लन्डन । घरमा आमा बाबु नेपालीमै कुराकानी गर्थे । तर, बेलायतमै जन्मे हुर्केको छोरा अंग्रेजीमात्र बोल्ने । बाबु आमाले नेपालीमा केही सोधे थोरै अंश बुझेर जवाफ फर्काउने तर अंग्रेजीमा । यसको मतलव नेपाली अलि अलि बुझेपनि लेखाइ पटक्कै थिएन ।
सटनस्थित रवीन हुड प्राइमरी स्कुलमा इयर वानमा अध्ययनरत ६ वर्षीय साकार गुरुङ अचेल क, ख देखि ज्ञ सम्म राम्ररी लेख्न र पढ्न सक्छन् । सेप्टेम्बरयता आफ्नो नाम लेख्ने, पढ्ने र अरुको पनि लेख्न सक्ने अवस्थामा पुगेका छन् साकार । ‘अचेल उसलाई नेपाली बोल्न, लेख्न रुची बढेको छ’, साकारका बाबुले एक सांझ भने, ‘बेलायतमै जन्मिएपछि अंग्रेजी त सिकाउनै परेन । त्यसकारण हाम्रो जोड नेपाली सिकाउनतिर छ । नेपाली भाषा नै नरहे हाम्रो पहिचान पनि गुम्ने चिन्ता यहां बढेको छ ।’
रिजरोड सटनमा अवस्थित ‘प्रारम्भ पाठशाला’ साकार जस्ता बेलायतमै जन्मिएर हुर्कंदै गरेका बालबालिकालाई नेपाली भाषा, संस्कृति सिकाउन अग्रसर छ यतिखेर ।
‘अर्ली इयर्स एजुकेशन सोसाइटी यूके’ (आइज यूके) अन्तर्गतको प्रारम्भ पाठशाला शुरुमा दश जनाजति बालबालिका राखेर दुई वर्ष अघि शुरु भएको थियो । अहिले उक्त पाठशालामा ४ देखि १२ वर्षका २८ नेपाली बालबालिका छन् । धेरै विद्यार्थीको चाहना भएपनि जनशक्ति अभावले लिन नसकिएको पाठशालाको गुनासो छ । प्रत्येक आइतबार बिहान ११ देखि साढे १२ बजेसम्म नेपाली विषयको पढाइ हुन्छ । त्यहां सिकाउने विधि अचम्मको छ । बालबालिकाले क, ख, ग, घ घोकेर होइन् । बरु नाचेर, हाउभाउबाट नेपाली भाषाको मात्रा सिक्छन् । ‘बन्सी’ नामक सफ्टवेयरबाट अडियो, भिडियो सिकाइन्छ । विद्यार्थीले नै पाठ्यक्रम तयार गर्छन् ।
‘सुनाइ, बोलाइ, पढाइ र लेखाइ चारवटैमा परीक्षा लिने गरिन्छ’, पाठशालाका प्रमुख शिक्षक एवं आइज यूके अध्यक्ष पूर्णकुमार श्रेष्ठ भन्छन्, ‘ति बालबालिका नेपालीमा लेख्छन्, कविता पढ्न लेख्न सक्छन् । भाषा सिक्न बाहेक राष्ट्रिय गान, देउसी भैलो, दशैं तिहार जस्ता चाडपर्व, सरस्वती पूजा सामूहिक रुपमा मनाउंछौं हामी । नेपालको विकास समस्या, विदेशबाट मातृभूमिलाई कसरी सहयोग गर्न सकिन्छ ? हाम्रो गौरवशाली इतिहास के छ ? स्थानीय समुदायमा कसरी समाहित हुन सक्छौं ? जस्ता कुरा पनि सिकाइन्छ ।’
प्रारम्भ पाठशालामा ६ सहायक शिक्षक समेत छन् । ५ कक्षासम्म पढाएर विद्यार्थीलाई पूर्ण बनाउने सोच रहेको श्रेष्ठ बताउंछन् । अहिले कक्षा एक देखि तीनसम्म पढाइन्छ र आठ देखि १६ हप्ताको कोर्स छ ।
विगत तीन दशकदेखि शिक्षण पेशामा आवद्ध श्रेष्ठ नेपाल छंदा नेपाल इंग्लिस ल्याङवेज टिचर्स एसोसिएसन (नेल्टा) का सचिव थिए । प्राइमरी शिक्षक, हेड टिचर, शिक्षकलाई तालिम दिलाउंदै विगत ११ वर्ष देखि बेलायतमा रहेर पनि उनी शिक्षणमै रमाएका छन् । भोलुन्टरी सर्भिस् ओभरसिस् (भिएसओ) इन्टरनेशनलको सल्लाहकार हैसियतमा बेलायत आएका हुन् उनी ।
आइज यूकेले बालबालिकालाई नेपाली भाषा, संस्कृति र स्वास्थ्यमा पनि जोड दिएको छ । प्रत्येक विकेन्ड विद्यार्थी र अभिभावक गरि करिब २० जना पार्क रनमा सहभागी भइरहेका छन् ।
लन्डन बरो अफ सटन काउन्सिलले पनि नेपाली समुदायलाई विशेष महत्वका साथ हेरेको छ । काउन्सिलले पहिलो पटक आगामी १४ अप्रिलमा नेपाली नयां वर्ष कार्यक्रम मनाउने तयारी गरेको छ । उक्त अवसरमा नेपाली समुदायका ९० जनालाई निमन्त्रणा दिइएको स्थानीय समाजका अभियन्ता सूर्य गुरुङले जनाए ।
कन्जरभेटिभका तर्फबाट काउन्सिलर परम नन्धाले गत २८ जनवरीमा काउन्सिल बैठकसमक्ष प्रमुख धर्महरुका मुख्य चाडपर्व मनाइनु पर्ने प्रस्ताव राखेपछि काउन्सिलले यसलाई पारित गरेको थियो ।
‘चाडपर्वले नै समुदायलाई एकै ठाउंमा ल्याउने गर्छ’, काउन्सिल लिडर काउन्सिलर रुथ डोम्बेले भनिन्, ‘हाम्रो काउन्सिल वृहत समुदायमा त्यस्ता इभेन्ट प्रवर्धन गर्न जहिले पनि खुल्ला छ ।’
मेयर, ३० भन्दा बढि काउन्सिलर लगायतको सहभागिता रहने उक्त कार्यक्रममा प्रारम्भ पाठशाला अध्ययनरत नेपाली बालबालिकाले मौलिक नाच प्रस्तुत गर्नेछन् । कान्तिपुर