लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको हालसम्म ७५ प्रतिशत मतगणना भइसकेको छ । खसेका कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) मध्ये शुक्रबार दिउसो सम्म ७५ प्रतिशत गणना गरिएको हो ।
अल्डरसट बुथ सकिन लागेको र त्यसपछि ह्यारो अनि बेजिङस्टोक थालिने बताइएको छ ।
तर, निर्वाचन समिति निरन्तर ‘अपडेट’ दिन चुकेको छ । विवाद हुन सक्ने डरले हालसम्मको नतिजा गोप्य राखिएको बताइएको छ । अपडेट नहुँदा उम्मेदवार र मतदाताबीच अन्यौल बढेको छ ।
गणनास्थलमा रहेका पत्रकार ध्रुबराज अर्यालले झन्डै ७५ प्रतिशत मतगणना सम्पन्न हुँदा पनि विवादको त्रासले अहिलेसम्म कुनै नतिजा सार्वजनिक नगरिनु दु:खद भएको बताउँदै बीचमा कुनै विवाद नआए शुक्रबार रातीसम्म फाइनल नतिजा आउने सम्भावना रहेको जनाए ।
‘विवादित ठाउँमा छानविन गर्न छानविन समिति बनिसकेको अबस्थामा अन्य मतदान केन्द्रको परिणाम सार्वजनिक नगरेर मतदाता र स्वयम् उमेद्वारहरुलाई समेत गुमराहमा राख्नु निर्वाचन समितिको हदैसम्मको गैर जिम्मेवार कार्य हो’, सचिबका उमेद्वार भोलाविक्रम राईले आक्रोश पोखेका छन्।