गैर आवासीय नेपाली संघ नर्दन आयरल्याण्डमा च्यारिटी


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायत, नर्दन आयरल्याण्ड राज्य परिषदले बेलफाष्टमा च्यारिटी गरेको छ । नर्दन आयरल्याण्डका नेपालीले नेपालमा आवश्यकता अनुसार आपतकालिन अवस्थामा सहयोग गर्न १६ डिसेम्बरमा च्यारिटी कार्यक्रम गरिएको हो । च्यारिटीबाट करिब १५ सय पाउण्ड जम्मा भएको छ ।

सो च्यारीटी कार्यक्रममा नेपाली लोक तथा दोहोरी कलाकारहरु गायिका खिमा रोका मगर तथा गायक ज्ञान सिङ काउचा लगायतले प्रस्तुति दिएका थिए । इंग्ल्याण्ड, स्कटल्याण्ड, रिपब्लिक आयरल्याण्ड तथा नर्दन आयरल्याण्डबाट च्यारिटीमा सहभागी हुन नेपालीहरु आएका थिए । 

एनआरएनए यूके राज्य समन्वय समिति नर्दन आयरल्याण्डका अध्यक्ष नारायण कुंवरको संयोजन तथा अध्यक्षतामा भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले कार्यक्रम उद्धाटन गरेका थिए । अध्यक्ष छन्त्यालले एनआरएनए आयरल्याण्डले एनआरएनए यूके नर्दन आयरल्याण्डसंग सहकार्य गर्न चाहेको बताए । युके र आयरल्याण्डमा रहेका नेपालीहरु मिलेर नेपाल र नेपालीका लागि विभिन्न कार्य गर्न सकिने उनले बताए । 

कार्यक्रममा विशिष्ट अतिथी गैर आवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष शेरबहादुर सुनारले गैर आवासीय नेपाली संघ बेलायतमा नर्दन आयरल्याण्डको विशेष भूमिका रहेको बताए । उनले गैर आवासीय नेपाली संघ युकेको गत निर्वाचनमा नर्दन आयरल्याण्डले आफूप्रति देखाएको विश्वासका लागि कृतज्ञता प्रकट गरे । गैर आवासीय नेपाली संघ बेलायतको हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक गैर आवासीय नेपाली संघको कार्यक्रममा नर्दन आयरल्याण्ड पुगेका सुनारलाई बेलफाष्टमा स्वागत गरिएको थियो ।

कार्यक्रममा आइसीसी सदस्य दयानिधि सापकोटा, एनआरएन युके उपाध्यक्ष नारायण कँडेल तथा नर्दन आयरल्याण्डका पूर्व अध्यक्ष लिलाराम निउरेलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेलले कार्यक्रम आयोजना गरेकोमा गैर आवासीय नेपाली संघ नर्दन आयरल्याण्डलाई धन्यवाद दिए ।  एनआरएनए यूके सचिव तथा समन्वय विभाग संयोजक कोषलेश्वर ढकालले राज्य परिषदहरुसंग समन्वय गरि कार्य गर्न चाहेको बताए ।

कार्यक्रममा नर्दन आयरल्याण्ड राज्य समितिमा निर्वाचित सहायक सचिव विष्णु खत्री तथा सदस्य तुलसीराम पौडेललाई बेलायतका उपाध्यक्ष नारायण कँडेलले पद तथा गोपनियताको शपथ गराए । उक्त कार्यक्रम नर्दन आयरल्याण्डका सचिव छमबहादुर रेग्मीले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री