लन्डनमा भव्य बन्यो नेपाली मेला

लन्डन । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स मैदान आइतबार ‘मिनी नेपाल’ बन्यो । नेपाल बिर्साउने गरि आयोजित नेपाली मेलामा हजारौं सहभागी भए । भारत, चीन, मरिसस र ईयू गरि १२ जना कुटनीतिज्ञ पनि मेलाको प्रत्यक्ष साक्षी बने ।

बेलायतस्थित २७ विभिन्न सामाजिक, जातिय तथा धार्मिक संघसंस्थाले प्रस्तुत गरेका मौलिक झांकीले लन्डन मिनी नेपालमा परिणत भएको थियो ।

तमुधिं यूकेले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ११ औं मेला गरेको हो ।

‘लन्डन नेपालमय देख्दा सांच्चिकै खुशी लाग्यो’, मेलामा आइपुगेकी बेल्जियमस्थित महिला अभियन्ता एवं व्यवसायी अनुजा प्रधानले प्रतिक्रिया दिइन्, ‘विदेशमा नेपाली कला संस्कृति र पहिचान जोगाउने यो कार्य एकदम सरहानीय छ ।’

नेपाली कला संस्कृति, परम्परा र भेषभूषा झल्काउने नेपाली मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखिएका थिए । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा भयो भने युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गरे ।

मेला हेर्न आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मेला सबै जाती, भाषी, संस्कृति र धर्म मान्ने नेपालीहरुको साझा कार्यक्रम रहेछ भन्दै आयोजकको प्रशंसा गरे । ‘मानिस जहां जाओस्, नागरिकता परिवर्तन हुन सक्छ तर उसको संस्कृति, आदिम भेषभूषा र परम्परागत सोच चिन्तन परिवर्तन हुन सक्दैन्’, मुख्यमन्त्रीले भने ।

नेपाल संघीय शासन प्रणालीको पहिलो चरणमा रहेको बताउंदै उनले बहुसांस्कृतिक, बहुधार्मिक, बहुजाती र बहुलताभित्र कसरी एकता कायम गर्न सकिन्छ भनेर देशमा संघीय शासन प्रणाली अवलम्बन 
गरिएको जनाए । उनले समाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व कायम गर्न संघीय शासन प्रणाली अपनाइएकाले विकासको वाधक अब केही नभएको दावी गरे । नेपालमा समृद्धि र विकासको युग प्रारम्भ भएको बताउंलै उनले अब सबै एकजुट हुन जरुरी रहेकोमा पनि जोड दिए ।

‘अबको २५ वर्षभित्र नेपालमा कोही गरिब हुने 
छैन्’, उनले भने, ‘सबै साक्षर हुनेछन् । उपचारको अभाव हुने छैन् । नेपाललाई मध्यम स्तरको विकसित राष्ट्रको दांजोमा पुरयाउने योजनामा हामी छौं ।’ दुई वर्षभित्र गण्डकी प्रदेशका घर घरमा धारा, गाउंगाउंमा वाइफाइ र डिजिटल प्रदेशका रुपमा स्थापित 
गर्ने पञ्चवर्षीय योजना पनि उनले सुनाए ।

कार्यवहाक राजदूत शरदराज आरणले दूतावासको सहकार्यमा हुंदै आएको मेलाले नेपाली कला संस्कृति र परम्परा विदेशमा पनि जीवन्त राख्न सघाएको धारणा राखे ।

तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेलाले नेपाली कला, संस्कृति, सम्पदा, भेषभूषा संरक्षण र संवर्धन 
गर्दै भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्ने विश्वास व्यक्त गरे । ‘मेलाले सबै नेपालीको पहिचान प्रतिबिम्बित गरेको छ’, उनले भने, ‘भाषा र संस्कृति हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्रिय प्रचार प्रसार एवं पर्यटन प्रवर्धनमा सघाउ पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।

मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, ३ सय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइयो । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड प्रदान गरिएको छ ।

तस्विर- शंकर श्रेष्ठ/मिलन तमु/नरेन्द्र बस्नेत 

प्रतिक्रिया

सम्बन्धित सामाग्री