ज्येष्ठ सदस्यहरुको मनोबल उकास्न तमु समाज युकेको ‘होम भिजिट’

लण्डन । करिब दुई महिना लामो बन्दाबन्दीका कारण घरमै बसिरहेका समाजका ज्येष्ठ सदस्यहरुको अवस्था र समस्या बुझ्न तमु समाज युकेले उनीहरुसित भेटघाट गरेको छ ।

समाजका अध्यक्ष शिवचन्द्र गुरुङका अनुसार तीन सप्ताहन्तमा पश्चिम लण्डन, पूर्वी लण्डन, रेडिङ र ह्याम्पसायरमा रहेका ज्येष्ठ सदस्यहरुको घरमा गई उनीहरुको अवस्था बुझिएको हो ।

”लकडाउनका कारण लामो समयदेखि उहाँहरु घरभित्रै रहनुभएको छ । उहाँहरुमा मनोबल बढाउन, कुनै समस्या छ कि बुझ्न र सरकारले लागू गरेको एकान्तबास र सामाजिक दुरी पालना गर्नमा कुनै समस्या छ कि थाहा पाउन होम भिजिट गएका थियौँ ” गुरुङले वीनेपालीसित भने ।

कुल ५२ घरमा पुग्दा सबैजसो वृद्धवृद्धा एकदम खुशी भएको उनले बताए । ‘आफन्तहरुसित बसोबास गरिरहेकाहरुमा कुनै समस्या पाइएन तर श्रीमान/श्रीमती मात्र बसोबास गरिरहेकाहरुमा किनमेलका लागि बाहिर जानु परेको थाहा पायौँ’ उनले भने । यद्यपि सबैमा कोरोनाबाट कसरी बच्ने भन्ने बारेमा जानकारी रहेको आफूहरुले पाएको उनले बताए ।

समाजले गुरुङको संयोजकत्वमा एक विपद समिति गठन गरी सहयोग संकलन पनि गरिरहेको छ । सोही सहयोगबाट वृद्धवृद्धालाई मास्क, पन्जा, स्यानिटाइजर, वाइप्स, फलफूलसहितको उपहारका साथ समाजको टोली घरघर पुगेको थियो ।

समाजको १२ जना स्वयंसेवकहरुको २/२ जनाको टोली घरघर पुगे पनि घरभित्र नपसी बाहिरै दुई/दुई मिटरको फरकमा बसी हालखबर बुझी फर्किएको गुरुङले बताए ।

”उहाँहरुसित फोनमा सधैँ सम्पर्कमा थियौँ तर धेरै लामो समय घरभित्रै बस्दा उकुसमुकुस भएको हुनसक्छ । बोलेर, सुनेर भन्दा देखेर धेरै कुरा थाहा पाइन्छ । मनोबल पनि बढ्छ भनेर यसो गरेका हौँ ”, उनले भने ।

उनले केही सहयोग आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरिएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री