के बालबालिकामा पनि कोरोना भाइरस देखिएको हो ?

तस्वीर मेट्रो अनलाइन

लण्डन । कोरोना संक्रमणले विश्व सिथिल भएको बेला बालबालिकामा नयाँ रोगको लक्षण देखा परेको छ । बालबालिकाहरुमा ज्वरो आउने तथा धमनीहरु सुन्निने संकेत देखा पर्न थालेपछि यो रोगको सम्बन्ध कोभिड १९ सित छ कि छैन भनी अनुसन्धाताहरुले अनुसन्धान गर्न शुरु गरेका छन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का अनुसार करिब २० वटा यस्ता नयाँ लक्षण भएका बालबालिकाहरु इङग्ल्याण्डका अस्पतालहरुमा भर्ना भएका छन् । तर अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भइसकेकाे छैन ।

बेलायती स्वास्थ्यमन्त्री म्याट हानककले नयाँ रोगका बारेमा अनुसन्धान हुँदै गरेकाे र आफूहरु चिन्तित बनेको बताएका छन् । उनले भनेका छन्, ‘यो नयाँ खालकाे रोग हाे र हामीलाई लाग्छ यो कोरोना भाइरसबाट सृजित हाे । तर हामी पूर्ण विश्वस्त भइसकेका छैनौँ किनभने केही मानिसहरु जसमा यो स‌ंकेत देखा परेका छन् उनीहरुमा कोरोना पोजिटिभ देखिएको छैन ।’

एनएचएस इङल्याण्डका राष्ट्रिय चिकित्स निर्देशक प्रोफेसर स्टेफेन पोविसले भनेका छन्, ‘अहिल्यै यो रोग कोभिड१९ सँग सम्बन्धित छ भन्नु हतारो हुन्छ ।’

कोरोनाले असाध्यै प्रभावित उत्तरी इटलीमा पनि नौ वर्ष मुनीका बालबालिका यस्तो लक्षण देखिएको थियो । यसलाई एसियामा प्रचलित कावासाकी रोगजस्तै मानिएको छ ।

कावासाकी रोगले पाँच वर्षमुनीका बालबालिकालाई प्रभावित पार्छ । यो रोगका लक्षणहरुमा छालामा दाग देखिने, ज्वरो आउने र गम्भीर हुँदै जाँदा मुटुका धमनीहरु सुन्निने गर्छ ।

रोयल कलेज अफ नर्सिङकी प्रोफेसर आन मारी राफेरट्री यस रोगका बारेमा अत्यन्तै कम थाहा भएको र प्रभावितहरुको संख्या पनि न्यून भएको बताउँछिन्। ‘तर यो संकेत हो र अहिले धेरै अनुसन्धाताहरुबाट यस रोगका बारेमा परीक्षण भइरहेको छ’ उनले भनिन् ।

बेलायतका कनिष्ठ आन्तरिक मन्त्री भिक्टोरिया अट्किन्सले मानिसहरुलाई सतर्क बन्न आग्रह गरेकी छिन् । ‘यसबाट भाइरस कति छिटो फैलिरहेको छ र यसका प्रभाव कति अभूतपूर्व छ भन्ने देखाउँछ’ उनले भनेकी छिन्  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री