कोरोनाका नाममा एनआरएनभित्र जथाभावी आर्थिक संकलन गर्न रोक !

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईइएस) ले (कोभिड -१९) राहतकोष कार्यविधि बनाउँदै मनपरि आर्थिक संकलनमा रोक लगाएको छ ।

एनआरएनएका नाममा विषयगत समितिहरु तथा पदाधिकारीहरु स्वयंले आर्थिक संकलन तीव्र पारेपछि कार्यविधि बिहीबारबाटै लागू गरिएको हो । कार्यविधिमा ‘आईसीसी वा एनसीसीले स्थापना गरेको राहत कोष बाहेक संघ वा संघको विभाग, समिति, उपसमिति वा कार्यदलको नाममा छुट्टै किसिमले सहयोग रकम संकलन गर्न पाईने छैन’ भन्ने उल्लेख छ ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले कार्यविधि बनाउँदै गर्दा कार्यकारी सचिवालयमै रहेका कतिपयले आर्थिक संकलन तीव्र पार्दा पनि संघको नेतृत्वले रोक्न सकेको थिएन । ‘कोभिड- १९’ पीडितलाई सहयोगका नाममा उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशीले अमेरिकामा आर्थिक संकलन गरिरहेका छन् ।

अमेरिकामै रहेका अर्का उपाध्यक्ष सोनाम लामाले भने जथाभावी आर्थिक संकलनको विज्ञप्ति जारी गरेर विरोध गरेका थिए । सचिवालयले नै निर्देशन जारी गरेपछि सो निर्देशन कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।

एनआरएनएले कोभिड -१९ पीडित नेपालीलाई सहयोग गर्न सबै एनसीसीलाई राहत कोष स्थापना गरी आर्थिक संकलन गर्न कार्यविधि बनाइ दिएको छ । तर, अधिकांश एनसीसीले कार्यविधि आउनु पूर्व नै आर्थिक संकलन सुरु गरिसकेका थिए ।

सचिवालयको निर्णयमा कोरोना भाइरस (कोभिड- १९) बाट पीडितका लागि खर्च गर्न संचालनमा आएको राहत कोष संकलन तथा व्यवस्थाको जिम्मा कोषाध्यक्ष महेश श्रेष्ठलाई दिइएको छ । त्यस्तै, क्षेत्रीय संयोजक र पदाधिकारीहरु रहेको एक समिति निर्माण गरिएको उल्लेख छ ।

कार्यविधिको १० नम्बर बुँदामा संघका पदाधिकारी वा संघमा संलग्न व्यक्तिहरुले चन्दा दिनु कर्तव्यभित्र पर्ने भन्दै घुमाउरो भाषामा अनिवार्य सहयोग गर्न सम्झाइएको छ । साथै, बैठकले आर्थिक सहयोगका लागि बैँकको खाता पनि सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय

गैरआवासीय नेपाली संघ कोभिड-१९ राहतकोष (COVID-19 Relief Fund) सम्बन्धी कार्यविधि-२०२०

कोरोना भाईरस (COVID-19) को महामारीबाट पिडित विश्वभर छरिएका नेपालीहरुलाई सहयोग गर्न एक NRNA COVID-19 Relief Fund को स्थापना गरिएको छ । यस कोषको सञ्चालन र व्यवस्थापना यस कार्यविधी अनुसार हुनेछ । यस कार्यविधि संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति ९ अप्रिल २०२०मा बसको बैठकले पारित गरेकोछ र यसै मितिबाट लागू हुनेछ ।

१) यस कोष कोरोना भाईरस (COVID-19) को प्रकोपले प्रभावित पारेका नेपालीहरुको राहतमा केन्द्रित रहनेछ ।

२) यस कोषमा संसार भरी छरिएर रहेका गैरआवासीय नेपालीहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदका अभियन्ताहरु, वर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्यहरु, पञ्जीकृत सदस्यहरु, शुभचिन्तकहरु, स्वदेशी तथा विदेशी परोपकारी व्यक्ती तथा संघ सँस्थाहरुको सहयोग रहनेछ ।

३) यस कोष संघको मानव तथा समाजल्याण विभागको मातहतमा रहनेछ ।

४) कोष संकलन तथा व्यवस्थापन गर्न कोषाध्यक्षको संयोजकत्वमा क्षेत्रीय संयोजक र पदाधिकारीहरु रहेको एक समितिको निर्माण गरिएकोछ (अनुसूची १) ।

५) दाताहरुले निम्न दुई किसिमले यस राहतकोषमा रकम सहयोग गर्न सक्नेछन् ।

क) संघले सञ्चालन गरेको अनलाईन प्रणाली मार्फत क्रेडिट वा डेविट कार्डबाट
www.nrna.org/donate
ख) संघको नेपालमा रहेको निम्म बैंक खातामा जम्मा गरेर
Bank Name: Sanima Bank Limited
Branch Name: Alakapuri, Kathmandu
Account No.: 024010510000034
Beneficiary: NRNA EMERGENCY FUND
Swift Code: SNMANPKA

६) राष्ट्रिय समन्वय परिषदहरुले एक कार्यविधी बनाई कोषको स्थापना गर्न सक्नेछन् । दाता र कोषको वित्तिय विवरण अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्नु पर्नेछ । राष्ट्रिय समन्वय परिषदको आधिकारीक बैंक खाताबाट कारोबार गरेको हुनु पर्नेछ । संघको बैंकखाता खोल्न स्थानीय कानूनले नदिएको अवस्था संघसँग पुर्व स्विकृत लिएर वैकल्पिक व्वस्था गर्न सकिनेछ ।

७) आवश्यकता अनुसार कोष संकलन गर्नका लागि कोषाध्यक्ष संयोजक रहेको मूल समिति अन्तरगत क्षेत्रीय स्तरमा समितिहरु निर्माण गर्न सकिनेछ । एउटा क्षेत्रमा एउटा मात्र क्षेत्रीय समिति रहनेछ । तर रकम संकलन दाताहरुबाट सिधै अन्तर्राष्ट्रिय समितिले व्यवस्था गरेको बैंकखाता वा अनलाईन प्रणालीबाट गर्नु पर्नेछ । छुट्टै बैंक खाता वा व्यक्तीको बैंक खातामा जम्मा गर्न पाईने छैन् । क्षेत्रीय समितिको संयोजक क्षेत्रीय संयोजक वा निजको तोकेको व्यक्ती हुनेछ ।

८) क्षेत्रगत रुपमा बनेका समितिहरुको पहलमा उठेको रकम सम्वन्धित क्षेत्रमा रहेका पिडित नेपालीहरुका सहयोगका लागि खर्च गरिने छ । कुनै एक क्षेत्रबाट अर्को क्षेत्रमा रकमान्तर गर्न परेमा पदाधिकारीको बैंठकले निर्णय गरे बमोजिम हुनेछ ।

९) अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोष एक अर्काका परिपुरक भएकाले दाताहरुले ईच्छा अनुसार एक वा दुबै कोषमा सहयोग गर्न सक्नेछन् ।

१०) संघका पदाधिकारी वा संघमा संलग्न व्यक्तीहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद वा राष्ट्रिय समन्वय परिषदले स्थापना गरेको राहत कोषमा सहयोग गर्ने कर्तब्य हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदले गरेको माथि उल्लेखित व्यवस्था बाहेक संघ वा संघको विभाग, समिति, उपसमिति वा कार्यदलको नाममा छुट्टै किसिमले सहयोग रकम संकलन गर्न पाईने छैन् ।

११) अन्तर्राष्ट्रिय समन्वय परिषदले व्यवस्था गरेको अनलाईन प्रणाली वा बैंकखातामा सहयोग गर्ने दाताको नामावली संघको आधिकारीक वेभपेज वा फेसबुकमा नियमित रुपमा प्रकाशन गरिनेछ । आफ्नो नाम प्रकाशन गर्न नचाहने दाताहरुको लागि स्वही अनुसार व्यवस्था गरिएको छ ।

१२) संघले नेपाल सरकारलाई COVID-19 बाट बच्ने सुरक्षाका सामाग्री र COVID-19 जाँच्ने उपकरण प्रदान प्रवन्ध मिलाईएकोले बाहेकको रकम बाहिर बस्ने नेपालीहरुको लागी खर्च गरिनेछ ।

१३) यस राहतकोषबाट COVID-19 को संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री, दैनिक जिविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएमा अन्त्यष्टी, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने लगायत शिर्षकमा सहयोग गर्न सकिनेछ । संक्रमणको विकसित अवस्था र संकलित रकमको अवस्था हेरी यस सम्वन्धि विस्तृत कार्यविधी निर्माण गरिनेछ ।

१४) COVID-19 संक्रमणबाट बच्ने सुरक्षाका सामाग्री किन्नु पर्ने भएमा (यस कोषको रकम खर्च गरी) संघको लजिष्टिक समितिसँग परामर्श गर्नु पर्नेछ ।

१५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदहरुले गरेको आर्थिक र अन्य सहयोगलाई मौद्रिकमुल्यमा रुपान्तर गरी यसको विवरण प्रकाशन गरिनेछ ।

१६) COVID-19 Relief Fund मा रकम बाँकी रहेमा सो रकम अन्तर्राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ । राष्ट्रिय समन्वय परिषदले उठाएको रकम राष्ट्रिय समन्वय परिषदको कल्याणकारी कोषमा संकलन गरिनेछ ।

१७) COVID-19 संक्रमणबाट विकशित परिस्थितिलाई हेरी संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालयले यस कार्यविधीलाई संशोधन गर्न सक्नेछ ।

९ अप्रिल २०२०
गैरआवासीय नेपाली संघ

प्रतिक्रिया

सम्बन्धित सामाग्री