‘कोबिड १९’ नाम दिइएको कोरोना भाईरस विगतमा पशुपन्छीहरुमा लाग्ने गरेको थियो । धेरै पशुपन्छीहरु मरेको प्रतिवेदन/प्रमाणहरु पढ्न पाइन्छ । यो रोगले अरबमा समेत प्रसस्त उँटहरु मरेका रहेछन् । तर हालै नयाँ वर्ष २०२० शुरु भए यता कोरोना भाईरस मानिसमा भेटिएको समाचार प्रकाशनमा आयो । विसाल जनसंख्या र विश्व मानव संजालमा दख्खल राख्ने शक्तिशाली मुलुक चीनको हुबेई प्रान्तमा पहिलो केस भेटिएको थियो । चिनिया प्रसाशनले उक्त रोग मानवमा सरेको थाहा पाउने डाक्टरलाई नै नियन्त्रणमा लिएर ढाकछोप गर्न लागे । तर संक्रमण बढ्दै गएका कारण उनै डाक्टर पनि संक्रमणको शिकार हुन पुगे । दिन दुगुना रात चौगुना हुँदै हुबेई प्रान्तमा यो रोग फैलन थाल्यो । यसलाई सकेसम्म छिटो नियन्त्रण गर्न विश्वको दोस्रो शक्तिशाली मुलुक चीनले आफ्नो सबै शक्ति खन्याउन थाल्यो । संक्रमणलाई नियन्त्रण गर्न एक हप्तामै १ हजार बेडको अस्पताल पनि निर्माण गर्यो ।
विश्वसंग सबै यातायात सेवामार्फत जोडिएको यो प्रान्तमा धेरै देशका मानिसहरु विभिन्न पेशा, ब्यबसाय र पर्यटनका कारण आउने-जाने क्रम त तुरुन्तै बन्द हुने कुरै भएन । जसका कारण प्रान्त वरिवरि स्थल र हवाईसेवा मार्फत यात्रुहरुको आवत-जावत यातायात सेवाहरु स्थगन नभएसम्म रहिरह्यो । जब बाहिर पनि संक्रमणका केसहरु देखिन थाल्यो त्यसपछि सरकारले प्रान्तको आवत-जावत स्थगन त गर्यो । तर कति मानिसहरु पहिले नै संक्रमित मानिसहरु विभिन्न यातायात माध्यमद्वारा कहाँ कहाँ आवत-जावत भैसकेका थिए भन्न कठिन थियो ।
संचार माध्यमले खेलेको अहम भूमिका र हवाई मार्ग भएर यात्रा गर्ने यात्रुहरुको परिचय खुलेका कारण पूर्व तैयारीका लागि उत्तरदायी ठान्ने र साधन र श्रोतले सम्पन्न राष्ट्रहरुले यसमा पूर्व सतर्कता अपनाउन शुरु गरे । त्यति मात्र हैन हुबेई प्रान्तमा रहेका आ-आफ्ना नागरिकहरुलाई देश फर्काउने र संक्रमण क्वारिन्टिन गर्न १४ दिनसम्म एकान्तमा राखेर परिक्षण गर्ने ब्यबस्था मिलाए । नेपालले पनि आफ्ना नागरिकलाई संक्रमित प्रान्तबाट उद्दार गरेर एकान्तमा १४ दिनसम्म परीक्षण गरिराख्ने ब्यवस्था गर्यो । यसका लागि केही निर्णय प्रकृयामा ढिलाई भए पनि सरकारलाई धन्यवाद दिनै पर्दछ ।
हालसम्म ४४ देशमा यो कोरोना भाईरसका केसहरु देखिइसकेको छ । जसबाट हालसम्म ८२ हजार मानिस संक्रमित छन् भने २८०० ले ज्यान गुमाइसकेका छन् । यो रोग सबै महादेशहरुमा भेटिएको छ । रोगले धनी गरिब केही भन्दैन । यो रोग विकसित, मध्य विकसित र विकाससील देशहरु सबैमा भेटिएको छ । संक्रमण रोकथामका अनेक उपायहरुका वाबजुद दक्षिण कोरिया र ईटली, स्पेन, लगायतका युरोपियन मुलुकहरुमा समेत फैलिइरहेको छ । विकसित मुलुकहरुले आफ्ना पूर्ववत प्रबिधि, श्रोत साधन परिचालन गरिरहेका छन् भने मध्यम र विकाशसिल मुलुकहरुले आकस्मिक रुपमा प्रबिधि, श्रोत र साधन ब्यबस्था गर्नु पर्ने हुन्छ भने प्रबिधि र तालिमका लागि अरु सहयोगी देशहरुको मुख ताक्न पर्ने हुन्छ । यो संक्रमण रोकथामको लागि विश्व स्वास्थ्य संगठनले शुरु देखिनै तदारुकता देखाएको छ भने विकसित मुलुकहरुमा संक्रमणबाट बचाउन सुई (खोप) को विकास गर्न ठूलै साधन र श्रोत लगानी भैरहेको पनि थाहा हुन आएको छ । यति हुँदा हुँदै पनि खोप तैयार हुन १५ देखि १८ महिना लाग्न सक्ने विज्ञहरुको भनाइ छ ।
सबै देशहरुले आ-आफ्ना नागरिकहरुलाई कसरी यो संक्रमणबाट बच्ने भनेर संचारमाध्यमहरुबाट अध्यावधिक सूचनाहरु सम्प्रेसण गरिरहेका छन् । शुरुमा रुघाखोकीबाट शुरु हुने र ज्वरो आउने, ज्वरो नियन्त्रण नहुने र बिस्तारै शरीरलाई सुक्खा पार्दै महत्वपूर्ण अंगहरु स्वास नली हुँदै फोक्सो, कलेजो, मृगौलाहरु र मुटुलाई असर गर्ने भएकाले, यो शुरुका लक्षणहरु देखिनासाथ पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ पिउने र तुरुन्त अरुलाई संक्रमित हुन नदिईकन सम्वन्धित स्वास्थ्यकर्मीहरुसंग सल्लाह लिन पर्दछ । यो संक्रमित रोग कसलाई छ वा आफ्नो नजिकको मानिसलाई छ छैन भन्ने थाहा सर्वसाधारणलाई वा नजिक बसेको मानिसलाई थाहा हुँदैन । त्यसैले यसबाट बच्न बाहिर जांदा मास्क (नाक र मुख ढाक्ने) लगाउने, पटक पटक हात धुने, हातलाई किटाणुरहित बनाउन किटाणु नासक (हैण्ड सेनेटाईजर) प्रयोग गर्ने गर्नु पर्दछ ।
नेपाल लगायत अल्प वा कम विकसित देशहरुमा धुलो धुँवाबाट बच्न न्युन संख्यामा शहरी जनसंख्याले बाहिर निस्कँदा मास्क लगाउने गरेको देखिएता पनि यो संक्रमणबाट बच्न पर्याप्त सूचना र सल्लाहहरुको ब्यवस्था भएको र त्यसका लागि मास्क प्रयोग भएको भने पाईदैन । साथै पूर्व तैयारी स्वरुप सरकारले ब्यवस्था गरिदिनु पर्ने हात सेनेटाईजर र आबस्यक पर्ने मास्कको आपूर्ति र पर्याप्त सूचना र सम्पर्क केन्द्रहरुको ब्यवस्था गरेको भने देखिदैन । अन्य मुलुकहरुमा बिस्तारै फैलिईरहेको कोरोना भाईरसको एउटा केस नेपालमा पनि भेटियो । यो केस बिरामी आफैँ स्वास्थ्यकर्मीको सम्पर्कमा आएकोले समयमा नै पहिचान भै रोकथाम भयो । तर कुनै संक्रमित यात्रु चाहे पर्यटक होस् वा नागरिक यदि थाहा नभै समुदायमा प्रबेश भै शहरको भिडमा समेत संक्रमण फैलियो भने के होला, सोच्न अनिवार्य र ढिला भैसकेको छ ।
देशले २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेको छ । यो संक्रमणका कारण पर्यटन वर्षको सफलतामा असर पर्ने देखिन्छ । तर पनि सरकार र सम्वन्धित निकाय र पक्षहरुले पर्यटक र पर्यटकहरुबाट आम नागरिक र नागरिकबाट पर्यटकमा पर्न सक्ने संक्रमणको असरमा ध्यान दिनु जरुरी छ । संक्रमणबाट पर्यटन वर्षमा पर्न सक्ने त्यसरी प्रभावलाई न्युन गर्न सकिन्छ । मुलुककै एकमात्र अन्तर्राष्टिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य कक्ष भने खोलिएको छ तर मुलुकमा पस्नु अगाडि यात्रुहरुलाई रोगबारेमा जानकारीमुलक सूचना दिने ब्यवस्था गरेको पनि देखिदैन भने उत्रे पछि पनि कुनै सुचना र स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था भएको देखिदैन । त्यस्तै यस्तो बिश्वब्यापी संक्रमणको अवस्थामा हवाई मार्गबाट आएका यात्रु र विषेशगरी संक्रमित क्षेत्रबाट आएका यात्रुहरुको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था, अनिवार्य मास्कको ब्यवस्था र हातको शुद्धता ( हैण्ड सेनेटाईजर) जेलको ब्यवस्था हुन जरुरी देखिन्छ । यसरी संक्रमणबाट थप सुरक्षा मिल्दछ ।
सरकारले वर्तमान सामाजिक संचार माध्यम र सार्वजनिक संचार माध्यमहरु रेडियो र टेलिभिजनको संक्रमणबारे जनचेतना दिन पूर्ण उपयोग गर्न पर्दछ । सबै सार्वजनिक संचार माध्यमहरुलाई चेतनामुलक सामाग्री बजाउन वा देखाउन अनिवार्य गराउन पर्दछ । यी संचार माध्यमहरु अहिले कहाँ, कति संक्रमित भए, कतिको ज्यान गयो भन्नेमा मात्र केन्द्रित देखिन्छन् तर कसरी बच्ने, लक्षण के हो, कहां सम्पर्क गर्ने भन्नेमा सूचना प्रवाह गरेको पाइँदैन । यस्ता सार्बजनिक महत्वका सूचनाहरु संप्रेषण गर्न कानुन बनाउन पर्छ भने पनि बनाउन पर्दछ । यसमा संचार माध्यमहरुले पनि अन्यथा लिन हुँदैन । यस्ता उपायहरुले मुलुकमा धनजनको क्षति हुनबाट बचाउँछ भने समग्र आर्थिक र सामाजिक विकासमा मद्दत पुग्दछ ।
मुलुकका मुख्य मुख्य शहरहरुमा सरकार र सामुदायिक संघ संस्थाहरु मिलेर संक्रमणको पहिचान र यसबाट बच्ने उपायहरुका सम्बन्धमा जनचेतना अभियान पनि संचालन गर्न जरुरी छ भने सरकारी तथा गैर सरकारी सार्वजनिक सेवा दिने ठाउहरुमा हात शुद्ध गर्ने जेल, मास्क आदिको ब्यवस्था गर्न र हात धुने बानीको विकास गर्न जरुरी छ । यो ब्यक्तिगत सरसफाई बानीको विकास गर्ने एक अवसर पनि हो । किन्न खोजेपनि अहिले बजारमा मास्कको आपूर्ति घटेको छ भने हात शुद्ध पार्ने जेल सितिमिति पाईदैन । सरकारले यस्ता वस्तु उत्पादन र आपूर्ति गर्ने ब्यवस्था द्रुत गतिमा मिलाउन जरुरी छ । रोगको संका लागेमा सोधपुछ र अबलम्वन गर्ग पर्ने उपायहरुका बारेमा जान्न निशुल्क द्रुत टेलिफोन लाईनहरुको ब्यबस्था गर्न जरुरी छ ।
यसरी संक्रमणको समयमा नै रोकथामका लागी भरपर्दो ब्यवस्थापन, आपूर्ति ब्यवस्थापन, जनचेतना फैलाउन आवस्यक कदम, रोगको समयमा नै पहिचान र रोगको सुरक्षित उपचार ब्यवस्था हुन सकेमा यो कोरोना भाईरस मात्र हैन अन्य संकमण र भविस्यमा आईपर्ने संक्रमणहरुबाट बच्न र बचाउन सकिन्छ भने मुलुकको आर्थिक विकासमा यस्ता संक्रमणहरुको प्रभाव न्युनीकरण गर्न मद्दत पुग्ने देखिन्छ ।
पुरुषोत्तम पौडेल समसामयिक विषयमा कलम चलाउँछन् ।