लन्डन । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा विदेशी पर्यटक आकर्षित गर्न चिट्ठाको माध्यम अपनाइएको छ । नेपाल आयरल्याण्ड सोसाइटीको सहकार्यमा नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास लन्डनले ‘भिजिट नेपाल २०२० युरोप लोटरी’ कार्यक्रम ल्याएका हुन् ।
लोटरीका मुख्य संयोजक तथा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्यले लोटरी कार्यक्रमको मुख्य उद्देश्य युरोपमा रहेका नेपाली रेष्टुरेन्टहरुलाई पर्यटन प्रर्वधन केन्द्र बनाउनु र त्यसमार्फत भ्रमण वर्ष २०२० अभियानको प्रचार गर्नु रहेको बताए ।
‘यो लोटरी कार्यक्रम २०२० मा २० लाख पर्यटक पठाउने लक्ष्यमा योगदान पुरयाउन युरोपमा सम्भावित पर्यटकहरूसम्म पुग्ने प्रयास हो’, शाक्यले भने, ‘युरोपभरि ७ सय भन्दा बढी नेपाली रेष्टुरेन्ट रहेको अनुमान छ, जसमा वार्षिक करिब १० लाख ग्राहक पुग्छन् । यी रेष्टुरेन्टमा जाने ग्राहक नेपालप्रति माया र स्नेह राख्छन् । उनीहरु नेपालमा छुट्टीमा जाने सम्भावना बढि हुन्छ ।’
आयरल्याण्डको डब्लिनमा हालै आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान उद्घाटनका अवसरमा लोटरी विजेताहरुको नाम घोषणा पनि गरियो ।
पहिलो पुरस्कार आयरल्याण्डकी मरिया हेफेर्ननले प्राप्त गरेकी छन् भने दोस्रो, तेस्रो र चौंथो पुरस्कार क्रमशः तोबिअस मुल्लर (जर्मनी), पेराउड बेनोइत (फ्रान्स) र रचेल लिभेट (बेलायत) ले जिते ।
पहिलो पुरस्कार विजेताले युरोपबाट नेपाल जान आउन २ वटा टिकट, काठमाडौंका प्रख्यात रेष्टुरेन्टका निःशुल्क भौचर र नेपालका शीर्ष श्रेणीका होटलमा १४ रात निःशुल्क आवास सुविधा व्यवस्था गरिएको छ । त्यस्तै, अन्य विजेताहरूले नेपालका विभिन्न शीर्ष श्रेणीका होटलहरुमा निःशुल्क आवास पाउनेछन् ।
शाक्यका अनुसार अनलाइन सबमिसन र युरोपमा रहेका विभिन्न नेपाली रेष्टुरेन्ट र आयरल्याण्डमा आयोजना गरिएका विभिन्न कार्यक्रमबाट कुल १० हजार ३४१ जना ‘लक्की ड्र’ मा प्रवेश गरेका थिए । यसका माध्यमबाट सन् २०२० मा नेपाल जान आमन्त्रित गर्ने सन्देशसहित सोसल मिडियामार्फत दुई लाख भन्दा बढी युरोपियनसम्म पुग्न सफल भएको आयोजकको दाबी छ ।
यसका लागि प्रवीण शाक्य (नेपाल संयोजक), चिरनरत्न शाक्य, रेश्मा श्रेष्ठ र पूजा शाक्यले विगत ६ महिनादेखि विदेशमा रहेका नेपाली रेष्टुरेन्ट र डायस्पोरामा सम्पर्क गरेर तिनका ग्राहक र स्थानीयहरुलाई चिठ्ठा ड्रमा प्रवेश गर्न र नेपालका प्रिमियम होटेल र रेष्टुरेन्टलाई निःशुल्क आवास र भौचर प्रायोजन गर्न अनुरोध गरेका थिए ।
युरोपका नेपाली रेस्टुरेन्टहरु भान्सा घर (आयरल्यान्ड), थाली रेष्टुरेन्ट (आयरल्यान्ड), काठमाण्डु किचेन (आयरल्यान्ड), नेपलेसिक रेष्टोरंग काठमाण्डू (स्वीडेन), रेष्टुरेन्ट हिमालय (लक्जमबर्ग), लुमान्टी (आयरल्यान्ड), कास्मिर रेष्टुरेन्ट (आयरल्याण्ड), द हिमालयन रेष्टुरेन्ट (फ्रान्स), नेपाली फुड मार्ट (जर्जिया), माया दिदी रेष्टुरेन्ट (इंग्ल्यान्ड), द काठमाडौं नेपाली रेष्टुरेन्ट (चेक गणतन्त्र), द वूलास्टन इन (इंग्ल्यान्ड) आदिले आफ्ना ग्राहकबाट इन्ट्री संकलन गरेका थिए ।