एनआरएनए कार्यसमितिको असहयोगले प्रमुख कार्यकारी अधिकृत दवाडीद्वारा राजीनामा

nrn banar
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यसमितिले असहयोग गरेपछि प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट डा. हेमन्त दवाडीले राजीनामा दिएका छन् । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयको नेतृत्व सम्हालेका डा. दवाडीले एनआरएनएमा आफ्नो नेतृत्व चाहिने वा नचाहिने हो स्पष्ट पार्न नयाँ कार्यसमितिले पटक पटक इमेल गर्दा पनि जवाफ नपाएपछि राजीनामा दिएका हुन् ।

डा. दवाडीको राजीनामा आएको एनआरएनए महासचिव हेमराज शर्माले जानकारी दिए । राजीनामा अघि नयाँ कार्यसमितिले सहयोग भूमिका नखेलको र कार्यालयका कामहरु पेन्डिङ राखेपछि बाध्य भएर राजीनामा दिएको पत्रमा उल्लेख गरेको स्रोतले बतायो । डा. दवाडीले वीनेपालीसँग आफूले हालै राजीनामा बुझाएको पुष्टी गरे । उनको राजीनामासँगै दोहोरो तलबमा गैरआवासीय नेपालीको पैसा खर्च हुनेछैन । तत्कालीन अध्यक्ष भवन भट्टले अर्का सिइओ राजेश राणालाई बर्खास्त गरेर दवाडीलाई नियुक्ति गरेका थिए ।

दवाडीको राजीनामा पछि अब एनआरएनए कार्यालय काठमाडौँमा एउटा प्रमुख कार्यकारी अधिकृत राजेश राणा मात्र रहेका छन् ।यसअघि करिब ३ वर्षदेखि एनआरएनएले दुवै सिईओलाई तलब खुवाउँदै आएको थियो । एनआरएनए स्रोतका अनुसार ५८ वर्षे उमेर हदका कारण डा. हेमन्त दवाडीलाई जनवरी २०२० मै अवकास दिनु पर्ने थियो । तर डा दवाडीले नयाँ नेतृत्वलाई आफूसँग काम गर्न सहज छ वा छैन भन्ने बारेमा प्रश्न सोधेको इमेलको जवाफ महासचिव शर्माले दिएनन् । जसका कारण झण्डै तीन महिना बिना सम्झौता काम गरे । तीन महिनामा पनि कुनै जवाफ नआएपछि डा दवाडीले नयाँ नेतृत्वलाई सहज वातावरणका लागि मार्ग प्रसस्त गर्दै बन्दाबन्दीकै अवस्थामा राजीनामा दिए । उनको राजीनामा विहीबार (अप्रिल अन्तिम)देखि कार्यान्वयनमा आउनेछ । अर्का सिईओ राणाले भने ५८ वर्षे उमेर हदका कारण श्रम ऐन अनुसार २०२१  मे महिनासम्म काम गर्न पाउँछन् ।

यसैबीच पूर्वकार्यकारी निर्देशक राजेश राणालाई संघद्वारा आर्थिक अनियमितता प्रकरणमा स्पष्टीकरण सोधिएको छ । गैरआवासीय नेपाली संघको नेतृत्व अध्यक्ष कुमार पन्तले सम्हालेपछि गरिएको विस्तृत आर्थिक लेखा परिक्षण (डिडिए) ले लाप्राक र एनआरएनए भवन निर्माण प्रकृयामा आर्थिक घोटालाका नाममा राणालाई स्पष्टीकरण सोधिएको हो । महासचिव शर्माको एक मात्र सिईओ राणालाई पनि काममा फर्कन नदिने योजना अनुसार स्पष्टीकरण सोधिएको स्रोतको दावी छ । महासचिव शर्माले राणालाई स्पष्टीकरण सोधिएको अवस्थामा कर्मचारीले आ-आफ्नो विभाग अन्तर्गत सबैले काम गर्ने जनाए । ‘संघको कार्यालयमा चार जना विशिष्ठ कर्मचारी छन् । एनआरएनए नियमावलीअनुसार ती मध्ये जो पनि सिईओ बन्न सबै योग्य छन्’, महासचिव शर्माले वीनेपालीसँग भने, ‘सिइओ नै चाहिन्छ भन्ने कहाँ छ ? सचिवालयमा भएका विभाग प्रमुखले आ-आफ्ना विभागका रिपोर्टिङ आईईएस पदाधिकारीलाई गर्छन् । म नै सिईओ बन्ने कुरा होइन ।’

अध्यक्ष पन्तले आफ्नो घोषणा पत्रमामा सचिवालय पुनरावलोकन गर्न खोजेपनि महासचिव शर्माले सहयोग गरेका छैनन् । कर्मचारीको बोझ भएको भन्दै महासचिव शर्माले बेलायतबाटै कार्यालय संचालनको तयारी गरेको स्रोतको दावी छ । संघको विधान सशोधन गरी प्रशासनिक प्रमुखको जिम्मेवारी संघको महासचिवलाई हुने उल्लेख गरिएको छ। करिब २ लाखभन्दा बढी तलवसहित गाडी, भत्तालगायतको सुविधासहित एनआरएनए केन्द्रीय कार्यालयको सिइओ पदमा दुई जनाका लागि खर्च हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री