कोरोनाबाट गोरखा भर्ती प्रभावित, यसवर्ष भर्ती हुने नहुने अनिश्चित

लण्डन । कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ ।
ब्रिटिश आर्मीले एक सूचना प्रकाशित गर्दै यस वर्ष नयाँ दर्ता र क्षेत्रीय छनौट नहुने स्पष्ट पारेको छ । “कोरोना भाइरसको महामारीले गर्दा ब्रिटिश गोरखा नेपालले ‘रिक्रुट इन्टेक २१’ को ‘रजिष्ट्रेसन’ तथा ‘रिजनल सेलेक्सन’ सुरक्षित ढंगले गर्न नसक्ने जानकारी गराउँदछौं” सूचनामा उल्लेख छ ।
सामान्य अवस्थामा गोरखा भर्तीमा भर्ना हुन इच्छुकहरुले हरेक वर्ष नाम दर्ता र क्षेत्रीय छनौटमा भाग लिन पाउँथे । यसवर्ष भने नयाँ नाम दर्ता गर्ने अवसर मिल्ने छैन । त्यसको अर्थ हुन्छ गत वर्ष नाम दर्ता भएका र छनौटमा पर्न नसकेकाहरुलाई यसवर्ष मौका दिइने छ ।
ब्रिटिश आर्मीले अवस्था सुधार भएको खण्डमा एकैचोटी केन्द्रीय छनौट गरिने बताएको छ । सो छनौटमा गतवर्ष क्षेत्रीय र केन्द्रीय छनौट प्रक्रियामा राम्रो गर्नेलाई बोलाइने बताइएको छ ।
“हामीले ‘रेक्रुट इन्टेक २०’ को ‘रिजनल’ र ‘सेन्ट्रल सेलेक्सन’मा उत्तम नतीजा ल्याएका भाइहरुलाई मात्र बोलाउने छौँ” सूचनामा भनिएको छ ।
यसरी केन्द्रीय छनौट भएमा सेप्टेम्बर १ मा ब्रिटिश गोरखा नेपालको वेभसाइटमा सूचना प्रकाशन गरिने बताइएको छ । केन्द्रीय छनौटमा को को भाग लिन पाउँछन् उनीहरुको नाम पनि वेभसाइटमा राखिने र फोनमार्फत बोलाइने जनाइएको छ ।
दुईसय वर्षभन्दा लामो इतिहास बोकेको गोरखा भर्ती यसरी बिथोलिएको विरलै थियो । दुईवटा विश्वयुद्धका बेलासमेत भर्ती रोकिएको थिएन ।
बेलायतले हरेक वर्ष नेपालबाट युवाहरुलाई बेलायती सेनामा भर्ती गर्ने गर्छ । यसवर्ष ४३२ जनालाई बेलायती सेनामा र थप १२० जना सिंगापुर प्रहरीमा भर्ती गर्ने योजना थियो ।
पहिले पहिले गल्लावालले गाउँगाउँबाट नापजाँच गरेर क्षेत्रीय छनौटका लागि गेट पास दिने गरे पनि अहिले भर्ती हुुन चाहने सबैले वेभसाइटमार्फत इच्छा जाहेर गर्न पाउँछन् । अहिले पूर्वको धरान र पश्चिमको पोखरामा क्षेत्रीय छनौट हुने गर्दछ । यसरी छानिएकाहरुको केन्द्रीय छनौट पोखरामा हुने गरेको छ । यदि आवेदकहरु धेरै भएको अवस्थामा दर्ताकै समयमा ‘मिड थाइ टेष्ट’ शरीरको तल्लो हिस्साको मांसपेशीको शक्ति परीक्षण गरी त्यसमा पास भएकाहरुलाई मात्र क्षेत्रीय छनौटमा लग्ने गरिन्छ ।
गोरखा सैन्यमा भर्ती हुनका लागि नेपालमा वर्षेनी हजारौँ युवाहरुले आवेदन गर्ने गरेका छन् । काठमाडौँ, पोखरा, धरान लगायतका क्षेत्रमा सञ्चालित तालिम केन्द्रहरुमा छनौटका लागि हजारौँ युवाले महिनौँदेखि पूर्व तयारी गर्ने गर्दछन् ।
ब्रिटिश आर्मीको यो सूचनाले गतवर्ष छनौटमा नपरेकाहरुलाई अरु एक मौका दिएको छ भने यसवर्ष आवेदन गर्ने योजनामा रहेकाहरुलाई निराश तुल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री