एनआरएनए युकेको कुल सदस्य संख्या १३ हजार ८९०

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता संख्या १३ हजार ८ सय ९० पुगेको छ । निर्धारित समयसीमा ३१ जुलाई बुधबार साँझ ८ बजेसम्म आइपुगेको पेपर र अनलाइन गरि करिब १४ हजार सदस्य पुगेका हुन् ।

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को इतिहासमै पहिलोपटक यति धेरै मतदाता बनेका हुन् । अध्यक्ष पदका प्रत्यासी बर्तमान उपाध्यक्षहरु शेर सुनार, शुशिला राई, प्रेम गाहामगर, पुनम गुरुङ र ललित न्यौपाने मैदानमा छन् । पाँचै जनासहित अन्य उम्मेदवारले सदस्य संख्या बढाउन तीव्र भूमिका निर्वाह गरेपछि यति धेरै मतदाता बनेका छन् ।

गैर आवासीय नेपाली संघ युके निर्वाचनका लागि प्रमुख आयुक्त मे. (रि) डमर घलेले बुधबार राती सदस्यता संख्या घोषणा गरेका थिए ।

१ अगस्त २०१९ बाट सदस्यता प्रमाणीकरण शुरु हुने र सदस्यता दर्ता प्रक्रियामा रित नपुगेको, शुल्क प्राप्त नभएको तथा प्राविधिक प्रक्रिया नपुगेकाहरुलाई सम्पर्क गरि निकट भविष्यमा प्रथम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ ।

प्रथम मतदाता नामावली वा कुनै सदस्यको सदस्यता उपर संशोधन वा दावी बिरोध भए त्यस उपर छानबिन गरि अन्तिम सदस्यता तथा मतदाता नामावली पुन प्रकाशन गरिनेछ ।

NRNA UK logo

सदस्यता सम्बन्धि थप जानकारी तथा सूचनाको लागि एनआरएन युके अध्यक्ष योगकुमार फगामीलाई ०७७८७१९३९२८ वा [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एनआरएन युकेको आउँदो अधिवेशन १० अगस्त र निर्वाचन १४ सेप्टेम्बेरमा तय भएको छ । अधिवेशन फार्नबोरोस्थित भिलेज होटेलमा हुने भएको हो ।

गैर आवासीय नेपाली संघ युकेको निर्वाचन सम्पन्न गर्न प्रमुख आयुक्त मे. रि. डमर घले, सह-प्रमुख आयुक्त शिवजी श्रेष्ठ, सचिव नरेश खपांगीमगर, कोषाध्यक्ष दूत पुन र आयुक्तहरु कर्ण शाही, चिरन्जिवी ढकाल, राष्ट्र राई, श्री लिम्बु, श्रीमति प्रा. डा. सुमाया राई, राजु कंडेल, विकास रडपाइली, नेम थापा र मे. रि. कृष्णबहादुर गुरुङ रहेको एक निर्वाचन मण्डल गठन गरिएको छ ।

गैर आवासीय नेपाली संघ युकेको इतिहासमै पहिलो पटक एनसीसी युकेको साथमा ४ वटा राज्य समिति स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्यान्ड र इंग्ल्याण्डको निर्वाचन सेप्टेम्बर १४ तारिख एकैसाथ हुने भएको छ ।

आगामी निर्वाचनमा गैर आवासीय नेपाली संघ युकेको मतपत्र तथा नर्दन आयरल्यान्ड, स्कटल्याण्ड, वेल्स, इंग्ल्याण्ड राज्य समन्वय समितिका पदाधिकारीहरुको गरि दुई फरक फरक मतपत्र हुने निर्णय भएको छ ।

हरेक मतदाताले राष्ट्रिय समन्वय परिषद तथा राज्य समन्वय परिषद गरि दुई अलग अलग मतपत्रमा मतदान तथा उम्मेदवार छनोटको अधिकार पाउने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री