एनआरएनए यूकेद्वारा राहत वितरण


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बेलायतमा कोरोनाको कारण सृजित समस्यामा परेकाहरुलाई राहत तथा सहयोग उपलब्ध गराउन शुरु गरेको छ । राहत वितरणको पहिलो चरणमा बेलायतमा अध्ययनरत ३० जना नेपाली बिद्यार्थीहरुलाई आवश्यक खाद्यान लगायतको राहत घरमै पुर्याएको हो ।

राहत पाउनेमा बर्मिङघम यूनिभर्सिटी, हडर्सफिल्ड यूनिभर्सिटी, यूनिभर्सिटी अफ लंकास्टर, कम्ब्रिया यूनिभर्सिटी लगायत लिभरपुल, वुल्भरह्याम्पटन, वेल्स र लन्डनका बिद्यार्थीहरुलाई दाल, चामल, तेल जस्ता अत्यावश्यक सामाग्री वितरण गरिएको महासचिव फडिन्द्र भट्टराईले जनाए ।

एनआरएनए यूके सचिव जित रानाभाटका अनुसार हेल्पलाईनमा प्राप्त १ सय ६० बिद्यार्थीहरुको समस्यापछि पहिलो चरणमा ‘रेड जोन’ मा रहेका बिद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।

एनआरएन यूके मार्फत राहत बाहेक प्राथमिकता रुपमा विद्यार्थीहरुलाई सहयोग र राहतमा यूनिभर्सिटीको आफनै स्रोत प्राप्त गर्न सकिने बारे परामर्श प्रदान समेत गरिएको छ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका नेपालीहरु स्वर्गीय प्रशान्त अर्याल ,घनविर थापा र हरि प्रसाद चोङ्गवाङको  परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । ती बाहेक कोरोनाकै कारण निधन भएको बारेमा एनआरएनए यूकेले दाहसंस्कारमा मात्रै सहयोग गर्ने बताएको छ ।

त्यसैगरी, बेलायतका बिभिन्न ठाउँमा बिशेषत पूर्वगोर्खाको परिवार र वृद्वबृद्धालाई मास्क, सेनीटाईजर, प्यारासिटामोल लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । अल्डरसट, फार्नबरो, रेडिंग, बेजिंगस्टोक र प्लमस्टिडमा वितरण गरिएका सामाग्री अधिकांश दाताहरु बाट निशुल्क प्राप्त भएका थिएन । बिभिन्न क्षेत्रमा गरेर अहिलेसम्म झन्डै ४ सय जनालाई यी सामग्री प्रदान गरिएको एनआरएनए यूकेले जनायो । एनआरएन यूकेको हेल्पलाईनमा आएको अनुरोध बमोजिम कोरोना संक्रमित बिमारीहरुलाई बेलायतमा कार्यरत बिभिन्न डाक्टरहरुसंग सिधै सम्पर्क गराउदै आईरहेको छ ।

सीमीत स्रोत र साधनका बीच एनआरएन यूकेले सिधै आर्थिक सहयोग गर्ने भन्दा पनि सम्बन्धित निकाय तथा अन्य स्रोतबाट प्राप्त गर्न सकिने सहयोगको लागि समन्वय समेत गर्दै आइरहेको छ । समस्यामा परेका बिद्यार्थी तथा सहयोग जरुरी भएकालाई पहिचान गर्दै एनआरएनए यूकेले राहत वितरणलाई पनि तिब्रता दिने तयारी गरेको छ । कोरोना महामारीको वर्तमान संकटपूर्ण अवस्थामा बेलायतमा समस्यामा रहेका नेपालीहरुलाई एनआरएन यूकेले संचालन गरेको हेल्पलाईन मार्फत सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री