दु:ख

एउटी नारीले आफ्नो सन्तानलाई नौ महिनासम्म गर्भमा राख्ने दु:ख पीडा स्वीकार गर्थिनन् भने मानवको जन्म कसरी सम्भव थियो होला र ?  दु:ख, आखिर दुख नै हो सानै किन नहोस् । प्रकृतिको शाश्वत सत्य हो दु:ख। दु:ख स्वीकार गर्ने कुरा हो भने सुख स्पर्श गर्ने कुरा हो । दुख सत्य हो भने सुख क्षणिक हो । दु:ख पहाडको उचाई हो भने सुख समतल मैदान हो । दु:ख स्वाभिमान हो भने सुख अभिमान हो । दुख थोपा थोपा गरी जम्मा भएको सागर हो भने सुख वर्षायाममा  आउने भेलबाढी हो । दु:ख सृष्टि हो भने सुख दृष्टि हो ।

कतिपय अवस्थामा दु:खमा न दया हुन्छ न करुणा  न माया हुन्छ न प्रेम स्नेह, न उत्साह न उमङ्ग, न रमाइलो न हाँसोखुशी । हुन्छ त केवल पीर ब्यथा, वेदनाहरु, डरत्रास, भय तनाव, पीडा कष्ट, अस्तब्यस्त । तसर्थ, दु:ख सबैको जीवनमा छ मात्र दु:खको प्रकृति फरक छ। संसारका प्रत्येक मान्छेसङ्ग दु:ख पीडाहरु छन् । झन् यो समयमा संसारका मानिसहरुले भोगेको दु:ख कष्ट एउटै र उस्तै छ। म कोरोनाको कष्टबाट अलग छु, मलाई  दु:ख छैन भनेर एकजना मान्छे मात्र अलग होस्…… सायदै त्यस्तो नहोला । दु:ख जहाँ जतिबेला जसरी पनि जुन अवस्थामा पनि जुन उमेरमा पनि,जुनै समयमा, जुन मौसम,  जुन भौगोलिकतामा पनि, जुन मानसिकतामा पनि, जे गरेर भए पनी  कुनै न कुनै बहाना बनाएर बिना चाहना बिना स्वीकृति इच्छा आकांक्षा विपरीत मान्छेको जीवनमा प्रवेश गरिदिन्छ  दु:ख । दु:खको कुनै सीमा र हद हुँदैन । यसको कुनै कानुन र दायरा हुँदैन । मान्छे एउटा हदमा पुग्दा दु:खले टुट्छ, फुट्छ, छरपष्ट हुन्छ, समाल्न नसक्ने गरि पोखिन्छ, ठोकिन्छ, हिँड्दै गरेका पाइलाहरु रोकिन्छ । हाँसो खुशीहरु क्षण भरमै आँसुमा परिणत भइदिन्छ । एउटा मान्छेको जीवनमा दु:खका पहाडहरु यसरी खस्छ, दु:खका बज्रपातहरु यसरी बज्रन्छ,सारा आकाश खस्छ, धर्ती फाट्छ, मान्छे क्षतबिक्षत भएर टुक्रिन्छ, सबै सकिन्छ मान्छेको जीवनमा । शुन्यतामा पुग्छ मान्छे । मान्छेको बांच्न पाउने अधिकार खोसेर मृत्युको मुखसम्म पुर्याउछ दु:खले ।

कुनै न कुनै तरिकाले अन्तरआत्मा दुखिरहन्छ, बल्झिरहन्छ, चर्किरहन्छ । तर सारा खुशीहरु बर्बाद भएर पनि मान्छे बाँचिरहेको हुन्छ । सारा सुखहरु प्राप्त गरेर पनि मान्छे पलपलमा मरिरहेको हुन्छ । किनभने सुख प्राप्त भएपनि मान्छे खुशी हुन सकेको हुँदैन। संसारमा मान्छे सम्पूर्ण तरिकाले सुखी र खुशी छु भन्ने अवस्थामा कमै भेटिएला । कसैलाई सन्तानको दु:ख, कसैलाई साइनो र सम्बन्धको दु:ख, कसैलाई धनसम्पतिको दु:ख, कसैलाई मायाप्रेम स्नेह र सद्भावको दु:ख, कसैलाई शिक्षा, ज्ञान, वुद्धि, विवेकको दु:ख, कसैलाई म नै सर्बेसर्वा हुँ भन्ने घमण्डको दु:ख, कसैलाई रुपरङ्ग र सुन्दरताको दु:ख, कसैलाई मानसम्मान पद प्रतिष्ठाको दु:ख । कसैको बाबुआमा छैनन् । कसैको सन्तान छैनन् । कसैको आफन्तहरु छैनन् । कोही धनले दुखी छन त कोही मनले दुखी छन् । कोही धन मन  दुवैले दुखी छन् । कसैले संसारलाई जिते, तर आफू आफैँसङ्ग हारे। कसैले संसारसङ्ग हारे, तर आफूले आफैँलाई जिते । कोही पाएर पनि दुखी छन् त कोही नपाएरै पनि खुशी छन् ।

भौतिक सुख सुविधाहरु प्राप्त गर्न सके सुख मिल्छ भन्नेहरु पनि प्राप्त गरेपछि पनि दुखी छन् । यद्यपि दु:ख पर्नु, दु:ख हुनु र दु:ख मान्नु, दुखी हुनु फरक फरक कुरा हुन। हामीमा दुख्ने कुराहरु, हामी लाई दु:ख हुने कुराहरु, हामीलाई दुखी बनाउने माध्यमहरु कयौं छन। हाम्रा असीमित चाहनाहरु, पूरा हुन गार्हो हुने सपनाहरु, मनमा उत्पन्न हुने अनगिन्ती भावनाहरु, हाँसोखुशी, हर्षोउल्लास, उत्साह उमंगहरु, साइनो र सम्बन्धहरु, सस्कार र सँस्कृतिहरु, यी र यस्ता थुप्रै सुखद क्षणहरु हाम्रै वरिपरि घुमिरहन्छन्, डुलिरहन्छन् कतै खुशी भेटिन्छ कि भन्ने बहानामा ।

हाम्रा दैनिक क्रियाकलापहरु, बोलिचाली, व्यवहार, शिल, स्वभाव, हाम्रो जीवनशैली, जीवन जिउने तरिकाहरु, इज्जत, आचरण, शिष्ट सभ्य,अनुशासित, मानसम्मान, पदप्रतिष्ठा आदिइत्यादि सम्पूर्ण कुराहरु एउटा मान्छेको जीवनमा यसको भूमिका महत्वपूर्ण र अपरिहार्य छ । कहिँकतै अलिकति पनि तालमेल नमिलेर असान्दर्भिक, अस्वाभाविक र अब्यबहारिक हुन गयो भने पनि दु:ख उत्पन्न भइहाल्छ । मानौँ, यिनै कुराहरुको सेरोफेरोमा दु:खले आफूलाई केन्द्रित गरिरहेको हुन्छ । कतिबेला मौका मिल्छ मानिसलाई आक्रमण गरिहाल्छ दुखले।

एउटा मान्छेको जीवनको सम्पूर्ण कालखण्डमा दु:खका विभिन्न भोगाइहरु हुन्छन् । समय र उमेर अनुसार दु:खले आफ्नो स्वरुप बदल्दै जान्छ । मानिसले जीवनमा कसैले पनि दु:ख स्वीकार गर्दै गर्दैन । तर सत्य यो पनि हो मानिस दु:ख बाट भाग्न पनि सक्दैन । यति हुँदै गर्दा कहिले काहीँ  दु:ख सम्झिँदा मीठो लाग्छ, प्यारो लाग्छ, त्यही दु:खको कारण यो सुख र खुशीहरु प्राप्त भयो भन्ने आत्मीय आनन्द मिल्छ मान्छेलाई । यतिसम्म कि माया पनि दुखको एउटा अंश हो । जसले अन्तरआत्मादेखि चोखो प्रेम गर्छ, निश्चल माया गर्छ खासमा उ पनि दुखी नै हुन्छ, किन कि प्रायः चोखो प्रेम एकतर्फी नै हुन्छ अनि यसले चोखो प्रेम गर्नेलाइ पलपलमा दुखाउँछ, पलभरमा रुवाउँछ ।

किन त्यस्तो भयो होला ? किनभने सत्य कुराको जरा जहिले पनि दु:खको माटोमै उम्रन्छ, हुर्किन्छ, बढ्छ, अन्तत्वगत्वा कालान्तरमा सुखको खुशीको फल उपलब्ध गराइदिन्छ । दु:ख ढुङ्गाको कापबाट निस्कने पीपल जस्तै हो ।  दु:खले मान्छेलाइ निडर, स्वाभिमानी, बलियो र आत्मानिर्भर बनाउँछ । दु:खले हरेक समस्याहरुको सामना गर्न सक्ने सामर्थ्यको उर्जा भरिदिन्छ मान्छेमा । आज संसारका सफल र उत्कृष्ट मानिसहरुको पछाडि दु:खका अनेकन कहानीहरु छन् ।

दु:खका ती भयानक उचाईहरु पार गर्दै विश्व जगतलाई उनीहरुले दिएको  योगदान महत्वपूर्ण र अतुलनीय छ । दु:खबाट मानिसले आफूलाई बचाएर, सम्हालेर बिस्तारै उठ्छ, जुट्छ अनि त्यही दु:खमा  सहनशीलताको अपार क्षमता लुकेको हुन्छ र जसले दु:खलाइ स्वीकार गरेर आफूलाई धैर्यवान राख्न सक्छ, आफूलाई पोखिनबाट टुट्न र फुट्नबाट जोगाउँछ वास्तविक सुख त्यही प्राप्त हुन्छ । दु:खमा धैर्यता र सहनशीलता अपरिहार्य छ । मात्र दु:खमा आफ्नो मनमस्तिष्क र भावनालाई समाल्न सक्नुपर्छ । आफूभित्र सकारात्मकताको क्षमतालाई परिस्कृत गर्न सक्नुपर्छ ।

आज संसार कोरोना भाइरसको दु:खको कारण लकडाउन भएको छ । बच्नु र बचाउनु सिबाय अरु हाम्रो सम्पूर्ण मानवीय क्रियाकलापहरु ठप्प भएका छन् । दैनिक बाँच्नको लागि सुरक्षित हुनु सिवाय अरु हामीसङ्ग कुनै विकल्पै छैन । मानौ ढुङ्गे युग जस्तै । समय समयमा प्रकृतिले  मान्छेलाई असोचनीय र अकल्पनीय तरिकाले दुख पीडा दिँदै आएको इतिहास विश्व मानवसामू छ । यस बिचमा हामीले सहनशील भएर संयमता र धैर्यता अपनाउँदै अँध्यारो रातपछि स्वर्णिम बिहानको मिर्मिरे उज्यालोमा उषाका किरणहरु स्पर्श गर्ने पर्खाइमा हामी आत्तिनु हुँदैन, बिचलित हुनु हुँदैन ।

फेरि पनि हामी माझ, हाम्रोसामू रमाइला दिनहरु छिट्टै आउनेछन् । हामीले हाम्रो बाँच्न पाउने अधिकार छिट्टै प्राप्त गर्नेछौ । तर हामीले आफू रमाउँदा अरुलाई दुखी बनाउने, हामी खुशी हुँदा अरुलाई रुवाउने, हामीले आफ्नो बाँच्ने अधिकार खोज्दा अरुको बाँच्न पाउने अधिकार नखोसियोस्, यही प्रण गरौं । यही प्रार्थना गरौं कि सृष्टिका कुनै पनि प्राणीलाई दुख कष्ट नहोस् । कोरोनाबाट हामीले मानव स्वास्थ्यको साथमा  मानवीय विचार, ब्यवहार, आचरण, जीवन बाच्ने शैलीको अद्भुत ज्ञान प्राप्त गर्दै मानव हितमा सम्भावनाका अनगिन्ती ढोकाहरु खुल्ने निश्चित छ ।

काठमाडौ, नेपाल

प्रतिक्रिया

सम्बन्धित सामाग्री