कोरोना भाइरस देखिएपछि सामाजिक अभियन्ता रानाभाट अस्पताल भर्ना


लन्डन — लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ता भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् ।

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् । ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत भनेकी छिन् ।

फेसबुकमा आफ्नो संक्रमणबारे राख्ने सोच नभए पनि आफन्त एवं साथीभाइलाई थप भयावह बनाउला भन्ने सोचेर पूर्व सतर्कताका लागि पोस्ट गरेको उनको भनाइ छ । उनले सबैलाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरेकी छन् । उनलाई सयौंले आत्मबल बढाउन र शीघ्र स्वास्थ्यलाभका लागि कामना गरेका छन् ।

पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले समात्यो । छोरी फर्मासिस्ट भएकाले सिटामोल र आइबुप्रोफिन लिन सुझाइन् ।

औषधिले निको नभएपछि गत १८ तारिख बुधबार हस्पिटल गएर एक्सरे गरेपछि एन्टिकायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ। उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा ‘सेल्फ आइसोलेसन’ मा छन् ।

‘कोभिड १९’ का कारण बेलायतमा आइतबारसम्म २८१ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ६ सय ८३ मा संक्रमण पाइएको छ।

‘कोभिड १९’ संक्रमण फैलिएसँगै बेलायतको नेपाली समुदाय पनि सतर्कता अपनाउन लागेको छ । कोरोनाभाइरस संक्रमण तीव्र भइरहँदा नेपालीमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न लन्डनस्थित नेपाली दूतावासले राजदूत दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरेको छ।

दूतावासले जनस्वास्थ्य तथा सचेतना सहयोग समिति, स्वयंसेवक सहयोग समिति, वृद्धवृद्धा तथा भूतपूर्व गोर्खा सहयोग समिति, युवा तथा विद्यार्थी सहयोग समिति र सूचना संकलन सहयोग समिति गठन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री