कसरी हुँदैछ कोरोनाविरुद्ध खोपको मानिसमा परीक्षण

लण्डन । कोरोना भाइरस विरुद्ध बनाइन लागेको खोपको मानिसमा परीक्षण आजदेखि युकेमा शुरु हुँदैछ ।

यहाँकाे राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले परीक्षणमा भाग लिन इच्छुक स्वयंसेवकका लागि आह्वान गरेको छ । यसरी भाग लिने स्वयंसेवकलाई पैसा दिइने पनि बताइएको छ । स्काइ न्युजका अनुसार यसरी परीक्षणमा सहभागी हुनेले ६२५ पाउण्डसम्म पाउन सक्ने छन् ।

सरकारले युकेका अति प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेज लण्डनलाई खोपको विकासका लागि २० मिलियन/ २० मिलियन पाउण्ड बजेट दिएको छ । ती दुईमध्ये अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको मानवमा परीक्षण बिहीबार शुरु हुन लागेको हो ।

ChAdOx1 nCoV-19 नाम दिइएको खोप चिम्पाज्नीमा रहेको भाइरसबाट तयार गरिएको हाे । अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर सेरा गिल्वर्ट भन्छिन् ‘मे महिनाकाे बीच सम्ममा करिब ५०० मानिसमा यो खोप परीक्षण गरिने छ ।’

परीक्षणमा १८ देखि ५५ वर्षसम्मका राम्रो स्वास्थ्य भएका व्यक्तिहरु समावेश गरिने विश्वविद्यालयले जनाएको छ ।

परीक्षण व्रिष्टोल चिल्ड्रेन्स भ्याक्सिन सेन्टर, युनिभर्सिटी हस्पिटल साउथह्याम्पटन र इम्पेरियल कलेज लण्डनमा गरिने छ । लण्डनमा हुने परीक्षणमा उत्तर पश्चिम लण्डन, पश्चिम लण्डन र दक्षिण पश्चिम लण्डनबासीले भाग लिन पाउने छन् ।

यसैगरी अक्सफोर्ड भ्याक्सिन सेन्टरमा थेम्स भ्याली क्षेत्रमा बसोबास गर्नेहरुले परीक्षणमा भाग लिन पाउने छन् तर सो क्षेत्रमा हालसम्म स्वयंसेवक छनोट गरिएको छैन ।

खोप परीक्षणमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएकाहरुले भाग लिन पाउने छैनन् । त्यस्तै कोभिड १९ बाट अति जोखिम स्वास्थ्यवस्थामा रहेका व्यक्ति बसेको घरमा बस्नेहरुले पनि भाग लिन पाउने छैनन् । गर्भवती भइसकेका र गर्भवती हुने चाहना राखेका तथा नवजात बच्चाहरुलाई दुध खुवाइरहेकाहरुलाई पनि परीक्षणमा सामेल गरिने छैन । यसअघि परीक्षणमा भाग लिइसकेका र अरु प्रकारका कोरोना भाइरसको खोप लिइसकेकाहरु पनि परीक्षणमा योग्य हुने छैनन् ।

विश्वविद्यालयले कस्ता व्यक्तिले परीक्षणमा भाग लिन पाउने भन्नेबारेमा सूची नै तयार पारेको छ । पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस

अनुसन्धाताहरुले परीक्षणमा १ हजार ११२ जना स्वयंसेवक भर्ना गर्ने योजना बनाएका छन् । जसमध्ये ५६१ जनालाई ChAdOx1 nCoV-19 खोप लगाइने छ । बाँकी ५५१ जनालाई कन्ट्रोल खोप दिइने छ । खोप परीक्षणका लागि ९० मिनेट लाग्ने बताइएको छ । फलोअपका लागि २० मिनेट लाग्ने बताइएको छ ।

परीक्षण छ महिनामा सकिने योजना छ । परीक्षणमा भाग लिएका स्वयंसेवकले परीक्षणका क्रममा चारदेखि १२ पटकसम्म परीक्षण केन्द्र जान पर्ने हुनसक्छ ।

परीक्षणमा भाग लिने स्वयंसेवकलाई अक्सफोर्ड विश्वविद्यालयले उनीहरुको समय, यात्रा र योगदानका लागि प्रतिव्यक्ति २३५ पाउण्ड दिने बताएको छ भने एम्पेरियल कलेज लण्डनले १९० देखि ६२५ पाउण्ड दिने बताएको छ ।

अनुसन्धानकर्ताहरुले खोपको परीक्षणबाट प्राप्त हुने ज्ञानले कोभिड१९ विरुद्ध खोप बनाउन मद्दत गर्ने विश्वास लिएका छन् । अक्सफोर्ड विश्वविद्यालयले परीक्षणमा भाग लिँदा सीधा फाइदा नहुने तथापि परीक्षणमा भाग लिन पूर्व पूर्ण स्वास्थ्य परीक्षण गरिने बताएकाे छ ।

परीक्षणमा भाग लिँदा हुनसक्ने असरका बारेमा विश्वविद्यालयले हल्का पीडा हुन सक्ने, नमूनाका लागि रक्त संकलन गरिएको ठाउँमा दर्खर्याउन सक्ने, खोप दिइएको ठाउँमा हल्का रातो र सुन्निन सक्ने, खोप लगाएको २४ घन्टासम्म फ्लुको लक्षण देखिन सक्ने तर ४८ घन्टामा सबै सामान्य हुने बताएको छ ।

परीक्षणमा भाग लिने स्वयंसेवकहरुले यदि मन परिवर्तन भएमा जतिबेला पनि जुनसुकै कारणबाट आफू बाहिरिन सक्ने बताएको छ । यसरी बाहिरिने व्यक्तिहरुलाई पनि  स्वास्थ्य जाँच गर्नपर्ने बताइएको छ ।  परीक्षणमा भाग लिन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस

उता इम्पेरियल कलेज लण्डनले बनाउन लागेको खोपको मानव परीक्षण भने जुन महिनामा हुने बताइएको छ । तर सो प्रयोजनका लागि अहिले स्वयंसेवक आह्वान गरिएको छैन । कलेजले फेब्रुअरीमा जनावरमा सो खोपको परीक्षण गरेका थियो ।

मानव परीक्षणबाट सेप्टेम्बरसम्ममा नतीजा आउने अनुसन्धाताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री