लन्डन– गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संघको केन्द्रिय अध्यक्ष पदका लागि भोलि बेलायतबाट औपचारिक घोषणा गर्ने भएका छन् ।
अल्डरशटस्थित एम्पायर हलमा मंगलबार २४ सेप्टेम्बर अपरान्ह ६ बजे देखि घोषणासभा शुरु हुने ‘कुल आचार्य जिताऔं अभियान समिति’ ले जनाएको छ ।
सभामा एनआरएन युकेका वर्तमान तथा पूर्व पदाधिकारीहरु, बेलायतस्थित संघसंस्थाका पदाधिकारीहरुलाई निम्तो गरिएको सो समितिले जनाएको छ । सभामा युरोपबाट पनि सहभागीहरु आउने बताइएको छ ।
आफ्नो उम्मेदवारीको सिलसिलामा साथीहरुको राय बुझ्न विश्व भ्रमणमा गएका आचार्यले बेलायत फर्केपछि त्यस्तो घोषणा गर्न लागेका हुन् । ‘बेलायत एनआरएन अभियानको जन्म थलो पनि हो । त्यसैले आदरणीय अग्रजहरु तथा संसारभरि रहनु भएका शुभचिन्तक तथा मित्रहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयां गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको हुं । विगतमा झैँ यो अभियानमा पनि सबै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु’- आचार्यले भने ।
आगामी अक्टोबर महिनामा गैर आवासीय नेपाली संघको काठमाडौँमा हुने नवौं विश्व सम्मेलनले नयां नेतृत्व चयन गर्नेछ ।