मदन पुरस्कार विजेता राधा पौडेलसंग बिताएको त्यो अविष्मरणीय दिन

अमेरिकाको विभिन्न प्रदेशका यूनिभर्सिटीहरुमा छ हप्ते प्राध्यापन सकाएर १२ जनवरीका दिन काठमान्डौं फर्किएकी मद्न पुरस्कार विजेता लेखिका एवं सामाजिक अभियन्ता राधा पौडेलको नयां पुस्तक ‘अ पवित्र रगत’ विमोचन ज्ञद्ध जनवरीमा हुने तय भएकाले सो समारोहमा सम्मिलित हुनका लागी उनले अमेरिकामा हुंदै मलाई निम्तो पठाएकी थिइन् । कारण सो अवधिमा म नेपाल बिदामै रहने कुरो उनलाई अवगत थियो । हरेक कुरा पूर्व निर्धारित समयमा नै गर्न रुचाउने उनको स्वभावसंग म राम्रैसंग परिचित भैसकेकी छु । त्यसैले हामी भेट्ने समय पनि पूर्वनियोजित नै थियो। उनको बर्ष भरीको क्यालेन्डर बर्षको शुरुमै तय भैसकेको हुन्छ । नेपालमा बस्ने तर ठ्याक्कै अंग्रेजी समयमा चल्ने राधाको बानीको म प्रशंसक छु तर पनि उनीसंगै समयको ठिक रफ्तार पकड्न भने म अल्लि असमर्थ नै छु भन्न मलाई अप्ठेरो लाग्दैन । जे होस् उनी नेपाल आएको भोलिपल्ट बिहानै हाम्रो कुराकानी भयो । तर अफसोच प्रेसको प्राविधिक कारणले गर्दा उनको पुस्तक बिमोचन फेब्रुअरी १४ का दिन सारिएको जानकारी दिंदै दिदी बहिनी कतै भेटेर संगै लन्च गरौं भन्ने प्रस्ताव राखिन् । कारण मसंग भेटे पछि आफ्नो घर चितवनमा अलि अस्वस्थ्य हुनुभएको बुवालाई भेट्न उनी हतारिरहेकी रहिछन् । त्यसैले मसंग भेट्घाट गरेपछि चितवन जाने उनको मनसाय रहेछ ।

हुंदा खादाको पहिला सरकारी अनि पछि एनजिओको आकर्षक जागिर छोडेर विशेष कर्णाली भेग र सुदूर पूर्वका पिछडिएका महिलाहरुको जीवनोत्थानका लागि आफ्नो जीवन उत्सर्ग गरिरहेकी सामाजिक अभियन्ता राधाको काठमान्डौंमा स्थायी बसोबासका लागि कुनै खास बन्दोबस्त छैन् भन्ने मलाई थाहा थियो । अघिल्लो बर्ष आउंदा उनले अस्थायी बसोबास पेप्सीकोलामा रहेको बताएकी थिइन् । यसपाला उनको बसाई अस्ट्रेलियामा रहेकी एक साथीको अपार्टमेन्ट, भक्तपुरको अल्लि कुनातिर भएकोले मिलेसम्म उनलाई कतै पायक पर्ने स्थानमा भेट्ने तय भयो । साथमा अमेरिकाबाट ल्याएका सामानहरु पनि भएकोले हामी दुई दम्पती मोटर लगेर जाने अनि लन्च पछि कलंकीमा उनलाई छोड्ने सल्लाह भयो । तर यही बेला मेरो श्रीमान लालजीलाई घरायसी कामको लागी घरमै बस्न पर्ने भएकोले म आफ्नो चिनेको श्याम भाईको ट्याक्सीमा भक्तपुरतिर लागें । काठमाडौंको ट्राफिकले गर्दा समयमा पुग्न के सकिन्थ्यो र ? उता अंग्रेजी टाइममा झिटी गुन्टा कसेर राधा मेरो पर्खाइमा तम्तयार थिइन् तर म चाहिं नेपाली समयमा केही ढिलो गरि पुगें श्याम भाईको सहयोगमा । उनको दुईटा सुट्केस ट्याक्सीमा राखेर हामीले भाईलाई कुनै राम्रो भेजिटेरियन रेस्टुरांमा लैजान अनुरोध गरयौं । किनकि राधा भेजिटेरियन हुन् । भाईले हामीलाई कमलादीस्थित गणगौर रेस्टुरेन्टमा एकदम राम्रो खाना पाइने कुरा बताउंदै पुरयाए । नभन्दै रेस्टुरां एकदम सफा, सुन्दर र खाना पनि स्वादिष्ट रहेछ ।

स्वादिष्ट भोजनपछि मैले बेलायत लगेको राधाको मदन पुरस्कार जित्ने पुस्तक ‘खलंगामा हमला’ र ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ भन्ने उनको हयान्डबुक साथीहरुलाई बेचेर उठेको रकम रु. २५ हजारको चेक राधा पौडेल फाउन्डेशनको नाममा हस्तान्तरण गरें । सो पुस्तक बिक्रीको रकम राधाले स्वयं लिन 
पर्ने हो तर एज यूजल उनले आफूसंग जे जति छ सो पनि राधा फाउन्डेशन मार्फत नै सेवामा लगाउने भएकाले फाउन्डेशनकै नाममा चेक लिन स्वीकार गरिन् ।

खानाको दौरानमा उनले ६ हप्ते आफ्नो अमेरिका बसाईको किस्सा पनि सुनाइन् भने अधिकांश कुरा महिला हित, महिनावारी (छाउपडी) प्रथा उन्मुलन, उनको अगुवाईमा चितवनमा करिब २ महिना अघि उत्पादन शुरु गरिएको मितेरी जैविक प्याड उद्योग आदिबारे कुराकानी भयो । १० बर्ष अघि उनले देखेको यो सपना अहिले पुरा भएकोमा उनको मुहारमा देखिने असिम सन्तुष्टी र आनन्दानुभुतिको भाव म सजिलै पढ्न सक्थें । हिन्दी चलचित्र प्याडम्यानको नायक अक्षय कुमार जस्तै हाम्रो वास्तविक जीवनकै नायिका प्याड वुमन हुन् सामाजिक अभियन्ता राधा पौडेल । सोहि कुरामा केहि बेर हामी हांस्यौ पनि । कोयम्बटूर, तामिलनाडुका अरुणाचलम मुरुगाननथमको वास्तविक जीवनीमा आधारित चलचित्र प्याड म्यानमा अक्षय कुमारले गज्जबको जीवन्त अभिनय गरेका छन् । सोबाट पनि राधालाई ठूलो प्रेरणा मिलेको अनि प्याड निर्माणका क्रममा उनले अरुणाचलमलाई पनि भेटेको कुरा बताइन् । यसरी हाम्रा रमाइला गफ सकिने टुंगो थिएन । यता अविरल बग्ने समयले भने हामीलाई जिस्काइरहेको थियो । त्यसकारण हामी कंलकीतिर अगाडि बढ्यौं फेरि श्याम भाईको ट्याक्सीमा ।

राधाको कुरा अति चाख लाग्दो लाग्छ मलाई, समाजप्रति उनले देखाउने चासो, जिम्मेवारीवोध, चिन्तन, हरदम केहि गरौं समय त्यसै खेर नफालौं भन्ने उनको ब्यग्रता । ओहो बयान गर्नलाई मसंग शब्द छैनन् । उनको सो चिन्तनको केहि प्रतिशत पनि हाम्रा नेताहरु र सम्बन्धित सरोकारवाला सरकारी कर्मचारीहरुमा भैदिएको भए देशको मुहार फेरिन कति पो बेर लाग्दो होला र ? जस्तो लाग्छ, तर अफसोच ।

ट्याक्सीमा बात मार्दै हामी कलंकी पुग्नु अघि पहिला अमेरिकाबाट उनको साथी शान्ताको आमालाई भेट्न रामकोट, सीतापाइला पांच दश मिनेटको लागी भए पनि जानै पर्ने र सानो पार्सल पनि दिन पर्ने भएकाले उनले मलाई घर फर्किन् अनुरोध गरिन् । तर, त्यो एक दिन मैले राधाको नाममा समर्पण गरिसकेकीले उनलाई नारायणघाटको बस नचढाएसम्म नछुट्टिने कुरा बताएं । कारण उनी पोहोर साल जुम्ला जांदा बाटोमा घोडाबाट लडेर नराम्रो संग घाइते भएकीले ढाड दुख्ने समस्या रहेछ । सामान उठाउन सहयोग चाहिन्छ । त्यसैले ट्याक्सी सीता पाइलातिर मोड्यौं । उनको साथीकी ८० बर्षीया आमा पखाला चलेर कमजोर हुनुभएको अवस्थामा छोरीको संगीलाई देख्दा आमाको मुहार त्यसै उज्यालियो । बुहारीले खुब सेवा गर्दिरहिछन् तै पनि छोरी जस्तै छोरीको साथी अमेरिकाबाट पार्सल लिएर आउंदा आमा हर्ष विभोर हुनु स्वभाविकै थियो। हाम्रो देशको वर्तमान बिडम्बना छोरा छोरी सबै बिदेशमा, बृद्ध माता पिता मात्रै स्वदेशमा । आफ्नो पनि हालत उस्तै हो। के गर्नु? विवशता यस्तै छ सबैको । केहि बेरको बसाईपछि आमाले बस्न आग्रह गर्दागर्दै चितवनमा बुवा पनि अस्वस्थ्य हुनुभएकोले जति सक्दो आजै घर पुग्न पर्ने बाध्यता देखाएर राधाले बिदा लिइन् र हामी कंलंकीतिर लाग्यौं ।

कलंकी पुगेर नारायणघाट जाने बसमा सिट सोध्दै हिंडेको के पाइन्थ्यो? सबै प्याक । राधाका अनुसार अफ सिजन भएकाले जत्ति नि सिट पाइन्छ भनेर अग्रिम टिकट नलिएकी रे । फेरि मसंग भेट्ने योजना पनि टिकट नकाट्नुको अर्को कारण रहेछ । त्यस कारण थाहा पाउंदा मलाई पछि ग्लानीबोध भयो। निकै बेरको असफल प्रयास पछि श्याम भाईले बल्ल भन्यो, माघे संक्रान्तिमा सबै घर जान लागेकाले होला यस्तो भएको, बरु बस स्टपमा जाउं उता टिकट पाइएला दिदी । लाटा अघि नै भन्न पर्दैन? लौ हिंड भनेर हामी फेरी गंगबु बस पार्कतिर लाग्यौं । काठ्मान्डौ बसेको यतिका वर्षमा कहिल्यै त्यति लामो समय ट्याक्सीमा न राधा हिंडेकी न सुधा । दिदी बहिनी लामो समय बिताउन पाए हुन्थ्यो भन्ने चाहना यही निहुंमा पुगे जस्तो पनि लाग्यो ।

बसपार्क गंगबुको जात्रा !
गंगबु बसपार्क पुगेर पो भो त जात्रा । हाम्रो पुरानो घर स्याङ्गजा, पोखरा भएकोले हामीलाई नियमित यात्रा गर्न पर्ने भनेको पोखराको हो, जो सधै हामी टुरिस्ट बसद्वारा नै गर्दथ्यौं । गंगबु बसपार्क कहिल्यै यसरी टिकटको खोजीमा आएकै थिइन् । माछा बजार जस्तो भिड अनि सिनेमा हलमा उहिले ब्ल्याकमा टिकट बेच्ने केटाहरुको मारामार तंछाड मछाड जस्तो जात्रा । एक जनाले यति त अर्काले उति भनेर छोपाछोपको हालत । राधा र म दंग परयौं देशको हालत देखेर । सर्वसाधारणको जनजीवन यस्तै जटिल हुन्छ कि के होला? सोच्न बाध्य भयौं। कुनै कुरामा एक रुपता छैन्, निर्धारित स्थानमा जान टिकटको निर्धारित दरभाउ एकै हुन पर्ने हैन र ? तर अहं रहेनछ । लाटा सिधालाई त मोलभावले खर्लप्पै निल्ने अवस्था रहेछ । माघे संक्रान्ति भएरै हो कि? मारामार भीड । सोचें, माघे संक्रान्तिमा त यस्तो छ भने दशैं तिहारमा कस्तो हालत होला ?

त्यसमा बिदेशबाट ल्याएको राधाको दुईटा सुट्केसको करामत हो कि कुन्नी? एउटा नारायणगढ जाने टिकटको लागी राम्रै मोलामोल भो। राधाका अनुसार, श्यामले घिसार्दै हिंडेको दुईटा सुट्केस र विदेशबाट आएको भनेर चिनिने मेरो सकल सुरतले गर्दा टिकटको यस्तो चर्को मोल गरेको रे । रु तीन सय पचास भाडा लाग्ने नारायणगढको एउटा टिकटको मूल्य रु आठ सय देखि हजार सम्म भने । हामी दुबै देशको अवस्था र युवा जनशक्तिको एउटा जाबो टिकटको लागी गरिएको दलाली देखेर अक्क न बक्क परिरहयौं । मलाई अत्यन्त दुःख अनि दया लाग्यो राधाको अवस्था माथि ।

हाम्रो देशको साहित्यमा सबै भन्दा प्रतिष्ठित मदन पुरस्कार विजेता, हाइली क्वालिफाइड, जसको समाजसेवा र उनले गरेका कार्यहरुबारे बिदेशीहरुले कैयौं डकुमेन्ट्री बनाई सम्मान गरिएको ब्यक्तित्व, जसको गुगलमा अनलाइन प्रोफाइल हेरेको भरमा विदेशका कत्रा कत्रा युनिभर्सिटीले प्राध्यापनका लागि संसारभर निम्त्याउंछन् । आफ्नै देशमा एउटा जाबो टिकटका लागी यत्रो 
खिचातानी ? ओ माइ गड तर गर्ने के? यति गर्दा गर्दै सांझको ४ बजिसकेको थियो। म कराएं पनि ती मोलतोल गरेर तानातन गर्ने केटाहरुसंग । हाम्रो देश त इन्डिया जस्तो पो भएछ कि के हो यस्तो मोलतोल भनेर । अन्ततः काकडभिट्टा जाने रात्री बसमा नारायणघाटको टिकटको डबल मुल्य तिरेर एउटा सिट मिलाइयो । त्यो पनि अन्तिम सिट । तर गत वर्ष बर्थिङ सेन्टर उद्घाटनका लागी बेलायती साथीहरु लगेर जुम्ला जांदा घोडाबाट लडेर ढांड, चिउंडोमा चोट लागेर नराम्रोसंग घाइते भएकी राधा चार पांच महिना बेड डाउन भएर हल न चल भएकी थिइन् । हाल उनलाई ढांड दुख्ने, सपोर्टका लागि कुसन बोकेर हिंड्न पर्ने, सामान केहि उचाल्न नहुने, लामो समय एकै स्थानमा बस्न नसक्ने समस्या छ । पोहोर साल को समरमा व्हील चेयरमै युरोपका चार पांच देशका युनिभर्सिटीहरुमा प्राध्यापन गराएर फर्केकी उनले यो पटक कुसन बोकेरै अमेरिकाको लामो यात्रा पार गरेकी रहिछन् । जे होस्, अन्तिम सिट नै भए पनि लिनु बाहेक अर्को विकल्प थिएन् । कोही दयालुसंग सिट साटेर मिलाउंला भनेर सो टिकट लिई बस भित्र पुग्यौं। नभन्दै तीन नम्बर सिटको एउटा भर्खरको बाबुलाई राधाको समस्या बताएर अनुरोध गरेको खुशी साथ माने अनि उनको फोल्डिङ्ग सिट्मा राधालाई चढाएर सामान डिक्कीमा राखी श्याम भाई र म उनलाई बाइ बाइ गरेर चार बजे घरतिर लाग्यौं।

चार बजे हिंड्ने भनेर टिकट काटेको बस साढे पांच बजे मात्रै हिंडेर रातको एघार बजे घर (चितवन) पुगिछन् राधा । यस्तो छ हाम्रो देशको अवस्था हजुर । जय होस सबैको ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री