लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेमार्फत प्रदान गरिने ‘अनेसास सुप्रमा पुरस्कार-२०१८’ का लागि पुस्तक आव्हान गरिएको छ ।
समाजले बेलायती नेपाली डायस्पोरामा लेखिएर जुन २०१८ देखि मे २०१९ सम्ममा प्रकाशन भएका साहित्यका कुनै पनि विद्याका पुस्तकहरु आव्हान गरेको हो ।
पुरस्कार छनोट समितिका संयोजक एवं अनेसास यूके सल्लाहकार डा. रुपक श्रेष्ठले पुस्तक ७ जुन २०१९ सम्म आइपुग्नुपर्ने समयसीमा तोकिएको र ३ थान पुस्तक पठाउनुपर्ने जनाए । उनले यसमा सहभागी हुन साहित्यानुरागीहरुमा अपिल गरेका छन् ।
बेलायती नेपाली डायस्पोराका आदिकवि इश्वरप्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरको नाममा स्थापित २५० स्टर्लिङ पाउण्ड (४० हजार रुपैयां) राशीको उक्त गरिमामय पुरस्कार यस अघि मुकेश राई, दुर्गाप्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाईं तथा डा. सुमाया राईले पाइसकेका छन् ।