बेलायतमा आ-आफ्नै ढंगले स्वयंसेवा, दूतावास भने वेखवर

लण्डन । संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासले यहाँका नेपाली संघसंस्थाहरुलाई कोरोना भाईरस (कोभिड -१९) संक्रमणबाट प्रभावित नेपालीहरुलाई गरेको सहयोगबारे जानकारी दिन आव्हान गरेको छ । 

कोभिड- १९ का कारण बेलायत लकडाउन भएपछि स्वतस्फूर्त रुपमा आर्थिक सहयोग संकलन गरी स्वयंसेवा गरिरहेका संघसंस्थाहरुलाई रेकर्डका लागि दूताबासको सिस्टममा आउन राजदूतावासका प्रवक्ता शरदराज आरणले आग्रह गरेका हुन् ।

अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, नेपाली जनसम्पर्क समिति यूके, प्रवासी नेपाली एकता मंच यूके, नेपाल पत्रकार महासंघ यूके, ग्रेटर रसमोर नेपाली कम्युनिटी, डार्टफोर्ड नेपाली समाज, मर्जिङ नेप्सक्सलगायत दर्जनौ संघसंस्थाले आ- आफ्नै ढंगले पैसा उठाइरहेका छन् । 

नेपाल सरकारको आधिकारी निकाय राजदूतावासले पनि आफ्नै ढंगले कोरोनाबाट निधन भएका व्यक्तिहरुका तथ्यांक संकलन गरिरहेको छ । त्यसवाहेक कोरोना संक्रमित र भूतपूर्व गोर्खाका परिवारहरुलाई सहयोगका लागि बेलायती रक्षा मन्त्रालयलाई पत्राचार गरी सहयोग समेत दिलाईसकेको छ । 

फरक- फरक ढंगले नेपाली समुदायमा काम गरिरहेका यहाँका संघसंस्थाले गरेको योगदानका बारेमा बेलायतस्थित दूतावास भने वेखवर छ । नेप्सक्स बाहेक दूतावासलाई आफ्नो कामका बारेमा कसैले जानकारी नगराएको प्रवक्ता आरणले बताए । ‘हामीले त समाचार वा सामाजिक संजाल हेरेर काम गरिरहेको देख्छौं । आधिकारीक रुपमा संघसंस्थाहरुले जानकारी गराएका छैनन् ‘, उनले वीनेपालीसँग भने, ‘एनआरएनए यूके, राजनीति दलसँग सम्बद्ध संस्थाहरु, जातीय संस्थाहरु, नेपाल पत्रकार महासंघ यूके, विद्यार्थीहरुसँग आबद्ध तथा स्थानीय तहमा रहेका संघसंस्थाले गरेका कामहरु हाम्रो रेकर्डमा छैन् ।’

एनआरएनए यूकेले कोभिड-१९ राहत कोष खडा गरी इल्याण्ड राज्य परिषद् अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा राहत संकलन गरिरहेको छ । उक्त कोषमा १२ हजार पाउण्ड भन्दा बढी रकम संकलन भैसकेको श्रेष्ठले बताए । एनआरएनए युकेकै हेल्पलाईन मार्फत सचिवद्वय जीत रानाभाट र कोश्लेस्वर ढकाल तथा हेम गुरुङले काम गरिरहेका छन् । उनीहरुले विभिन्न संघसस्थाको सहयोगमा तीन हजार भन्दा बढीलाई विभिन्न सहयोग बाडिसके । 

उता डा. सुनिल शाहको टोलीले टेलिफोनमार्फत स्वास्थ्य सल्लाह दिइरहेको छ । नेपाल पत्रकार महासंघ यूकेले अग्रेजी भाषा नजान्ने बृद्धबृद्धाहरुका लागि यहाँस्थित आइलाइन पोर्टलमा सचेतनाका लागि एक महिना भन्दा बढी समाचार सम्प्रेषण गरेको थियो । दोस्रो चरणमा कोरोनाका बारेमा समुदायसँग सर्वे गरिरहेको छ ।

नेप्सक्सले १२ हजार पाउण्ड सहयोग संकलन गरि विद्यार्थीहरुलाई राहत बाडिरहेको छ ।  नेपाली जनसम्पर्क समिति यूके र प्रवासी नेपाली एकता मंच यूकेले राहत वितरण गरिरहेका छन् । व्यक्तिगत तहमा एनआरएनए अभियन्ता शेर सुनारले बृद्धबृद्धाहरुलाई अल्डरसट क्षेत्रमा नि:शुल्क भोजन उपलब्ध गराएका छन् ।

तरपनि, नेपाल सरकारको आधिकारी निकायमा सहयोगका बारेमा केही उल्लेख छैन । गत साता राजदूतावास र एनआरएनए यूकेले संकलन गरेका कोरोनाबाट मृतकको संख्यामा झण्डै १० जनाको फरक पर्नु र अधिकांश संघसस्थाले विद्यार्थीहरुलाई राहत दिएको समाचार आउनुले समन्वयको अभाव खट्किएको आभास भएको छ।

बिहीबारसम्मको तथ्यांकलाई हेर्ने हो भने दूतावास र एनआरएनए यूकेको कोरोनाबाट निधन हुने र कोरोना संक्रमण हुनेवीचको तथ्यांकको खाडल अझै पुरिएको छैन । ‘एनआरएन यूकेले तयार गरेको तथ्यांक गोपनीयताका कारण संघमै राखिएको छ । आवश्यक पर्दा दूतावाससँग हातेमालो गर्न जहिले पनि हामी तयार छौं’-एनआरएनए यूके हेल्पलाईनका कोअर्डिनेटर मध्येका एक रानाभाटले भने ।

एनआरएनलाई सहयोग गर्ने कार्यमा महामहिम डा. दुर्गावहादुर सुवेदी सधै सकारात्मक रहेको उनको भनाई थियो । यद्यपी, एनआरएनए यूके हेल्पलाईनले दैनिक प्रकाशित गर्ने कोरोना अपडेट र दूतावासको अपडेटमा भने एक रुपता आउन सकेको छैन ।

आफ्नो काम नेपाल सरकारको रेकर्डमा चढाउनुहोस्: आरन 

लन्डनका उपनियोग प्रमुख तथा काउन्सेलर शरदराज आरण, तस्विरः वीनेपाली

बेलायतस्थित नेपाली राजदूतावास यहाँहरुको हक हितमा काम गर्ने सरकारको आधिकारीक निकाय हो । यसको रेकर्डमा तपाईहरुको काम कारवाही आउनु भनेको नेपाल सरकारको जानकारीका लागि हो । हामी कर्मचारीहरु आ-आफ्नो पदावधि सकिएपछि जान्छौ। हाम्रो ठाउँमा अरु साथीहरु आउनु हुन्छ । वहाँहरुले तपाईहरुलाई चिन्ने भनेको तपाईहरुको कामले हो । दूताबासको फाइल पल्टाउँदा होस् वा दूताबासका कम्यूटर खोल्दा होस्, तपाईहरुले यो महामारीका बेला गर्नुभएको कामको बारेमा भविष्यमा आउने नयाँ राजदूत वा दूताबासका कार्मचारीले थाहा पाउनु हुन्छ । हामीले त तपाईहरुलाई र तपाईहरुका राम्रो कामलाई चिन्दछौ। तर, केही समयपछि अर्थात १० बर्षपछि तपाईहरुले गरेका कामका बारेमा कसैले अध्ययन गर्न खोज्दा केही भेटिदैन । अनि तपाईले यो महामारीमा स्वयंसेवीका रुपमा गरेका ऐतिहासिक कामको दस्तावेज नयाँ पुस्ताले थाहा पाउन सक्दैन ।

त्यसैले, दूताबास अर्थात नेपाल सरकारको रेकर्डमा राख्न आफुले गरेका कामका विवरण इमेल वा फोनमा टिपाएर सहयोग गर्नुहोस्  । बेलायत सरकारले नेपालीका लागि गर्ने काम समेत हामीलाई जानकारी गराई राखेको हुन्छ । यसबाट के देखिन्छ भने कामको रेकर्ड राख्न तपाई हामीले सुरु गर्नुपर्छ । यो कार्यको दूतावास र नेपाल सरकारले आउने दिनमा तपाईका समाजसेवी कामको उच्च मूल्यांकन गर्नेछ । जुन-जुन संस्थामा नेतृत्व वा कार्यसमितिमा रहनु भएको छ, त्यो कार्यसमितिले गरेका कामलाई दस्वावेजीकरण गरेर डायस्पोरामा नेपाली समुदायले एक अर्कावीच गरेको मानवीय कार्यलाई प्रेरणादायी बनाउं । मेरो व्यक्तिगत तहबाट तपईहरुले गरेका मानवीय कार्यको म उच्च मुल्यांकन गर्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री