कोरोनाको अभिलेखमा झण्डै छुटेका हरिप्रसाद

लण्डन । बेलायतमा नेपालीहरुको जनसंख्या अरु आप्रवासीका दाँजोमा धेरै नभए पनि कोरोना भाइरसका कारण निधन हुने नेपालीहरुको अभिलेख कायम गर्नमा भने समस्या देखिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने गोरखाहरुको तथ्याङ्क गोरखा वेलफेयर ट्रष्टले राखेको पाइएको छ भने सबै नेपाली मूलका नेपालीहरुको तथ्याङ्क नेपाली दूताबास लण्डनले राख्ने गरेको छ । तथापि यी दुवैको निकायको सम्पर्कमा नरहेका नेपालीहरुको तथ्याङ्क कतै हराउने त होइन भन्ने चिन्ता पनि शुरु भएको छ । यस्तै एउटा उदाहरण हुन् हरिप्रसाद हुक्पा चोङवाङ ।

लण्डनको फेल्थाममा बसोबासरत चोङवाङ श्वास फेर्न गाह्रो भएपछि अप्रिल ४ तारिखमा वेष्ट मिडलसेक्स अस्पताल आइलवर्थ लण्डनमा भर्ना भए । त्यसको दुई दिनपछि अप्रिल ६ तारिखमा उनको निधन भयो । उनकी छोरीले दिएको जानकारीअनुसार उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको हो ।

पुर्ख्यौली घर तेह्रथुम श्रीजुङ मोराहाङका ६७ वर्षीय चोङवाङको गत नोभेम्बरमा ढाडको शल्यक्रिया गरिएको थियो । लामो समय अस्पताल बसेर उनी फेब्रुअरी १४ मा डिस्चार्ज भएका थिए । नेपाल गएर आराम गर्ने तरखर गर्दागर्दै बेलायतमा लकडाउन शुरु भयो र त्यसको दुई सातामै उनी आफैँ बिते ।

छोरी ज्वाईको साथमा बेलायत बस्दै आएका उनको निधनपश्चात छोरीले सहयोगका गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेमा निवेदन दिइन् । एनआरएनए युकेले ५ सय पाउण्ड सहयोग पनि उपलब्ध गराएको उपाध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।

लण्डनभित्रै भएको यस घटनाका बारेमा करिब तीन साता बित्दासम्म न उनको निधनबारे समाचार आयो न त नेपाली दूताबास लण्डनको रेकर्डमा उनको नाम नै देखियो । एकैपटक एनआरएनए युकेले सहयोग उपलब्ध गराएका व्यक्तिहरुको नामावली सार्वजनिक भएपछि मात्र उनको बारेमा खोजी शुरु भयो । उनी जस्तै विवरण नराखिएका कति नेपाली होलान् ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री