लन्डनमा हरितालिका तीज

लन्डन । नेपाली नारीहरुको महान पर्व तीज लन्डनमा पनि धुमधामका साथ मनाइएको छ । तमु समाज युके आमा समूहले गत ३१ अगष्ट २०१९ शनिबार लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै भवनमा ‘लेडिज नाइट तथा हरितालिका तीज’ कार्यक्रम गरेको हो ।

तमु समाज युके आमा समूहकी अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा कार्यक्रम भएको थियो । तमु समाज युके सांस्कृतिक सचिव सरु गुरुङ रानाले 
सञ्चालन गरेको कार्यक्रममा आमा समूहकी सचिब बिभादेवी गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिएकी थिइन् ।

आमा समूहकी अध्यक्ष बिन्दु घले, जेष्ठ नागरिक श्रीमति टुल्की गुरुङ र आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गीत बजाइएको थियो ।

कार्यक्रममा तमु समाज युके आमा समूह, तमु प्ये ल्हु संघ युके आमा समूहका दिदी बहिनीहरु, लण्डनका अन्य संघ संस्थाका महिला अतिथिगण, प्रतिनिधि तथा नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो ।

समुदघाटनपछि तमु समाज युके आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत र अध्यक्ष बिन्दु घलेले धन्यवाद मन्तब्य राखेका थिए । त्यसैगरि तमु प्हे ल्हु संघ युके आमा समूहकी अध्यक्ष विष्णु टु क्ल्हेप्री तमुले कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन पाउंदा अत्यन्त खुशी लागेको बताउंदै आयोजक समिति र उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना सहित धन्यबाद व्यक्त गरिन् ।

औपचारिक कार्यक्रमपछि तमु समाज युकेकी सांस्कृतिक सचिव सरु गुरुङ रानाको कोरियोग्राफीमा तमु समाज युके आमा समूहले एक सामूहिक तीज नृत्य र सुश्री सुबिना गुरुङको एकल नृत्य भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा यस वर्ष पुरस्कृत भएका तीन जना उत्कृष्ट नृत्यङ्गनाहरुले सामूहिक नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर र विशाल लामाको डिजेमा अपरान्ह देखि राती अबेर सम्म सबैले तीज गीतमा छमछमी नाचेर भरपुर मनोरन्जन गरे ।

तीज नृत्यमा आठजना उत्कृष्ट नृत्याङ्गनाहरु पुरस्कृत पनि भए । पुरस्कृत हुनेमा ज्योती राई प्रथम, मन कुमारी गुरुङ द्वितिय, निरु कोइराला तृतीय, मिना तामाङ चौथो, हेमा पुन पांचौं, शिक्षा राना छैटौं, राम कुमारी सापकोटा सातौं र निर्मला गुरुङ आठौं स्थानमा विजयी भएका थिए ।

कार्यक्रमको अन्तमा तमु समाज युके आमा समूहकी अध्यक्ष बिन्दु घलेले यस वर्ष प्रथम उत्कृष्ट नृत्याङ्गना ज्योती राईलाई ताज, नटराजको प्रतिमा, प्रमाणपत्र र तमु समाज युके आमा समूहले प्रायोजन गरेको प्रथम पुरस्कार दिइन् । त्यसैगरि अन्य पुरस्कृत नृत्याङ्गनाहरुलाई विभिन्न सदस्य तथा अतिथिले प्रायोजन गरेका पुरस्कारहरु दिइयो ।

कार्यक्रममा लन्डन साउथ हयारोस्थित जय श्री कृष्ण ज्वयलर्सका प्रोपाइटर प्रकाश बिकले प्रायोजन गरेको आधा तोला सुनको बेरुवा औंठी प्रथम पुरस्कार रहेको ‘राफल ड्र’ पनि खेलाइएको थियो । ‘राफल ड्र’ को प्रथम पुरस्कार कुमारी खत्रीले जितिन् । 
’राफल ड्र’ को अन्य पुरस्कारहरु विभिन्न व्यक्तिले स्वस्फुर्त प्रायोजन गरेका थिए ।

कार्यक्रममा तमु समाज युकेका खेलकुद सचिव तथा खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा भोलिन्टियर, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको सहयोगबाट तयार भएको दर ख्वाइएको थियो । आमा समूहका सदस्यले पनि सेलरोटी, मिनरल वाटर, अन्य पेय पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री