बेलायतमा कोरोना भाइरस फैलंदै, एकको मृत्यु


लन्डन । बेलायतमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ । बेलायतमा उक्त भाइरसबाट मर्ने ति वृद्धा पहिलो व्यक्ति हुन् ।

बीबीसीका अनुसार, दि रोयल बर्कसायर एनएचएस ट्रष्ट, रेडिंगमा भर्ना भएकी एक वृद्धाको बिहीबार मृत्यु भएको हो । उनी पहिले नै अरु स्वास्थ्य समस्याबाट पीडित थिइन् । उनमा गत राती कोरोना भाइरस ‘पोजिटिभ’ देखा परेको थियो ।

बेलायतमा अहिलेसम्म उक्त भाइरसबाट संक्रमित हुनेको संख्या ११६ पुगेको छ । बुधबार यतामात्र ३० जना भन्दा बढिमा पोजिटिभ देखिएको छ । बेलायतमा हालसम्म १८ हजार ८३ जनाले कोरोना भाइरसको परिक्षण गराएका छन् ।

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण बेलायतमा पनि वृद्धि भएपछि सरकारले सम्भावित महामारीका लागि तयारी तीव्र पारेको छ । सरकारले थप सतर्क रहन जनमानसमा अपिल गर्दै एउटा प्रमुख जनस्वास्थ्य अभियान शुरु गरिएको छ । उक्त अभियानमा सर्वसाधारणलाई कम्तीमा २० सेकेन्ड निरन्तर मिचेर हात धुन अपिल गरिएको छ ।

स्वास्थ्य मन्त्री म्याट हयानककले संक्रमणबाट बच्न नियमित हात धुनु महत्वपूर्ण हुने बताए । स्वास्थ्य मन्त्री हयानककले यसको न्यूनीकरणका लागि छलफल गर्न बुधबार लन्डनमा एउटा आपतकालिन कोब्रा बैठकको अध्यक्षता गरेका थिए ।

पब्लिक हेल्थ इंग्ल्याण्डले साबुन र पानी नभए कम्तीमा ६० प्रतिशत अल्कोहल रहेको हयाण्ड सेनिटाइजर प्रयोग गर्न सुझाएको छ । सार्वजनिक यातायात चढेपछि हात धुन विशेष महत्वपूर्ण हुने भएकाले यसमा चनाखो रहन पब्लिक हेल्थले अपिल गरेको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले आपतकालीन कानून सार्वजनिक गरेका छन् जसअनुसार कामदारहरुलाई बिरामी भएको चौंथो दिनपछि मात्र तलव दिनुपर्ने कानूनी प्रावधान रहेकामा अब पहिलो दिनदेखि नै तलब दिनु पर्नेछ । यसको अर्थ विरामी भएका कामदारलाई तिनका रोजगारदाताहरुले हप्तामा ४० पाउन्ड थप दिनु पर्नेछ ।

हाउस अफ कमन्स्मा बोल्दै प्रधानमन्त्री जोनसनले भाइरसको संक्रमण हुन नदिन आफैंलाई अलग थलग राख्ने मानिसहरुलाई दण्डित गर्न नहुने बताए । सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पानिस फ्लुका कारण विश्वका करिब ५० करोड मानिसमा महामारी भएको दृष्टान्त ध्यान राख्दै कोरोना भाइरसको सम्भाव्य जोखिमका लागि बेलायतले तयारी गरिरहेको पनि प्रधानमन्त्री जोन्सनले बताएका छन् ।

महामारीको डरले बेलायतीहरु उच्च सतर्कतामा छन् भने कतिले रासन पानीको जोहोका लागि 
आतुरीमा सामान किनेका पनि पाइएको छ । ब्रिटेनमा मास्क र हयाण्ड स्यानीटाइजरको अभाव शुरु भइसकेको छ ।

वार्टफोर्ड जनरल हस्पिटलमा मेडिसिन डिभिजनको मेट्रोन कल्पना घिमिरेलाई कोरोना भाइरसका कारण अहिले अस्पतालमा थप व्यस्त हुनु परेको छ । सेफ्टी, इन्फेक्सन कन्ट्रोल र क्वालिटी मेन्टेन उनको प्रमुख जिम्मेवारी हो । उनले काम गर्ने अस्पताल वेष्ट हार्टफोर्डसायर हस्पिटल ट्रष्ट अन्तर्गत पर्छ जसमा अरु दुई अस्पताल हेमल हयाम्सटेड र सेन्ट अल्बान्स् सिटी छन् । अहिलेसम्म ति अस्पतालमा संक्रमित नभएपनि आपतकालिन योजना इकाइले पूर्व तयारी गरिरहेको उनले जनाइन् । तिनवटै साइटमा विरामीहरुको उचित व्यवस्थापनका लागि एसेसमेन्ट पोड्स व्यवस्था गरिएको उनी बताउंछिन् । कर्मचारीहरुको सुरक्षाका लागि पनि तालिम तथा सचेतना अपनाइएको छ ।

विश्वभर कोरोना भाइरसबाट करिब ९० हजार जना संक्रमित भएका छन् भने ३ हजार बढिको ज्यान गइसकेको छ । गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तबाट यसको महामारी फैलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री