गैरआवासीय नेपाली संघको बैठक १८ र १९ जनवरीमा पोखरामा

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक पोखरामा बस्ने भएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार आगामी  १८ र १९ जनवरीमा गण्डकी प्रदेशको पोखरामा बैठक गरिने भएको हो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने छ । 

२ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

शनिवार सम्पन्न पदाधिकारी बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कम्पनीबाट परिक्षण गराउने समेत निर्णय गरिएको क्षेत्रीले जनाए ।

बैठकमा ग्रीसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ । 

बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयनबारे व्यापक छलफल भएको थियो ।  

मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ । बैठकले विभागीय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।

यसैबीच शनिवार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतीय बैठक आयोजना गरिएको थियो ।

बैठकमा संघका अध्यक्ष कुमार पन्तद्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उनले राष्ट्रिय समन्वय परिषद बलियो भए नै संघ बलियो हुने धारणा राखे । उनले गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिए । बैठकमा अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिकासंग सल्लाह गरी काठमाडौंका केही स्थानमा आधुनिक सौचालयको विकासका लागि पहल गरिरहेको जानकारी दिए ।

बैठकमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको बताएका थिए । उनीहरुले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरु मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद्संगको सल्लाहमा हुनु पर्ने धारणा राखे । 

बैठकमा तीन दर्जन राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा महासचिव सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री