बेलायतमा १५१ जना अर्बपति

भारतीय मुलका दाजुभाई श्री र गोपी हिन्दुजा

लन्डन । एक हजार धनी बेलायतीहरुको सूचीमा भारतीय मुलका दाजुभाई श्री र गोपी हिन्दुजा २२ अर्ब पाउण्ड (करिब ३२ खर्ब रुपैंया) को सम्पत्ति सहित पहिलो भएका छन् । उनीहरुको सम्पत्ति नेपालको वार्षिक कुल ग्राहस्थ उत्पादन (जिडिपी) भन्दा बढी छ । गत वर्ष भन्दा उनीहरुको सम्पत्तिमा १ अर्ब ३५ करोड पाउण्ड वृद्धि भएको हो ।

पारिवारिक ब्यवसायको रुपमा भारतको मुम्बईमा सन् १९१४ मा खोलिएको हिन्दुजा ग्रुपले अहिले विश्वभर तेल, ग्यास, बैंकिङ, आइटी र प्रोपर्टीको व्यवसाय गर्दछ ।

सन्डे टाइम्स्को रिच लिस्टमको दोस्रो धनीमा १८ अर्ब ६६ करोड पाउण्ड सम्पत्ति भएका बेलायती नागरिक डेबिड र साइमन रिउबीन छन् । प्रोपर्टी, कार्पेट, मेटलको ब्यवसाय गर्ने यी अर्का दाजुभाई हुन् ।

गतवर्ष पहिलो स्थानमा रहेका केमिकल कम्पनीका मालिक सर जिम रयाटक्लिफ १८ अर्ब २० करोड सम्पत्ति सहित तेस्रो स्थानमा झरेका छन् । सन्डे टाइम्स्का अनुसार उनले गत वर्ष भन्दा २ अर्ब ९० करोड पाउण्ड गुमाएका छन् ।

घर, जग्गा, कम्पनीको शेयर आदिको मुल्यका आधारमा धनीको सूची तय गरिएको हो । धनी एक हजार बेलायतीहरुको कुल सम्पत्ति ७७१ अर्ब ३० करोड पाउण्ड छ, जुन गत वर्ष भन्दा ४७ अर्ब ८० करोड पाउण्ड बढी हो । बेलायतमा गत वर्ष भन्दा ६ जना थपिएर अर्बपतिको संख्या १५१ पुगेको छ जसमा ९ जना साउथ 
अफ्रिकाबाट आएका छन् । बेलायत संसारकै सबैभन्दा धेरै अर्बपति बस्ने देश पनि मानिएको छ ।

१४ अर्ब ३७ करोड पाउण्डको सम्पत्ति भएका लगानी कम्पनी, संगीत तथा मिडियाका मालिक सर लियोनार्ड 
ब्लाभ्टनीक चौंथो र सर जेम्स डाइसन तथा उनको परिवार १२ अर्ब ६० करोड पाउण्ड सम्पत्ति सहित पाचौं धनी बेलायती हुन् ।

अर्का भारतीय मुलका स्टिल ब्यवसायी लक्ष्मी मित्तलको 
१४ अर्ब ६६ करोड पाउण्ड सम्पत्ति छ । संसारमा उत्पादन हुने २५ प्रतिशत कारलाई चाहिने मेटल उनको कम्पनीले आपूर्ति गर्छ ।

ब्रेक्जिट अनिश्चतताले गर्दा धेरै धनी बेलायतीहरुले आफ्नो सम्पत्ति बाहिर देशमा पनि सारिरहेको सन्डे टाइम्सले जनाएको छ । बेलायतको प्रतिपक्षी लेबर पार्टीको बढ्दो लोकप्रियताले गर्दा धनीहरु सशंकित भएको उक्त पत्रिकामा उल्लेख छ ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले धनीलाई कर बढाई निम्न आय भएकालाई सरकारले थप सहयोग गर्नुपर्ने बताउंदै आएका छन् ।

केही वर्ष पहिले पुख्र्यौली सम्पत्तिको हकदार भएर धनी हुने परम्परा रहेपनि अहिले भने प्रविधिको आविष्कार तथा ब्यवसायको अपार सफलताले अर्बपति हुने क्रम बढेको लन्डनस्थित अर्थ ब्यवस्थापन जानकार विकलचन्द्र आचार्यले बताए । सन् १९८९ मा वर्तमान बेलायती महारानी धनीको सूचीमा सबैभन्दा पहिलो नम्बरमा थिइन् ।

बढ्दो ग्लोवलाइजेसनले गर्दा बेलायतमा अर्बपतिहरु बढ्ने क्रम जारी भएपनि समाजमा समानताका लागि सरकारले थप कदम चाल्नुपर्ने दवाव पनि उत्तिकै बढ्दै गएको छ ।

बिज्ञ समूह रिजोलुसन फाउन्डेसनले दुई वर्ष अघि दिएको तथ्यांकमा बेलायतका चार लाख ८० हजार मानिससंग देशको कुल सम्पत्तिको १४ प्रतिशत स्वामित्व छ । 
अर्कोतर्फ भने बेलायतका १५ प्रतिशत जनता अर्थात ७३ लाख मानिससंग कुनैपनि सम्पत्ति नभइ ऋणमा डुबेका तथ्यांकले देखाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री