कोरोनाबाट रसमुरका नेपालीलाई पर्नसक्ने आपतमा सहयोग गर्न अघि सरे स्वयंसेवीहरु

लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयम्सेवी प्रयास शुरु गरिएको छ । भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसंग सम्बद्ध पदाधिकारीहरुले त्यस्तो पहल शुरु गरेका हुन् ।

संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको समाजसेवी बिक्रम भट्टराईले बताए । उक्त समूहले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने र  वहाँहरुलाई चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनले जनाए ।

समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीहरुको संख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्ली लगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिने उनले बताए ।

अर्का स्वयंसेवी भिम बानियाले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । समूहमा महिला स्वयंसेवीहरुको पनि सक्रिय सहभागिता रहने उनले जनाए ।

स्वयंसेवी समूहमा रहेका निम्न व्यक्तिहरुलाई सहयोगका लागि सम्पर्क गर्न सकिने पनि सो अभियानले जानकारी दिएको छ ।

बिक्रम भट्टराई  ०७९१५०४६२०३

कृष्ण गुरुङ ०७८२५६६०५९४

थम विश्वकर्मा ०७८४६२३१९६०

जीव बेलबासे  ०७९००९०५३७९

भिम बानिया  ०७९८८७९१०८३

ए बि गुरुङ ०७८८६९९४३९०

हरि भट्टराई ०७८८६३२८७७६

(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो । सं.)

प्रतिक्रिया

सम्बन्धित सामाग्री