कोरोना संक्रमित बेलायतका नेपालीमा हिनतावोध हट्दै !

फेसवुकबाट

लन्डन । कोरोना भाइरस (कोभिड १९)को सामान्य संक्रमणको आंशकामा घरमै आइसोलेसनमा बसेका बेलायतस्थित नेपालीहरु आफ्ना स्वास्थ्य अवस्थाका बारेमा खुलेर कुरा राख्न थालेका छन् । करीब एक लाख नेपाली बसोवास गर्ने बेलायतमा कोरोना भाइरसका बारेमा सामाजिक संजालमा बिमारी रहेको फोटोसहित आफूले भोगिरहेको स्वास्थ्य समस्यासहित छलफल गर्न थालेका हुन् ।
बेलायतमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या दिन प्रतिदिन बढे पनि सामाजिक संजालमा केही नलेख्ने तथा आफू निकटका साथीहरुलाई समेत बताउन हिचकिचाउने थुप्रै नेपाली थिए । पछिल्ला दिनमा हिनताबोध हट्दै गएको महशुस समुदायका अगुवाहरुले गर्न थालेका छन । बेलायतका जिपी डा. मनोहर बुढाथोकीले आइसोलेसनमा बस्दा हीनतावोध तथा लघुताभाष मान्नु जरुरी नरहेको बताए । ‘आइसोलेसनमा भनेको आफू पनि बच्नु र परिवारलाई पनि बचाउनु हो । अहिले ज्यान बचाउने बेला हो । यदि एक\दुई हप्ता आइसोलेसनमा बस्दा ज्यान बच्न सक्छ भने किन संकोच मान्ने ?, डा बुढाथोकीले प्रतिप्रश्न गर्दै भने, ‘यो भाइरसबाट सबैलाई असर परिरहेको छ । समाजमा यो भाइरस फैलन नदिन लाग्नु पर्यो । त्यसैले समयमै सचेत बनौँ र असजिलो नमानी आइसोसेलनमा बसौँ ।’
पछिल्ला घटनाक्रमले पनि आफ्नो स्वास्थ्य समस्या बारेमा नेपालीहरुलाई बोल्न सहज बनायो । जब कोरोना भाइरस संक्रमणबाटै दुई नेपाली लीलाबहादुर राई र प्रसान्त अर्यालको निधन हुन पुग्यो । त्यसपछि नेपाली समुदाय बिस्तारै स्वास्थ्य समस्याका बारेमा अनुभव आदानप्रदान थाल्यो ।
बेलायतमा सयौँ नेपाली कोरोना भाइरस संक्रमित भएको अनुमान गरिएको छ । तर, बेलायत सरकारले लक डाउन गरेपछि प्राय सबै घरमा भएकाले आफैँले वा आफ्ना परिवारका कसैले अरुलाई नभनेसम्म एक अर्कालाई जानकारी हुन सक्ने अवस्था छैन ।
गत साता समाजसेवी विश्वआदर्श पण्डितले आफूहरु परिवारसहित सेल्फ आईसोलेसनमा बसेको जानकारी सामाजिक सजाल फेसवुक मार्फत गराए । उनले कोभिड १९ संक्रमणका शंका लागेमा घरमै बसेर अरुका स्वास्थ्यमाथि हुने जोखिम घटाउनु सामाजिक संजाल मार्फत अनुरोध पनि गरे ।
साउथ इस्ट लण्डनमा व्यवसाय चलाउदै आएका पदम (कपुर) राणाले कोभिड १९ लागि जितेर परिवारसहित होम आइसोलेसनमा बसेका छन । राणाले आफू व्यायाम गर्न जाने जीमबाट कोरोना संक्रमण भएको आश‌ंका गरेका छन् । त्यस्तै, समाजसेवी भगवती रानाभाट कोभिड १९ लाई जितेर परिवारसहित होम आईसोलेसनमा छिन् । कोभिड १९ सित लडिरहेको फोटो सामाजिक सजालमा पोष्ट गरेकी उनी गत मार्च ८ वेष्ट लण्डनमा एनआरएनए यूकेले गरेको विश्व महिला दिवस कार्यक्रममा सरिक भएर घर गएपछि विमारी भएको जनाएकी थिइन् । उनीहरु दुवै जनाले मिडियामार्फत आफ्नो अनुभव शेयर गरी समुदायलाई सचेत बनाउन सहयोग गरे ।
यसैगरी चितवन घर भई साउथ इस्ट लन्डनमा बसोवास गर्ने समाजसेवी गोविन्द रिजालको फोटोसहित कोभिड १९ संक्रमणसँग लडिरहेको जानकारी समुदायलाई दिइएको छ भने सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् यूकेका शेखर वाग्ले र उनकी श्रीमती मुना वाग्लेले पनि गत १७ मार्चदेखि ज्वरो आएर परि थला परेको जानकारी सामाजिक संजाल मार्फत शेयर गरिएको छ । समाजसेवी वाग्लेले ज्वरो, खोकी, श्वासप्रश्वासमा आएको समस्या तथा अरु शरीरिक समस्या अनि बेलायतका स्वास्थ्य स्थितिका बारेमा वहाँले भोग्नु परेको पीडा र यथार्थका बारेमा छर्लङ्ग हुने गरी लेखेका छन्।

कोरोना भाइरस एक नयाँ रोग भएकाले स्वास्थ्यकर्मीहरु, वैज्ञानिकहरु यस रोगको सबै एकपछि अर्को लक्षण र यस रोगको चरित्र देखा पर्दै जाँदा अचम्भित छन् । यस्तो पृष्ठभूमिमा यस रोगबाट संक्रमितहरुले निर्धक्क आफ्नो अनुभव शेयर गरेको अवस्थामा समुदायका अन्य सदस्यहरु सजग र सचेत बन्न सहयोग मिल्ने छ ।

विश्वका उत्कृष्ट मध्ये एक मानिएको बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले विमारीको चाप थाम्न नसकेपछि कोरोनाको आंशका भएका व्यक्तिलाई घरमै बस्न अनिवार्य उर्दी जारी गरेको छ । फोन सम्पर्कपछि मात्रै एम्बुलेन्सले अस्पताल लग्ने हुँदा बहुसंख्यक कोरोना भाइरस संक्रमित सिटामोल खाएर घर बस्न बाध्य छन् ।
यसबीचमा बेलायतस्थित नेपाली राजदूतावास र नेपाल पत्रकार महासंघ युके शाखा, एनआरएनए यूकेलगायतका संघसस्थाले भाइरस संक्रमणबाट जोगिन आव्हान र जनचेतना जगाउने काम गरिहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री