कोरोना प्रभावितलाई राहत वितरणमा संघसंस्थाबीच समन्वय अभाव

rahat pic
लण्डन । कोरोना भाइरस (कोभिड-१९) का कारण प्रभावित विद्यार्थीहरु, बृद्धबृद्धा र बेलायत भ्रमणमा रहेका मानिसहरुमा वितरण गरिएको राहतमा समन्वय अभाव देखिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, मर्जिङ नेप्सक्स, नेपाली जनसम्पर्क समिति युके, प्रवासी नेपाली एकता मंच युके तथा स्थानीय संघसंस्थाहरुबीच सहयोग आदानप्रदान भन्दा पनि आ आफ्नै ढंगले सहयोग वितरण गर्न थालेपछि समन्वय अभाव सतहमा देखिएको हो ।  

ती संस्थाहरुले वितरण गरेको राहत कस कसले पाएका थिए भनेर नाम सार्वजनिक गरेका छैनन् । व्यक्तिगत विवरण गोप्य राख्ने नाममा कसैले दोहोर्‍याएर राहत सहयोग पाउने र कसैले नपाउने स्थिति आउन सक्ने देखिन्छ । गत जनवरी वा फ्रेवुअरीमा बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई सबैभन्दा बढी राहत वितरण गरिएको छ । नेप्सक्स, एनआरएनए युके, एनपिसिसी युके र सोलिसिटर दिपक भट्टराई लगायतले विद्यार्थीहरुलाई राहत वितरण गरेको सार्वजनिक गरिसकेका छन् । तर, सोलिसिटर भट्टराई बाहेक अरुले राहत वितरण गरिएका व्यक्तिको नामावली सार्वजनिक गरेका छैनन् ।

बेलायतमा नेपाली विद्यार्थीहरुलाई खान र बस्न गाह्रो भएको समाचारहरु आउन थालेपछि संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासले मर्जिङ नेप्सक्सलाई विद्यार्थीहरुको समस्या समाधानका लागि राहत वितरण गर्ने जिम्मा दियो । राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले विज्ञप्तिमार्फत नेपाली समुदायलाई नेप्सक्सलाई आर्थिक सहयोग गर्न आग्रह गरेपछि नेप्सक्सले विद्यार्थीहरुको लागत संकलन गरी राहत वितरण गरिरहेको छ । दूतावासबाट आधिकारिक पत्र पाएलगत्तै नेप्सक्सले आफ्नो कामलाई तीव्रता दिँदै आएको छ । राहत बाहेक अध्ययन गरेका विश्वविद्यालयका ‘फि रिफण्ड’ देखि काउन्सिलिङसम्मका कार्य पनि नेप्सक्सले गरिरहेको अध्यक्ष पवन कंडेल बताउँछन् ।

दूतावासको निर्णयलगत्तै बसेको एनआरएनए युकेको बैठकले आफूले बनाएको मापदण्डका आधारमा विद्यार्थीहरुलाई छुट्टै सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि करीब ४० जना विद्यार्थीहरुलाई एनआरएनए युकेले राहत वितरण गरिसकेको जनाएको छ । करीब तीन हजारलाई माक्स, स्यानिटाइजर, ग्लोव्सलगायतका सामग्री पनि एनआरएनले वितरण गरेको जनाएको छ ।

त्यसबाहेक व्यक्तिगत रुपमा कतिपय कार्यसमिति सदस्यहरुले बेलायत भ्रमणमा रहेका डाक्टरहरु, यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरु र समस्यामा परेका सर्वसाधारणलाई घरमै राखेर सहयोग गरिरहेका छन् । उपाध्यक्षद्वय सुनिलबावु खड्का र रोजिना प्रधान राईसँग सम्पर्कमा आएका विद्यार्थीमध्ये धेरैले सहयोग पाएका छन् । ‘एनआरएनए युके हेल्पलाइन र यहाँका समुदायको सिफारिसलाई पहिलो प्राथमिकतामा राखेर हामीले कोरोनाका कारण प्रभावित भएका नेपालीलाई सहयोग गरिरहेका छौं,’ उपाध्यक्ष सुनिलबाबु खड्काले वीनेपालीसँग भने । एनआरएनए युकेले समस्यामा परेका व्यक्तिहरुलाई सम्पर्कमा आउन पटक पटक आव्हान गरिरहेको छ । ‘राहत वितरणमा एक अर्कासँग सहकार्य हुन जरुरी छ,’ उपाध्यक्ष खडकाले भने, ‘समस्यामा परेकाले नपाउने र टाठाबाठाले दोहोर्‍याई तेहर्‍याई पाउने स्थिति बन्न दिनु हुँदैन । हामी सबै हातेमालो गरेर अघि बढनुपर्छ ।’

कोरोना संक्रमणबाट प्रभावितलाई राहत वितरण गर्न इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा समुदायसँग आर्थिक सहयोग अभियान चलिरहेको छ । कोरोना भाइरसकै कारण समस्यामा परेका व्यक्तिहरु जीवन निर्वाहका लागि रकम खर्च गरिने कोभिड १९ राहत कोषका संयोजक श्रेष्ठले जनाए ।

आइतबार नेपाली जनसम्पर्क समिति युके अध्यक्ष यूवराज गुरुङको टोलीले हडर्सफिल्ड विश्वविद्यालयका केही विद्यार्थीहरुलाई राहत बाँडेको थियो । प्रवासी नेपाली एकता मंच युकेले पनि स्थानीय तहमा राहत वितरण गरेको जनाएको छ । ठाउँ ठाउँमा स्थानीय स्तरमा गठित समितिले आ-आफ्नै क्षेत्रमा राहत बाँडेका छन्। त्यसबाहेक अल्डरसट, फार्नवरो, डाटफोर्ड, रिडिङ, लेस्टर, ननिटनलगायत क्षेत्रमा पनि स्थानीय स्तरमा राहत बाँडिएका खबरहरु प्राप्त भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री