कुल आचार्यद्वारा संघको विशेष अधिवेशन गराउन माग

लन्डन । एनआरएनए निवर्तमान उपाध्यक्ष कुल आचार्यले संघको विशेष अधिवेशन गराउन माग गरेका छन् । नयां वर्ष शुभकामना आदानप्रदान गर्न मंगलबार लन्डनमा आयोजित पत्रकार भेटघाटमा आचार्यले संघको अक्टोबर अधिवेशनमा आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित नहुनु बिडम्बना भएको जनाउंदै तुरुन्त विशेष अधिवेशन गराउन माग गरेका हुन् ।

‘यो संस्थाकै लागि दुर्भाग्यको कुरा हो । संघले अहिले गरिररहेका काम अवैध छ । संघको अपारदर्शी कार्य तुरुन्त बन्द गरियोस् र विशेष अधिवेशन बोलाइयोस्’- चुनावपछि पहिलोपटक मिडियामा आएका आचार्यको चेतावनी थियो ।

उनी नेपाल पत्रकार महासंघ बेलायतका पदाधिकारी र अन्य वरिष्ठ पत्रकारहरुमाझ थिए । केही समयको मौनतापछि उनको पुनरागमनलाई कतिपयले ‘अर्थपूर्ण’ मानेका छन् ।

पछिल्लो पटक संघको नियुक्ति-मनोनयन एकलौटी र पूर्वाग्रही भएको बताउंदै आचार्यले अब संस्थाको वृहत्तर हितका लागि खबरदारी गर्न आफ्नो सक्रियता पुनः हुने पनि बताए । ‘म केही समय विश्राममा थिएं । डेढ दशकदेखि पसिना बगाउंदै आएको संस्थामा कसैले मनोमानी गर्छ भने हामीलाई सहय हुंदैन् । म जस्तो कदम चाल्न पनि तत्पर हुनेछु’- आचार्यले भने ।

उनले संस्था कसैको गुट र निषेधित नबनोस् भन्दै प्रतिशोधको भावना लिए संस्थाको कहिल्यै हित नहुने धारणा पनि राखे ।

‘गत विश्व सम्मेलनमा संसारभरिबाट आएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहासकै राम्रो मत पनि दिनु भयो। संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजा संस्थाको बृहत्तर हितलाई ह्दयंगम गर्दै मैले स्वीकार गरें’- उनले भने, ‘तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक भएको छ ।’

पत्रकार सम्मेलनमा उनले व्यक्त गरेका धारणाको सारांश-
सर्वप्रथम संसारभरि रहनुभएका गैर आवासीय नेपाली मित्रहरुमा नयां वर्ष २०२० को शुभ अवसरमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

साथीहरु, गत अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको नवौं विश्व सम्मेलनपछि नयां कार्यसमितिको काम लाइ लिएर संसार भरिबाट साथीहरुले फोन र सन्देश पठाइ रहनुभएको छ । यसै सिलसिलामा मेरा धारणा यहांहरु सामु राख्न चाहन्छु ।

१. नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण हो । यसले हाम्रो संस्थाको गरिमा माथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्। सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन। त्यस्तै म उपाध्यक्ष हुंदा संस्थामा २, २ ओटा सीइओ राख्दा संस्थाले धन्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन् । त्यस्तै सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन। संस्थालाई भरयांग बनाएर व्यापार गर्ने र संसार भरिका एनआरएनहरुलाई उल्लु बनाउने प्रचलन पनि लामो समय देखि नै चलिरहेको छ। संस्थालाई सिन्डिकेट बनाउने प्रयास विरुद्ध नै मेरो उम्मेदवारी थियो। आगामी दिनमा पनि मेरो खबरदारी जारी रहने जानकारी गराउन चाहन्छु।

२. हालै आइसीसीको १० घण्टा लामो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको छ। क्षेत्रीय संयोजक (आर सी) हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा छैन। यस्तो कामले संस्थालाई अरु कम्जोर बनाउने निश्चित छ।

३. गत विश्व सम्मेलनमा संसारभरिबाट आउनु भएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहासकै राम्रो मत पनि दिनु भयो। संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाइ संस्थाको बृहत्तर हितलाई ह्दयंगम गर्दै मैले स्वीकार गरें। तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ।

४. जब सम्म चुनाव प्रक्रियालाई निस्पक्ष र पारदर्शी बनाईदैन, तबसम्म निर्वाचित पदाधिकारीहरुको वैधता सर्वस्वीकार्य हुन सक्दैन। त्यसले संस्था भित्र विश्वासको संकट कायमै रहन्छ। संस्थापन पक्षले जाल, झेल गरेर चुनाव गराउने परिपाटी रही रहे संस्था फुट र विभाजनतर्फ जाने निश्चित छ। त्यसैले हालै सम्पन्न निर्वाचनको समग्र अध्ययन गरी आगामी निर्वाचन प्रक्रियालाई कसरि निस्पक्ष र पारदर्शी बनाउने भन्ने सुझाव समिति गठन गर्न म जोडदार माग गर्दछु। एनआरएनएमा संरचनात्मक सुधार (structural reform) गर्न र चुनाव प्रक्रियालाई निस्पक्ष र पारदर्शी बनाउन मेरो पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

५ निर्वाचन प्रक्रियामा सुधार तथा संघको विधान लगायतका विषयमा छलफल गर्न विशेष अधिवेशनको मिति तोक्न पनि म आग्रह गर्दछु। गैरआवासीय नेपाली संघ एउटा पवित्र सामाजिक संस्था हो । धेरै गैरआवासीय नेपाली जस्तै मैले पनि यो संस्थाको विकास र गैरआवासीय नेपालीको हक अधिकार सुरक्षित राख्न काम गरेको सर्वविदितै छ । हामी जस्ता गैरआवासीय नेपाली संघका थुप्रै सिपाहीले गर्दा यो संस्था यहांसम्म आएको हो ।

म जस्तै अरु एनआरएनए अभियन्ताले नराम्रो काम गर्दा खवरदारी गर्नु जरुरी छ । नत्र यो सामाजिक संस्थाका रुपमा नभई प्रयोग गर्ने सस्थाका रुपमा विकास हुन जान्छ । अनि प्रवासी नेपालीका सस्थाका रुपमा भन्दा पनि व्यक्तिगत फाइदामा संस्थाका दुरुपयोग हुन पुग्छ । त्यसलाई रोक्न र सबै एनआरएन अटाउने संस्था बनाउन म सधैं लागिरहने छु ।

तस्बिर- शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री