)