समाजसेवी नारायण कोन्मे गुरुङको युकेमा निधन

 

लण्डन । समाजसेवी नारायण काेन्मे गुरुङको बेलायतमा निधन भएको छ ।

उनका नातेदार सहारा युकेका उपाध्यक्ष लेफ्टिनेण्ट कुसाङकुमार गुरुङका अनुसार सोमबार अपराह्न उनको ननिटनको जर्ज इलियट अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि रुघाखोकीबाट ग्रसित रहेको जानकारी पाएको उपाध्यक्ष गुरुङले बताए । उनलाई पछिल्लो समय आइसियुमा राखिएकोमा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्।

पर्वत चारभन्ज्याङ ठानामौलामा गाविस वडा नम्बर ३ मा जन्मेका काेन्मे कक्षा ८ सम्मको अध्ययनपछि बेलायती सेनामा भर्ती भएका थिए । बोर्नियोको लडाइँमा उनले भाग लिएका थिए । तत्पश्चात नाम काटेर नेपाल फर्की अध्ययन अध्यापनमा लागेका थिए ।

स्वदेश फर्केपछि उनी चितवन हाई स्कुलमा नौ कक्षामा भर्ना भएका थिए । वि‍‍.सं २०२७ सालमा एसएलसी उतिर्ण भएपछि पृथ्वी नारायण क्याम्पस पोखराबाट आइएड र बीएड गरेपछि उनले त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट स्नातकोत्तर गरे । तत्पश्चात स्थानीय विकास मन्त्रालयमा सेक्सन अफिसर भई सात वर्षसम्म सेवा गरेका थिए ।

कोन्मेको अगुवाईमा २०५८ सालमा चार भन्ज्याङ तमु समाज काठमाण्डौको स्थापना गरिएको थियो । कोन्मेले कृष्ण प्राईमरी स्कुल ठानामौला खाल्टे, अमरसिंह माध्यमिक विद्यालय पोखरा, फेदिखोला माध्यमिक विद्यालय फेदीखोलाको शिक्षक रहेर शिक्षा सेवा गरेका थिए ।
कोन्मेले तमु धिं नेपालको संस्थापक, चारभन्ज्याङ तमु समाज काठमाण्डौको संस्थापक, तमु बौद्ध सेवा समिति काठमाण्डौ केन्द्रीय सदस्य, तमु समाज बेल्जियमको सल्लाहकार रहेर काम गरिसकेका थिए । यस्तै, तमुधिँ युकेका आजीवन तथा सल्लाहकार, चार भन्ज्याङ तमु समाज युकेका संरक्षक, नेपलिज ब्याडमिण्टन एसोसिएसनका संस्थापक सल्लाहकार, ननिटन नेपलिज ब्याडमिण्टन क्लवका सल्लाहकार र पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार रहेका थिए ।

कोन्मे पछिल्लो समय बेलायतमा बसोबास गर्दै आएका थिए । उनी बेलायतको अल्डरसटमा बस्दथे भने उनको परिवार ननिटनमा थियो  ।

उनको ब्याडमिण्टन खेलमा असाध्यै रुचि थियो ।

उनकाे श्रीमती १ छोरी, दुई छोरा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री