लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले नेपाली समुदायबाट बेखबर युवाहरुको एउटा कम्पनीलाई विद्यार्थीहरुको समस्या समाधान हुने गरी सहयोग रकम वितरण गर्न जिम्मा दिएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा खाना बस्न समस्या भोगिरहेका विश्वविद्यालयका विद्यार्थीहरुलाई मर्जिङ नेपसक्समार्फत सहयोग गर्न दूतावासले समुदायमा आग्रह गरेको हो । नेपसक्स अध्यक्ष पवन कँडेल संयोजक हुन् । करीब तीन सय हाराहारीमा रहेका संघसंस्थाहरु दूताबासको यो निर्णयले अचम्ममा परेका छन् । एनआरएनए यूकेलगायतका सबै ‘तैँ चुप मै चुप’ को अवस्थामा छन् ।
घटना यसरी विकास भयो
२४ मार्चदेखि बेलायत लकडाउन भएपछि यहाँ अध्ययनका लागि आएका विद्यार्थीहरु आत्तिए । कलेज बन्द भयो र काम रोकियो । उनीहरुले सहयोगका लागि राजदूतावास र बेलायतस्थित संघसंस्थासँग अपिल गरे । बेलायतजस्तो विकसित मुलुकमा बिद्यार्थीहरुलाई खाना बस्न अभाव भएको समाचारहरु प्रकाशित भएपछि राजदूतावास एकाएक अभिभावकीय भूमिकामा देखापर्यो।
दूतावासका उपनियोग प्रमुख शरदराज आरन आफैँले विज्ञप्ति जारी गरी समस्यामा परेका विद्यार्थीको लगत संकलनका लागि नेतृत्व गरे । विद्यार्थीहरुको लगत संकलन तथा राहत वितरणमा सहयोग गर्न उनले नेपाली समुदायसँग अपिल गरे । महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीले सरकारका सम्बन्धित निकायहरुसँग विश्वविद्यालय बन्द हुँदा तिर्नु पर्ने फी र विद्यार्थीहरुका समस्याका बारेमा कूटनीतिक ढंगले कुरा अघि बढाए ।
यसबीचमा, नेपालबाट विश्वविद्यालय अध्ययनका लागि आएका विद्यार्थी फर्काउन अभिभावकहरुले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाए । बेलायतस्थित राजदूतावासलाई नेपालबाटै पहलका लागि अनुरोध गरे । नेपाल सरकार तत्काल विद्यार्थी फर्काउन सकारात्मक नदेखेपछि दूतावासले बेलायतमै सहयोगका लागि अनुरोध गर्याे । बिद्यार्थीहरुलाई सहयोग गर्नेलाई दूतावासले उचित समयमा धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत राख्यो । समाजसेवी मनहरुसँग जोडिएको दूतावासको निर्णयले साता नपुग्दै नाटकीय मोड लियो । राजदूतावासका उपनियोग प्रमुख आरणले नै ६ अप्रिलमा अर्काे विज्ञप्ति जारी गर्दै निजी कम्पनी मर्जिङ नेपसक्स अध्यक्ष पवन कँडेललाई नै राहत वितरणको संयोजक तोकेर उनीमार्फत नै सहयोग गर्न आग्रह गरे । मूल जिम्मेवारीबाट दूतावास पछि हट्यो । निजी कम्पनीलाई किन यस्तो जिम्मेवारी दिनु भयो भन्ने वीनेपालीको जिज्ञासामा उपनियोग प्रमुख आरणले मर्जिङ नेपसक्स निजी कम्पनीभन्दा पनि विश्वासिलो संस्थाका रुपमा रहेको दावी गरे । ‘दुई /तीन वटा कार्यक्रममा हामी सहभागी भैसक्यौं’, आरणले भने, ‘विद्यार्थीसँग नजिक भएर काम गरेको अरु संस्था युकेमा छैन् । पवन कंडेललाई विश्वास गरौं र हातेमालो गरी विद्यार्थीका समस्या समाधान मिलेर गरौं ।’ विद्यार्थीहरुको लगत संकलनमा कडेलको भूमिका जत्ति नै प्रसंसा गरेपनि कम हुन्छ । त्यो नै उसको परीक्षण भने होइन ।
तर, कोभिड १९ बाट पीडित विद्यार्थीलाई कुनै निजी कम्पनीको अध्यक्षमार्फत सहयोग गर्न लगाउनु राजदूतावासको परिपक्व निर्णय होइन । दूतावास र त्यसको नेतृत्व गर्ने राजदूत डा. दुर्गावहादुर सुवेदी व्यक्ति होइन अभिभावक हो । डिप्लोम्याट करियरबाट राजदूतको भूमिका निर्वाह गरिरहेका सुवेदीले नेपाली संघसंस्थाहरुका उद्घाटन, पानसमा बत्ती अनि वाइन टोस्ट हजारौंपटक गर्दै कामको प्रसंसा गरेको धेरै भएको छैन । अभिभावकको भूमिकामा संघसंस्थाहरुमा पुगेर प्रसंसा गर्न भ्याउने राजदूतले संकटको घडीमा तिनै संस्थाहरुलाई पैसा सहयोग मागे । तर विषम परिस्थितिमा काम चाहिँ निजी कम्पनीलाई दिए । मार्च पहिलो साता उपनियोग प्रमुख आरणले एनआरएनए युकेको अल्डरसटमा भएको कार्यक्रममा प्रसंसासहितको भाषणका भिडियो अहिले पनि सामाजिक संजालमा भेटिन्छ । हो, अल्डरसटमा एनआरएनए युके कार्यक्रम बारेमा उनीहरु स्वयं विभाजित थिए ।
आर्थिक पारदर्शिताको प्रश्न उठाउँदै एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्तलाई कालो झण्डा समेत देखाए । कुनै पनि संस्थामा यस्तो अवस्था आउनु हुन्न । त्यस्ता विवादका कयौँ कार्यक्रममा स्वयं अभिभावक राजदुत सुवेदी जानु भएको छ । यस्ता कुराले सामाजिक कार्यमा अर्थ राख्छ भने अभिभावकले भन्न सक्नु पर्छ आर्थिक पारदर्शिता नभएका संस्थाहरुलाई दूताबासले पत्याउँदैन । अभिभावकका रुपमा रहेका राजदूत सुवेदीले समुदाय संकट परेको बेला कुटनीतिज्ञको रुपमा प्रस्तुत हुन पाईदैन । अभिभावक बनेर समस्या समाधान गर्नुपर्छ । एक जना एनआरएनए पदाधिकारीले महामहिमको मन दुख्ने गरी खेद प्रकट गरेर सामाजिक संजालमा लेख्नु भएको थियो । त्यो कदापि राम्रो मान्न सकिन्न । सहयोग गर्नेहरुको सम्मान पदीय हैसियतमा बसेको मानिसले झन् धेरै गुर्नपर्छ । यस्तो कुरा लेख्न मिल्दै मिल्दैन । आर्थिक विवादकै कारण एनआरएनए युके यो अवसरबाट बंचित भएको हो भने आर्थिक पारदर्शिता भएका संस्थाहरु मध्ये एक छान्नु पर्छ । सामाजिक संस्थाको विकल्प निजी कम्पनी हुन सक्दैन । यदि यस्तो होइन भने समुदाय संटकमा परेको बेला राजदूताबाससँग सहकार्य गर्ने यत्रो ठूलो जिम्मेवारी किन एनआरएनए युकेले पाउन सकेन ? नेतृत्व माथि प्रश्न खडा भएको छ । एनआरएनए युके र यसको नेतृत्वले पनि आफ्नो भूमिका खोज्न र जिम्मेवारी वहन गर्न सक्नुपर्छ । संघसंस्थाहरुको छाता संगठन मै हुँ भनेर स्वत भूमिका आउने होइन । क्षमता पनि देखाउनु पर्छ । नत्र एनआरएनए युकेको भूमिका यस्ता निजी कम्पनीले क्षणभरमै खोस्न सक्छन् ।
दूताबासले आफूलाई सजिलो हुने व्यक्ति हेर्नु हुँदैन । जबकि दूतावासले जिम्मेवारी दिएको एक दिनअघि अर्थात ७ अप्रिलमा मात्रै मर्जिङ नेप्सक्स औचपरिक रुपमा बेलायतमा दर्ता भएको थियो । यस्तो कम्पनीलाई यत्रो ठूलो जिम्मेवारी किमार्थ दिन मिल्दैन । हो कंडेलले गरेको राम्रो कामको सम्मान गर्न मिल्छ ।
तर, करीब डेढ लाख नेपालीको अभिभावकत्व ग्रहण गर्नु भएका महामहिमज्यू तपाई जिम्मेवारीबाट पन्छिन मिल्दैन । तपाई आफैँले जिम्मेवारी लिनुपर्छ अनि मात्र दुखमा परेका भाइबहिनी विद्यार्थीले निस्पक्ष सहयोग पाउन सक्छन् । नत्र, एउटा गलत परम्परा बस्छ । दुताबासको निर्णय आज आउछ भोलिपल्ट संस्था दर्ता हुन्छ । आगामी दिनमा यस्तो नजिर बस्न नदिउँ । कोर्स करेक्सन गरौं । त्यसैमा अभिभावकको सम्मान हुन्छ र समुदायले ढुक्कसँग हात फुकाएर सहयोग गर्छ ।