काममा फर्किए ब्रिटिश प्रधानमन्त्री जोन्सन

लन्डन  (जीएनएन) कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एक महिना लामो उपचार र आरामपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किएका छन् । प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस संक्रमणका कारण अहिले युके अत्यधिक जोखिममा रहेको भन्दै बन्दाबंदीका कारण धैर्य नगुमाउन देशवासीहरुलाई अपिल पनि गरे । देशले विश्वयुद्धपछि सबैभन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै उनले कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भूमिका खेल्ने सबैको योगदानको प्रशंसा गरे ।
अस्पतालहरुमा अत्यावश्यक औषधिहरुको अभाव भैरहेको, सरकारले भने अनुसार टेस्टीङ्ग गर्न नसकेको, अर्थतन्त्रलाइ चलायमान बनाउन ठोस योजना नल्याएको आदि आलोचना भैरहेका बेला प्रधानमन्त्री जोन्सन काममा फर्केका हुन् । तर उनले तत्काल लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना नरहेको बताए। ‘मलाई थाहा छ यो कठिन छ । म हाम्रो अर्थतन्त्र सकेसम्म छिटो सुचारु होस् भन्ने चाहन्छु। तर म सबै बेलायती जनताले अहिलेसम्म गरेको त्यागलाई खेर जान र महामारीको दोस्रो पिक आउन दिन चाहन्न,’ उनले भने । स्थितिमा सुधार आएपछि ‘लकडाउन’ कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारले पारदर्शी रुपमा सबैलाई जानकारी गराउने पनि उनले बताए । गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका ५५ वर्षीय प्रधानमंत्री जोनसनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’ मा राखिएको थियो ।
अप्रील १२ मा डिस्चार्ज भए यता उनी बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गर्दै आएका थिए । नेपालकी राष्ट्रपति विद्या भण्डारी तथा प्रधानमन्त्री के पी शर्मा ओलीले छुट्टाछुट्टै संदेश पठाइ प्रधानमन्त्री जोनसनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पब्लिक हेल्थ इंगल्याण्डका अनुसार शनिवार, २५ एप्रिलसम्ममा ब्रिटेनमा १५२,८४० जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएकोमा २०,७३२ जनाको ज्यान गैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री