भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनःनिर्माणमा सदाचार कार्यक्रम

काठमाडौं । पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन गरेको कार्यक्रमले पारदर्शिता कायम गर्न सहयोग गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सरकार, स्थानीय तह र साझेदार संस्थाबाट भएका पुनःनिर्माण र पुनःस्थापनाका कार्यमा जबाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्ने उद्देश्यले कार्यक्रम भइरहेको टीआइ नेपालका कार्यक्रम अधिकृत शारदा नेपालीले राससलाई जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी सरकारी नीति र कार्यक्रममा पारदर्शिता बढाउने, शैक्षिक संस्थाको पुनःनिर्माण समयमै र गुणस्तरीयरूपमा सम्पन्न गर्ने, पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी र जवाफदेही बनाउन प्रयास गर्ने टीआइ नेपालको उद्देश्य छ ।

यसैगरी पुनःनिर्माणमा नागरिक समाजको संलग्नता र चासो बढाउने, सञ्चार क्षेत्रको सहयोग लिई पुनःनिर्माणसम्बन्धी सूचना सम्प्रेषण गर्ने, पुनःनिर्माणसम्बन्धी वित्तीय प्रतिवेदनमा नागरिक पहुँच बढाउने, व्यावसायिक र नागरिक सङ्घसंस्थाको पुनःनिर्माणसम्बन्धी प्रयास पारदर्शी बनाउन पनि टीआइ नेपालले भूमिका निर्वाह गरेको छ । पुनःनिर्माणसम्बन्धी सेवा प्रवाहमा युवा र विद्यार्थीको संलग्नता बढाउने, पुनःनिर्माणको गुणस्तरमापन गर्न सहकार्य गर्ने र भूकम्पपीडितको गुनासो सङ्कलन र सम्बोधनमा सहजीकरण गर्ने काम १४ जिल्लामा भइरहेको कार्यक्रम अधिकृत नेपालीले बताए ।

कार्यक्रम सञ्चालन गर्न १४ वटै जिल्लामा जिल्ला कार्यालयसहित कार्यक्रम अधिकृतलगायत कर्मचारीको पनि व्यवस्था गरिएको जनाइएको छ । जिल्ला कार्यालय स्थानीय तहका वडास्तरसम्म पुगेर स्थलगतरूपमा अनुगमन गरी काम गरिरहेका छन् । हालसम्म चार लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । थप एक लाख ९० हजार १४५ आवास पुनःनिर्माणको चरणमा छ । अन्तिम किस्ता भुक्तानीका लागि पाँच लाख ६१ हजार ६५० प्रमाणीकरण गरिएको छ । निजी आवास पुनःनिर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जनाएका छन ।

भूकम्पबाट क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४९२ विद्यालय पुनःनिर्माणको क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको छ । एक सय ४१ सम्पदा पुनःनिर्माण भइरहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए । एक हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ को पुनःनिर्माण सकिएको छ । एक सय ४५ स्वास्थ्य संस्था पुनःनिर्माणको चरणमा छन् ।

यसैगरी, ४१५ सरकारी भवनमध्ये ३४९ को पुनःनिर्माण सम्पन्न भएको छ । उन्पचास सरकारी भवन पुनःनिर्माणको चरणमा छन् । सुरक्षा निकायका १९४ संरचनाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाइस वटा पुनःनिर्माणको क्रममा छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण पुनःनिर्माणका काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । आगामी पुसमा प्राधिकरणको पाँच वर्षे कार्यकाल पूरा हुँदै छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री