बेलायतको स्वास्थ्य सेवामा नेपाली जनशक्ति उल्लेख्य

लन्डन । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने नेपाली जनशक्ति बढिरहेको छ । आकर्षक तलब, जागिर 
सुरक्षा र प्रतिष्ठित भएकाले यसतर्फ नेपालीको आकर्षण बढेको हो ।

एनएचएसले गत सेप्टेम्बर २०१९ मा प्रकाशित गरेको तथ्यांक अनुसार मार्चसम्म इंग्ल्याण्डमा एनएचएस जागिरे नेपालीको 
संख्या १७६० छ । यसमा ब्रिटिस पासपोर्ट लिइ काम गर्नेको 
संख्या उल्लेख छैन् । एनएचएसमा काम गर्ने नेपालीमुलका बेलायतीको संख्या झन् बढि छ ।

एनएचएसमा करिब डेढ दशकको अनुभव संगालेका लन्डनस्थित क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. 
बच्चुकैलाश कैनी सन् २००९ देखि तह ८ का कर्मचारी हुन् । 
’मेरो अनुभवमा नेपालीको संख्या हरेक वर्ष बढ्दैछ । एनएचएसमा प्राविधिकतर्फ नर्स, चिकित्सकको संख्या नै हजारौं छ’- कैनी भन्छन् ।

नेपलिज डक्टर्स एसोसिएसन यूकेका महासचिव एवं कन्सल्टेन्ट डा. कमल अर्यालका भनाइमा जनरल मेडिकल काउन्सिल 
(जिएमसी) मा दर्ता भएका नेपाली चिकित्सकहरुको संख्या सन् २०१६ सम्म ३३० थियो । त्यसमध्ये ट्रेनिङ ग्रेड ८६, जिपीमा ३१, स्पेशलिष्ट २९ र स्टाफ, ट्रष्ट ग्रेड ८४ जना थिए । अहिले जुनियर ग्रेडमा केही संख्या बढे पनि तथ्यांक उस्तै रहेको डा अर्याल बताउंछन् ।

नेपलिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष बिनोदविकास सिम्खडा बेलायतमा एनएचएसमा काम गर्ने नर्सहरुको संख्या 
करिब १३ सय रहेको बताउंछन् । एसोसिएसनमा दर्ता भएकाको 
संख्या त १८० मात्र छ ।

एनएचएसमा एक देखि ९ तहसम्म हुन्छ । प्रशासन र नर्सिङमा सबैभन्दा बढि ८ तहसम्म नेपाली पुगेका छन् । तह ८ ए नर्सिङमा मेट्रोनको पद हो । निर्देशकको पदलाई ‘भीएसएम’ अर्थात भेरी सिनियर म्यानेजर भनिन्छ । नर्सिङमा तह अनुसार वार्षिक १८ हजार देखि एकलाख पाउण्डसम्म तलब हुन्छ । उता फाउण्डेशन ट्रेनिङमा रहेका चिकित्सकको वार्षिक कमाइ करिब २८ हजार पाउण्ड देखि कन्सल्टेन्टको एकलाख ७ हजार पाउण्डसम्म छ । स्पेसियल्टी डक्टरको वार्षिक तलब ४० देखि ७५ हजार पाउण्ड छ ।

इंग्ल्याण्डमा एनएचएसमा १२६०७५३ जनशक्ति काम गर्छन् । त्यसमध्ये २९२९३४ नर्स र हेल्थ भिजिटर, 
प्रशासनिक र सपोर्ट कर्मचारी १७९६५३, चिकित्सक ११६४१६ तथा मिड वाइफ २१६३६ कार्यरत छन् । अहिले १८ हजार ५८३ विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।

एनएचएस विकसित र कमनवेल्थ मुलुकमध्ये विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक र पांचौं ठूलो रोजगारदाता हो । सन् १९४८ मा लेबर पार्टीले राष्ट्रिय स्वास्थ्य सेवा 
(एनएचएस) स्थापना गरेको थियो । बेलायतमा स्वास्थ्य सेवा सबैका लागि निशुल्क छ । बेलायतको स्वास्थ्य सेवा, नयां उपचार प्रणाली र बिरामी निको हुने नतिजा संसारमै सबैभन्दा उत्कृष्ट रहेको डा. अर्यालको भनाइ छ ।

ब्रिटेनको जनसंख्या करिब ६ करोड ५० लाख छ । बेलायतको कुल बजेटको करिब १८ प्रतिशत नेशनल हेल्थ सर्भिसका लागि खर्च हुन्छ । यसमा ८० प्रतिशत साधारण कर, बीमा योगदान एवं अन्य शुल्कबाट उठाइन्छ ।

बेलायतको राजनीतिमा एनएचएस सबैभन्दा बढि चर्चा गरिने मुद्दा हो । यसको बजेट नै वार्षिक झन्डै १३३ बिलियन पाउण्ड छ । सन् २०१९-०२० मा डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले इंग्ल्याण्डमा १३९.३ बिलियन पाउण्ड खर्च गर्ने योजना बनाएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत अगष्टमा 
इंग्ल्यान्डस्थित २० अस्पतालका लागि एक अर्ब ८० करोड पाउण्ड तुरुन्त उपलब्ध गराउने घोषणा गरेका थिए । यस अघि निवर्तमान प्रधानमन्त्री टेरेजा मेले सन् २०२३ सम्ममा बीस अर्ब पाउण्ड थप बजेट घोषणा गरेकी थिइन् । इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित सामाग्री