एम्बुलेन्स बोलाउँदा बोलाउँदै बिते शिवोनारायण

शिवोनारायण गुरुङ

लण्डन । पूर्व गोरखा सैनिक शिवोनारायण गुरुङको बुधबार निधन भएको छ ।
९५ वर्षीय गुरुङको बेलायतको नट्टिघमस्थित आफ्नै  निवासमा निधन भएको हो ।
ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमका महासचिव होमबहादुर गुरुङका अनुसार बुधबार बिहान शिवोनारायणको कोठाबाट अलि फरक आवाज आएपछि उनका ज्वाइँ उनलाई हेर्न गएका थिए । उनलाई असजिलो भएको देखेपछि ज्वाइँले ‘अब म एम्बुलेन्स बोलाउँछु मामा, अब अस्पताल गएर जाँच गर्नुपर्छ’ भन्दा शिवोनारायणले ‘मलाई केही भएको छैन, एम्बुलेन्स बोलाउनु पर्दैन’ भनेका थिए । तैपनि ज्वाइँलाई लाग्यो एम्बुलेन्स बोलाएर एकपटक जाँच गरौँ । ज्वाइँले फोन गर्दागर्दै यता शिवोनारायणले देह त्याग गरे ।
उनलाई केही दिनअघि ज्वरो आए पनि उनी कोरोनाको हल्ला चलेपछि घरबाहिर निस्केका थिएनन् । सचिव गुरुङका अनुसार उमेर निकै धेरै भए पनि शिवोनारायण  शारीरिकरुपमा तन्दुरुस्त र बोली अत्यन्तै टाठो थियो ।
फस्ट टेन गोरखा राइफल्सका शिवोनारायणको आर्मी नम्बर २११३९८७५ छ । उनी स्थानीय ब्रिटिश गोरखा एक्स सर्भिसमेन्स सोसाइटी नट्टिघमको ज्येष्ठ सदस्य थिए ।
उनको पुर्ख्यौली घर ओलखढुंगा रुम्जाटार रहेको छ । उनका ४ भाइ छोरा र ४ बहिनी छोरीमध्ये तीन भाइ छोरा, दुई छोरी बेलायतमै छन् । उनी विगत १० वर्षदेखि युकेमा बसोबास गर्दै आएका थिए ।
उनको मृत्युको कोरोना कारण हो कि होइन भन्ने सोमबार रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएको छ ।
उनी एक महिना यता बेलायतमा बित्ने करिब तीन दर्जन नेपालीहरुमा सबैभन्दा ज्येष्ठ हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री