पूर्वीय दर्शनको महत्व, जीवनको सार्थकता, मानवताको उद्धेश्य, राजनीतिक संदेश लगायत जीबन दर्शनका अनेक ज्ञानको भण्डारको खुलासा साहित्यकार बलदेव मजगैयाँले हालै प्रकाशित उपन्यास ‘समय’ मार्फत गरेका छन् ।
मानिसको चिन्तन, सामाजिक परिवेश, समयक्रममा भएको बिकास तथा बिनास, पुरानो र नयाँ पिढीबीचको सोचाइ तथा कर्म र ज्ञानको मार्गमा अगाडी बढ्न पनि यस उपन्यासले उत्प्रेरित गरेको छ । अहिलेको आधुनिक संसारमा मानिस सुखसयल तथा भोगविलास र चरम भौतिकवादतर्फ लम्किरहेको अबस्था अनि आफ्नो धर्म, संस्कृति, परम्पराको महत्व कम हुदै गइरहेको बेला सत्कर्म, ज्ञान, बिबेक तथा नैतिकताले जीबनमा सन्तुष्टि आउने यस उपन्यासले बताएको छ ।
क्रोध, अहंकार, लोभ, इर्ष्या या अनगिन्ति कामनाहरु मानिसको शक्तिशाली सत्रु भएको र यिनीहरुको नियन्त्रण स्वयम् आफूले नै गर्नुपर्ने जस्ता सटिक हरफहरु उपन्यासमा धेरै छन् । मानिसको सबैभन्दा ठुलो सत्रु भनेको कलङक हो भन्दै नैतिक आचरणको संदेश चाहे त्यो समाजसेवामा, राजनीतिमा अथवा कुनैपनि आफ्नो कर्ममा गर्न अनेकौ उपमाहरू मार्फत सजक गराइएको छ ।
उपन्यासको शुरुवातमा जमिन्दार दौलतबिक्रमले परिबर्तित समयलाई मध्यनजर गर्दै रैतीहरुलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गा दिन्छन् । उनको यस प्रगतिशील कदमको वरिपरिका जमिन्दारहरु तथा आफ्ना दुवै छोराहरु बुद्धि र सागरले असन्तुष्टि प्रकट गर्छन् । बर्षौदेखि रहदै आएको सामन्ती प्रथा र यसभित्र हुर्किएका दोस्रो पुस्ताको मनोविज्ञान पनि राम्ररी केलाइएको छ । युगौंदेखि जमिन्दारको शोषण तथा दमन खपेका रैतीहरु आफू बस्तै आएको घर र करेसाबारी मालिकले दिंदा अपार आनन्द अनुभूत गर्छन् । यसपछिका दिनहरुमा यी रैतीहरुको कर्म, चेतना तथा सामाजिक अवस्थाबारे भने उपन्यास मौन छ ।
जमिन्दार दौलतबिक्रमले आफ्ना दुवै छोराहरुलाई अनुभब र ज्ञानको लागि छ महिना गाउँ देखि टाढा पठाउंछन् । बिना संस्कार तथा अभाबमा हुर्किएका प्राय सामन्तका सन्ततिहरुको आचरण झुल्क्याइएको छ । महाकन्जुस जेठो छोरो बुद्धि र भोगबिलासी कान्छो छोरा सागरले झेल्नु परेको अनेकौं घटनाहरुको बर्णन सहित उनीहरुमा जीबन र जगत बारेको चेत खुलको र दुबैमा सकारात्मक परिबर्तन आएको देखिएको छ । आफ्नो बाबुको चाहना बमोजिम छ महिनापछि गाउँ फर्कन्छन् र बाबु दौलतबिक्रमले आनन्दको अनुभूति व्यक्त गर्छन् ।
पैतृक सम्पत्तिमा रजाइ गरेर जीबनको आदर्श तथा मर्म नबुझ्ने दोस्रो पुस्तालाई घमण्ड त्यागि स्वयम् कर्मप्रति उत्प्रेरणा जगाउन र लोकहितमा समर्पित गर्न यस उपन्यासले गतिलो संदेश दिएको छ । आफुले आफुलाई नै चिन्न सक्नु पर्ने र जीबन दर्शनका अनेकौ आयामहरूमा विचरण गर्न पनि यस उपन्यासले बताएको छ । लाखौँ नेपालीहरु आफ्नो मातृभूमिमा उज्वल भविष्य नदेखी परदेशमा हाम्फालिरहेको अहिलेको अबस्थामा उपन्यासले बताएको जस्तो गरी छ महिनामा नै ज्ञान र चरित्रवान बन्न कति सक्छन् भन्ने कुरापनि पाठकको मनमा उब्जिन सक्छ ।
बिना कुनै योजना अनुभव र ज्ञानको लागि दुई दाजुभाइ छ महिनामा बनारसमा भेट्ने योजना सहित अलग अलग बाटो लाग्छन् । कन्जुसको नमुना सरह रहेको जेठो बुद्धिले साधुहरुको संगत गर्न पुग्छ । यसमा अनेकौं दुख पाउछ । भिक्षाटन, भाडा माझ्ने काम आदि गर्दैमा डाकुहरुद्वारा अपहरित भइ भएको सबै पैसा लुटिन्छ । साधु ज्ञानदासको संगत तथा पछि अमृतसरको स्वर्ण मन्दिरमा शिख सन्तसंग भेट भइ अनेक जीबनदर्शनको ज्ञान आर्जन गर्छ । आफ्नो बाबुको चाहना साकार पार्न गाउँ देखि टाढाको हण्डर र ठक्करले बुद्धिमा धेरै परिवर्तन आउँछ ।
आफ्नो सुनौलो भविष्यलाई मनमा सजाई परदेशको झोला बोक्न बिबश थुप्रै नेपाली युवा युवतीहरुको अनुहार मानसपटलमा त्यसै आइपुग्छ । अवसरको कमी र गरिबीमा पिल्सिदै आफ्नो परिवारजनको उन्नतिको लागि जस्तो सुकै पनि जोखिम मोली परदेश भूमिमा आफ्नो रगत पसिना बगाउने नेपालीमनहरुको तस्विर सामुन्ने आइ उपन्यास पढ्दा उद्देलित बनाउंछ ।
कान्छो छोरा सागरको भेट कोठीमा नाच्ने नर्तकी उर्वशीसंग हुन्छ । पहिलेदेखि नै संगीत र नृत्यमा सौखिन सागर उर्वशीसंग घनिष्टता बढाउदै उसलाई नाच सिकाउंछ । उर्वशी र सागरले नारी उत्पीडन तथा मनोविज्ञान, सामाजिक दृष्टिकोण, जीवनको उद्देश्य लगायत जीबनको बिभिन्न आयामको कुराकानी हुन्छ । सागरले उर्वशीको पुरानो प्रेमीसंग बिबाह गराउन ठुलो भूमिका खेल्छ । उर्वशीको बिबाह पश्चात आपनो योजना अनुरुप दाजु बुद्धिलाई भेट्न बनारस आइपुग्छ । सागरमा आएको परिबर्तन चाहि अलि नाटकीय लाग्छ । भौतिक मोजमस्ती भनेको केहि बेरको लागि र अर्कालाई शोषण गरिएको धन सम्पत्तिले कालान्तरमा एक छिन पनि चैन जीबनमा नआउने कुरालाई सागरले मनन गरेको देखिन्छ ।
पूर्वीय दर्शनको गहिरो ज्ञान भएका लेखक मजगैयाँले समयलाई आत्मसात गर्दै सत्कर्म गर्नसके जीबनमा सार्थकता हुने कुरा बताएका छन् । लेखकको बिशेषता भनेको साधारण भाषामा गहिरो ज्ञानको अभिव्यक्ति गर्न सक्नु विशिष्ट सामर्थ हो ।
आफ्नो सारा उर्जाशील समय राजनीतिमा बिताई मन्त्रि समेत भएका लेखकले अहिलेको राजनीति भनेको छलकपटको खेल भनेका छन् । राष्ट्रको नाममा, जनताको नाममा कसले कसलाई मात दिनसक्छ भन्ने नै राजनीति भएकोमा आक्रोस पोखेका छन् । अध्यात्मिक चेतले व्यक्तिमा उदारता र करुणालाई जन्म दिन्छ भन्दै लेखकले राजनीति गर्ने मानिस आध्यात्मिक प्रवृत्ति भए उत्तम हुने जिकिर गरेका छन् ।
नेपालमा पंचायती व्यबस्थाविरुद्द सानै उमेरदेखि लागेर जीवनको अनेक आरोह अवरोह पार गरेका र अध्ययन-चिन्तनले खारिएका लेखकको यस उपन्यास निकै सफल छ । गत तीन बर्षमा तीनवटा कृति प्रकाशित गरेका लेखकको कलमले निरन्तरता पाइरहने कुरामा म आशाबादी छु । समयबारे धेरै चर्चा परिचर्चा गर्नुको साथै दार्शनिक रुपममा पनि यस उपन्यासले नैतिक धरातलमा उभिन सशक्त आवाज उठाएको छ ।