कोरोना भाइरसबाट युकेमा एक पूर्व गोरखाको मृत्यु

लन्डन । कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ ।
संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।
हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए ।
सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ ।
उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो ।

अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ । जसका कारण उनका आफन्त र जिल्लाबासीले परिवारसित भेट गरी सान्त्वना दिन पाएका छैनन् । संखुवासभा समाज युकेले जिल्लाबासीलाई राईको परिवार आइसोलेसनमा रहेका कारण आफ्ना सदस्यहरुलाई पारिवारिक भेटका लागि अर्को सूचना जारी गरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री