भाइरोलोजिष्टहरूका भनाइमा कोरोना भाइरस पहिले नै थियो । त्यसका विविध रुपहरू विभिन्न कालखण्डमा देखा परेका हुन् । अहिलेको सन्दर्भमा कुनै भाइरस संक्रमित व्यक्ति चीनको वुहानस्थित वेट मार्केटमा आउँदा त्यहाँ बेच्न राखिएकामध्ये कुनै जनावरमा रहेको भाइरस र उक्त व्यक्तिको भाइरसबीच संसर्ग हुँदा एक नयाँ वर्णसंकर भाइरस पैदा भयो । त्यो वर्णसंकर भाइरस नै त्यसपछि एक मानिसबाट अर्को मानिसमा पनि सर्न सक्ने क्षमताको भएर निस्क्यो । त्यो कुन जनावर थियो भन्नेमा मतैक्य छैन, कसैले चमेरो भनेका छन् त कसैले अरु नै । नयाँ प्रकृतिको कोरोना भाइरस भएकोले वैज्ञानिकहरूले त्यसको नाम नोभेल कोरोना भाइरस राखिदिए ।
कोरोना भाइरसको संक्रमणले यतिबेला विश्व आक्रान्त छ । विशेषतः यूरोप र अमेरिका अस्तव्यस्त बनेका छन् । तर यसको असर अन्यत्र भन्दा नेपालमा अहिलेसम्म न्यून नै देखिएको छ । यसको कारण कि त प्राकृतिक रुपले नै नेपाली जातिको रोगप्रतिरोधक क्षमता सबल छ, कि त भाइरस संक्रमण व्यक्तिको लेखा राम्रोसँग राखिएको छैन भन्ने नै हो । यी दुवै कारण हुन पनि सक्छन् र नहुन पनि ।
यसभन्दा अघि देखिएका सार्स र मार्स जस्ता भाइरसको तुलनामा यसपटकको कोरोना भाइरसबाट मृत्युदर कम रहेको तथ्यांकले देखाएको छ । तैपनि डर त्रास महामारीलाई जित्ने गरी फैलिरहेछ । मानिसहरू कोरोनाको प्रकोपले भन्दा डर र भयले आत्तिएर आत्मबल गुमाएर मर्नसक्ने संभावना बढेको छ । यसको महत्वपूर्ण कारण यसको विशेष औषधि नभएको कुराले नै हो ।
कोरोना भाइरसका लागि एचआइभी एड्स र मलेरिया विरुद्धका उपलब्ध औषधिहरूको सकारात्मक असर एवं अन्य संभावित औषधीका बारे पनि वैज्ञानिक एवं आयुर्वेदिक विज्ञहरू रातदिन लागिपरेका छन् ।
अप्रिल ३, २०२० मा न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखले बीसीजी खोपका संभावित परिणामबारे भैरहेका वैज्ञानिक अनुसन्धानबारे बताएको छ । उक्त लेखका अनुसार क्षयरोग निरोधका लागि बीसीजी खोप लगाएकाहरूमा भाइरल संक्रमणको न्यूनता हुने कुरा अनुसन्धाता भाइरोलोजिष्टहरूको प्रारम्भिक रिसर्चले देखाएको छ । यद्यपि यसबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ । नेपालमा बालबच्चाहरूमा अनिवार्य बीसीजी खोप लगाइने गरेको छ । बेलायतजस्ता विकसित भनिने देशहरूमा बालबच्चालाई यो खोप लगाइँदैन । लण्डनमा जन्मेका नेपालीका शिशुहरूमा बीसीजी खोप लगाउने बारे एनएचएसमा कुरा गर्दा यहाँ जन्मेको बच्चामा आवश्यक नहुने तर बाबुआमा नेपालबाट आएको हुनाले लगाउनुपर्ने तर्क गरी खोप लगाइदिने गरेको मेरो जानकारी छ । मेरी कान्छी छोरीको लागि बीसीजी खोप लगाउने कि नलगाउने विषयमा जीपी र हामीबीच धेरै नै माथापच्ची भएको मलाई सम्झना छ ।
हुनसक्छ यसैको कारण नेपालमा नेपालीहरूमा कोरोना भाइरसको कम संक्रमण देखिएको होस् वा अन्य कारणहरू हुन् । यसमा थप खोज, अनुसन्धान हुने आशा गरौं । कोरोना भाइरस नियन्त्रणमा बीसीजी खोपले काम गर्ने नगर्नेबारे रिसर्च अगाडि बढेको अनुसन्धाताहरू बताउँछन् । कोरोना भाइरसका लागि एचआइभी एड्स र मलेरिया बिरुद्धका उपलब्ध औषधिहरूको सकारात्मक असर एवं अन्य संभावित औषधीका बारे पनि वैज्ञानिक एवं आयुर्वेदिक विज्ञहरू रातदिन लागिपरेका छन् । नवीनतम खोज र व्याधिको निदानमा यस्ता खोजहरू निरन्तर भैरहन्छन् । हरेक देशहरूले आफ्ना वैज्ञानिक शोधकर्ताहरूलाई यसै काममा लाग्न अभिप्रेरित गरेका छन् । अरु बेला बरू युद्धमा प्रशस्त बजेट छुट्याउने तर एण्टी भाइरल रिसर्चको ग्राण्ट नदिने सरकारहरूले यसपटक यो आपतबाट मुक्ति मिल्ने आशाले यसपट्टी ध्यान दिएका छन् । यसै सन्दर्भमा हाम्रो छिमेकी भारत सरकारले आयुर्वेद र होमियोपैथी उपायहरूको संयुक्त अनुसन्धानका लागि ठूलै बजेट छुट्टाएको छ । नेपालमा हामी रिसर्च तहमा काम गर्न नसकेपनि आफ्नो आफ्नो क्षमता र विवेकले केही न केही योगदान गर्न सक्दछौं ।
यसबीचमा दिनहूँ मानवीय क्षतिका खबरहरू आइरहँदा आत्मबल घट्नु स्वाभाविक छ । अझ शक्तिशाली मानिएका राष्ट्रहरू कोरोनाको व्यथाले थलिइरहेको देख्दा आतंकको सृजना हुनु अस्वाभाविक होइन । तर पनि जीवन र जगतका बारे हाम्रो पूर्वीय दृष्टिकोण जीवन जीउने आफैमा शक्तिशाली मोडल रहेकाले आफ्नो मौलिक संस्कृति र परम्परागत धारणालाई पनि भुल्न हुँदैन । वीर जस्तो भएर बाँच्ने र मृत्युलाई समेत हाँसेर स्वीकार्ने हाम्रो पूर्वीय मान्यता हो । ज्ञानले भरिएको दुःख र सुख स्वीकार्ने ज्ञानी मानव जीवन नै सनातन सभ्यताको परिचायक हो । शायद यसैलाई इंगित गर्दै बालकृष्ण समले -“ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ” भनेका हुनन् ।
अलिकति हाम्रो अध्यात्म, खानपिन र गरीब भएपनि विन्दास जीवन बाँच्ने पद्धतिले पनि थप इम्यूनिटी बढाएकै छ । हामी कृषिप्रधान प्रकृतिसम्मत जीवनमा आधारित रहेसम्म जीवन उति दुसाध्य रहन्न । जति जति मानव जीवन कृत्रिमता र प्रकृतिनाशक बन्दै प्रगतिका कर्कश नाराहरू फलाक्न थाल्दछ, त्यसपछि मात्र सन्त्रास र महामारीका डरलाग्दा ध्वनिहरू मानव जीवन तहसनहस बनाउन आइपुग्दछन् । यसर्थ प्रकृतिसायुज्य जीवन नै उत्तम जीवन हो र त्यो नै हाम्रो सनातन पद्धति हो । यसबाटै हाम्रो इम्युनिटी उच्च छ ।
अर्कोतर्फ हाम्रो जीवन र मृत्युलाई हेर्ने दृष्टिकोण पनि अन्तभन्दा भिन्न छ । हामी पुनर्जन्म मान्दछौ । हाम्रो लागि मृत्यु जीवनको अन्त्य नभै जीवन परिवर्तनको द्योतक मात्र हो । मृत्युले केवल शरीर नाश हुने, आत्मा अविनाशी हुने र कपडा फेरे झैँ जीवात्माले अर्को शरीर लिने कुरामा हाम्रो अटल विश्वास छ । मृत्यु नआएसम्म नआउने र जाने समय आए कसैले टारेर टार्न नसकिने शाश्वत पक्ष हो । यसर्थ जुन कुरा हाम्रो वशमा छैन त्यसको चिन्ता गरिबस्नु हामीलाई उचित लाग्दैन । यो हाम्रो महत्वपूर्ण ‘इम्यूनिटी’ हो ।
थप कुरा अहिले नै नेपाल सरकारसँग भएको उपलव्ध श्रोत र साधनलाई सदुपयोग गर्न सके कोरोना भाइरस संक्रमण भएका विरामीहरूको ठूलो चाप नभै सकेकोले नेपालमा अन्यत्र जस्तो भयावह स्थिति आउन सक्ने संभावना न्यून नै छ । बेलैमा चेत्न नसकेका र हेलचक्राई गर्ने यूरोप र अमेरिकाका देशहरूबाट नेपालले अत्यन्त ठूलो पाठ सिक्ने अवसर पाएको छ । यो नेपाल र नेपालीको अर्को महत्वपूर्ण ‘इम्यूनिटी’ हो ।
हामी जहाँ भएपनि आफ्नो स्वच्छता कायम राखौं। स्वच्छ जीवनमा धेरै कम समस्या रहन्छन् । भोजन, चिन्तन र कर्ममा आबद्ध शुद्धताले मानव जीवनको मूल्य उन्नयनमा ठूलो भूमिका खेल्दछन् । यो विपद्का घडीमा अत्यावश्यक काम बाहेक सकेसम्म घरभित्रै बसौं । शरीर र मनको तन्दुरुस्तीका लागि योगाभ्यास गरौं, ध्यान गरौं । मनपर्ने कुनै जीवनोपयोगी गीत संगीत श्रवण गरौं, केही सिर्जनात्मक लेखन, पठन गरेर समय बिताऔं । एक अर्कालाई सकेको सहयोग गरौं, मानव जीवनका राम्रा र सबल पक्षबारे चिन्तन गरौं, कोरोना भाइरससहित भय र त्रासको संक्रमणबाट आफू पनि बचौं, अरूलाई पनि बँचाऔं।
सबै आत्मीय जनमा शुभ पलको कामना !
५ अप्रिल २०२०, लण्डन