लण्डन– पत्रकारिताप्रति रुचि तथा अध्ययन भएका युवा युवतीहरूलाई बेलायतबाट प्रकाशित एकमात्र अंग्रेजी अनलाइन ‘साउथ एसिया टाइम’ (www.southasiatime.com) ले ‘सिकौं-सिकाऔं साथसाथ अभियान’ मार्फत इन्टर्नसिपको मौका प्रदान गर्ने भएको छ । ‘नयाँ पुस्तासंग भएको ज्ञान र सीपलाई मूर्त रुप दिन र ज्ञानलाई व्यवहारमा उतार्ने सामूहिक थलोको विकास गर्दै लैजाने अभिप्रायले साउथ एसिया टाइम मार्फत यो अभियान संचालन गर्न लागेका हौँ’- सल्लाहकार सम्पादक भगीरथ योगीले भने ।
यस कार्यक्रममा कम्तिमा ए लेभलको अध्ययन समापन गरेका, पत्रकारिता अध्ययन गरेका वा पत्रकारितामा रुचि भएका युवायुवतीले [email protected] मा आफ्नो सीभी पठाएर आवेदन दिन सक्ने छन् । ‘यो अवसर केवल ज्ञानको आदानप्रदान गरी अनुभव हासिल गर्नको लागि सातामा ३-४ घण्टा समय दिन सक्नेहरुका लागि उपयुक्त हुनेछ’- सम्पादक जगन कार्कीले बताए- ‘हाल बेलायतका सबै क्षेत्र र शहरमा छरिएर रहेका इच्छुक युवा पुस्ताकालागि यो अवसर खुल्ला छ ।’
इन्टर्नशीप शुरुमा चार महिना अवधिका लागि हुने र कार्य प्रगतिका आधारमा सो अवधि थप गर्न सकिने बताइएको छ ।
चार महिनाको इन्टर्नशीप सकिएपछि प्रमाणपत्र र कामको अनुभवको पत्र प्रदान गरिनुका साथै अनलाइन पत्रिकाले आवश्यक ‘रेफरेन्स’ पनि प्रदान गर्ने छ । यो योजनाले युवाहरुको क्षमता, आत्मविश्वासमा विकास र समाजसंग घुलमिल हुने, व्यक्तित्व विकास लगायत पत्रकारिता पेशामा प्रवेश गर्न टेवा पुग्ने लक्ष लिएको बताइएको छ ।