कोरोनाको कारण युकेका नेपाली ट्राभल एजेन्सीहरु संकटमा

लन्डन । कोरोना भाइरस (कोभिडङ १९)का कारण विश्वका अधिका‌ंश देश लकडाउनमा जाँदा दैनिक हजारौँ यात्रुहरुलाई टिकट र होलिडे प्याकेज विक्री गर्दै आएका यहाँका ट्र्राभल्स एजेन्सीहरु संकटमा परेका छन् ।
लण्डनमा ट्र्राभल्स व्यवसाय गर्दै आएका नेपाली व्यवसायी मध्येका एक विराज भट्ट कोरोनाका कारण संसारभर नै यो व्यवसायमा संकट आएको बताउँछन् । विश्वभर नै लकडाउनका कारण हवाइजहाज एयरपोर्टमै पार्किङमा राख्नु परेपछि यो व्यवसाय धरापमा पर्नु स्वाभाविक रहेको उनको भनाइ छ ।
कोरोनाका कारण २ मिटरको सोसियल डिस्ट्यान्सिङ व्यवसायका लागि प्राय असंभव छ । ‘आकाशमा उडने हवाईजहाजमा कम यात्रु लिएर व्यवसाय चलाउन सक्ने अवस्था छैन’, ट्राभल कन्सोलका निर्देशक भट्टले भने । विगतमा होलिडे प्याकेज वा आफ्ना मातृभूमि नेपाल जान टिकट खरीद गरेका यात्रुहरुलाई कम्पनीले भौचर उपलव्ध गराएको जानकारी उनले दिए ।
पोखरा ट्राभल्स एण्ड मनी ट्रान्सफरका डारेक्टर ज्ञाम गुरुङको अवस्था पनि उस्तै छ । व्यवसायी गुरुङले लकडाउनका कारण ट्राभल व्यवसाय नै धरापमा परेको बताउँछन् । उनले मनी ट्रान्सफरका लागि अहिले पनि दिउँसो एक वा दुई घण्टा व्यवसाय खुला गरेको जानकारी दिए । व्यवसायसँग सामाजिक सेवालाई अघि बढाएका गुरुङ दुखमा परेका समुदायलाई सहयोग गर्न अहिले स्वयंसेवी भूमिकामा हिडिरहेका छन् ।
अर्का ट्राभल व्यवसायी विष्णु सुव्वाले पनि व्यवसाय चौपट भएको गुनासो पोखे । ‘टिकट काटेर बस्नु यात्रुहरुको हकमा टिकट नै पिच्छे फरक-फरक काम भैरहेको छ’, उनले भने । नट जस्ट ट्राभलका सुव्वाका अनुसार पैसा फिर्ता नहुने गरी फिक्स मिति  र हवाईजहाज तोकिएर काटिएका टिकटका बारेमा भने केही जटिलता रहेको छ ।
यात्रुका समस्या
बेलायतमा समर लाग्दै गर्दा यो यहाँका नेपालीहरुका लागि नेपाल जाने समय आउन लागेकाे छ । बच्चाहरुको विद्यालय र शिक्षण संस्थामा विदाका कारण धेरैजसो यसबेलामा यात्रा गर्छन् । तर कोरोनाले विश्वका धेरै देश लकडाउनमा हुँदा टिकट लिइसकेका यात्रुहरु पनि अलमलमा छन् । ‘मैले छोराको व्रतबन्ध गर्न परिवारसहित कतार एयरवेजमा टिकट लिएको थिएँ । कोरोनाका कारण हवाईयातायात ठप्प भयो’, एक जना नेपाली यात्रुले वीनेपालीसँग भने ।  ‘अब के हुन्छ थाहा  छैन । मैले टिकट काटेको ट्राभल वर्ल्डलाई टिकटका बारेमा सोधपुछ गर्दा कतार एयरवेजसँग सम्पर्क गर्न भनेको छ । बुधबार पैसा फिर्ताका लागि अनलाईन फारम भरेको छु ।’
गत अप्रिलमा नेपाल जाने परिवारसहित टिकट काटेका अर्का एक नेपालीले अनलाईन मार्फत लिएको टिकटको रकम फिर्ता नआएको बताए ।  ‘मैले रकम फिर्ताका लागि अनलाईन फारम भरेँ’, उनले भने, ‘एक सातामा इमेल फर्काउँछु भनेको अहिलेसम्म केही अत्तोपत्तो छैन ।’ उनका अनुसार उनले उपभाेक्ताको अधिकार प्रयोग गरी क्रेडिट कार्ड कम्पनीलाई पैसा फिर्ताका अनुरोध गरेको बताए । यदि क्रेडिट कार्डबाट टिकट किनेको छ भने आफूले त्यो सेवा नलिएकाले उपभाेक्ता अधिकारको प्रयोग गरी रकम फिर्ता हुने उनी बताउँछन् ।
गत मार्चमा बेलायत लकडाउन शुरु भएपछि कुन मितिमा हवाईजहाज संचालन आउने हो भन्ने थाहा छैन । धेरै एयरलाइन्सहरुले लकडाउनपछि पहिलो चरणमा जुन र जुलाईको टिकटका दिएका छन् । तर जुन र जुलाईमा पनि यात्रा गर्न पाइन्छ पाइँदैन निश्चित नहुँदा थाहा नहुँदा एयरलाइन्सहरुले लचिलो हुँदै थप अवधिको टिकट अफर गरिरहेको नेपाल जाने तयारीमा रहेका यात्रु मणि भट्टराईले बताए । करीब एक वर्षसम्म जहिले यात्रा गरे पनि हुने गरी टिकट भौचर उपलव्ध गराउने काममा प्राय हवाइजहाज कम्पनीहरुले गरिरहेका छन् ।
वेम्ली निवासी अर्का नेपालीले कतार एयरलाइन्ससँग सिधा टिकट खरीद गरेकाले लकडाउनका कारण हवाई यातायात रोकिएपछि रिफण्ड पाएको अनुभव सुनाए ।
युकेमा नेपाली व्यवसायीहरुकै दर्जनौँ ट्राभल एजेन्सीहरु छन् । जसले रोजगारीको अवसर पनि दिएका थिए ।
कतार जस्तो राम्रो एयरवेजले तत्काल रकम फिर्ता नदिएपनि विभिन्न विकल्पमा यात्रुहरुसँग छलफल गरिरहेको ट्राभल कन्सोलका भट्ट बताउँछन् ।
अरु समयमा विश्वभर दैनिक १ लाख २ हजार ४ सय ६५ हवाइजहाजले उडान भर्ने गरेकोमा कोरोनाकै कारण करिब २० हजार हवाइजहाज ग्राउण्डेड भएर बस्नु परेको फ्लाईट ट्रेड ट्वान्टीफोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री