बेलायतका नेपालीलाई नेपालको सम्पति र नागरिकता चासो 

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) इंल्याण्ड राज्य परिषदले आइतबार ‘नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकता निरन्तता’ बारे एक अन्तरक्रिया गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्व अध्यक्षहरु, भूतपूर्व गोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा अल्डरसटमा कार्यक्रम भएको हो ।
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, थर्क राना लगायतले उपरोक्त विषयमा आ-आफ्ना धारणा राखे ।
गैरआवासीय नेपाली संघले लामो समय देखि उठाउंदै आएको नागरिकता निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा अल्डरसट सुझावपत्र जारी गरिएको छ । कार्यक्रम एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई र गोविन्द खरेलले संचालन गरेका थिए ।
यस्ता छन् ८ बुंदे सुझाव-
१. नेपालको संविधानको धारा १४ मा उल्लेख भए बमोजिम गैरआवासीय नेपालीहरुको नागरिकतासम्बन्धी व्यवस्थाले विदेशमा बस्ने नेपालीहरुको आवाजलाई पूर्ण  रुपमा सम्वोधन नगरेको धारणा सहभागीहरुको छ । नेपालको संसदमा विचाराधिन रहेको नागरिकता ऐनमार्फत विदेशमा वस्ने नेपालीहरुले उठाउंदै आएको नागरिकता निरन्तरताको माग सम्बोधनका लागि आग्रह गरिन्छ ।
२. गैरआवासीय नेपाली ऐन सम्बन्धमा नेपालको नयां संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भई यससम्बन्धी ऐन बनिसकेकाले हालको गैरआवासीय नेपाली सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र त्यसअन्तर्गतका नियमावलीमा भएका कतिपय विषय अस्पष्ट र असान्दर्भिक रहेको सहभागीहरुको सुझाव छ । अस्पष्ट भएका र कतिपय प्रावधानले समस्या समेत थपेको हुंदा ऐनमा संशोधन भन्दा पनि पुनर्लेखनका लागि नेपाल सरकारसमक्ष सुझाव पेश गरिन्छ ।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्तिको ग्यारेन्टीका लागि संसदीय समितिमा रहेको नागरिकता सम्बन्धी विधेयक तत्काल निष्कर्षमा लैजान नेपाल सरकार समक्ष आग्रह गरिन्छ ।
४. भूपू गोर्खा लगायत नेपालीमूलका विदेशी नागरिकले नेपालमा सम्पत्ति खरिद गर्दा र बेचबिखन गर्दा हुने सरकारी झञ्झटलाई सरलीकरण गर्दै नेपालमा आफ्नो नामको चल अचल सम्पत्तिमा हक नगुम्ने र नेपाली नागरिक सरहको स्वामित्व एवं भोगाधिकार लगायतका पूर्ण अधिकार रहने गरी कानुन निमार्ण गर्न यो भेला सम्बन्धित निकाय समक्ष आग्रह गर्दछ ।
५. विदेशमा रहेका नेपालीमुलका विदेशी नागरिकको विदेशमा निधन भएमा उनीहरुको नेपालमा रहेको पैत्रिक सम्पत्ति, अंश, अपुताली, दान एवं बकसबाट प्राप्त सम्पति नेपाली नागरिक सरह भोगचलन गर्न र निजको नेपालमा सम्पति भएमा त्यस्तो सम्पति निजको हकवाला गैरआवासीय नेपाली नागरिकले नेपालमा रहेको सम्पतिसम्बन्धी प्रचलित कानुन बमोजिम विदेशमा ल्याउन पाउने व्यवस्था गर्न आग्रह गरिन्छ ।
६. नेपालमा गैरआवासीय नेपालीहरुको लगानीबाट प्राप्त मुनाफा र त्यसको प्रतिफल फिर्ता लैजाने सम्बन्धमा प्रचलित नेपाली कानुनअनुसार फिर्ता लैजान पाउने व्यवस्था ऐनमा भएको व्यवस्थालाई अझ पारदर्शी र सहज बनाउन आग्रह गरिन्छ ।
७. विदेशमा रहेका तर विदेशी नागरिकता प्राप्त नगरिसकेका गैरआवासीय नेपालीहरुका लागि विदेशबाटै नेपालमा मताधिकारको व्यवस्थाको लागि कानुनी प्रबन्धको लागि आग्रह गरिन्छ ।
८. गैरआवासीय नेपालीहरुसंग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत ऐनहरु समयनाकुल संशोधन गर्दै आवश्यक परिवर्तनका लागि पहल गर्न नेपालको संघीय संसदको ध्यानार्कषण गरिन्छ ।
गैरआवासीय नेपाली संघ बेलायत
तथा गैरआवासीय नेपाली संघ बेलायत, इंल्याण्ड राज्य परिषद
५ जनवरी २०२०
सबै तस्बिरहरु- नरेन्द्र बस्नेत
सुझाव संकलन विशेष समिति
चिरन शर्मा
यादव श्रेष्ठ
नरेन्द्र बस्नेत
ध्रुवराज अर्याल
पूर्ण गुरुङ
केशव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री