बेलायतबाट नेपाल जान केही समय पर्खनुपर्ने

लन्डन । बेलायतबाट नेपाल जाने तयारी अवस्थामा रहेका करीव  ३ सय मानिस थप केही समय बेलायतमै बस्नु पर्ने भएको छ । नेपाल सरकारले विदेशबाट आफ्ना नागरिक फिर्ता लग्न खाडी मुलुकहरुलाई पहिलो प्राथमिकतामा राखेपछि यूरोप, अमेरिका, अष्ट्रेलियाबाट नेपाल फर्किने नेपालीहरुले थप समय आ-आफु बसेको देशमै विताउनु पर्ने भएको हो । नेपाल सरकारका परराष्ट्र्मन्त्री प्रदीप ज्ञवालीले प्राथामिकताका आधारमा विदेशस्थित आफ्ना नागरिक फिर्ता लग्ने बताएपछि बेलायत कम प्राथमिकतामा परेको छ ।

‘मेलेसिया, कतार, दुवई र कुवेतलगायतका खाडी मुलुकहरुमा गैरकानूनी रुपमा बसेका नेपालीहरुलाई पहिलो प्राथमिकतामा राखि नेपाल सरकारले नागरिक फिर्ता लैजाने योजना बनाएको छ,’ संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासका प्रवक्ता शरदराज आरनले वीनेपालीसँग भने । विदेशमा रोजगारीमा आएका नेपाली फर्काउनु अघि मुलुकभर थप क्यारेन्टाईन निर्माण कार्यलाई नेपाल सरकारले अघि बढाएको छ । प्रवक्ता आरनका अनुसार खाडी मुलुक मध्येकै क्रमश बढी समस्या भोगिरहेका नेपालीहरु स्वदेश फर्कनेको लिष्टमा पर्दै जानेछन् ।

विदेशबाट स्वेदश फर्किने संख्याका आधारमा ठाउँ-ठाउँमा क्यारेन्टाईन निर्माण गरी दुई साता त्यही अनिवार्य बस्नुपर्ने नियमसहित क्रमश हवाई यातायात खोल्ने योजनालाई अघि बढाइएको छ । त्यसका लागि प्रधानन्त्री केपी ओली र परराष्ट्र्रमन्त्री प्रदिप ज्ञवालीले आ आफ्ना राजदूतहरुसँग पटक-पटक छलफल गरिसकेका छन् । संसद वैठकमा प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले विदेशस्थित नेपालीलाई फर्काउन रोडम्याप नै सार्वजनिक गरी सरकारलाई दवाव दिइरहेको छ ।

कोरोनाका भाइरस (कोभिड-१९) कारण बेलायतमा लकडाउनमा परी बेलायतमा रोकिएका करीव ३  सय नेपालीहरु तत्काल नेपाल फर्कन तयारी अवस्थामा छन् । संयक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गरेको छुट्टा-छुट्टै नाम संकलनमा ३ सय व्यक्तिहरु नेपाल जान सम्पर्कमा आएर नाम लेखाइसकेका छन् ।

गत सातादेखि एनआरएनए यूकेले तत्काल नेपाल जान जरुरी भएका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो । एनआरएनए यूके उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजकत्वमा नामावली संकलन कार्य अघि बढाइएको छ । उपाध्यक्ष पोखरेलका अनुसार सोमबारसम्म १६१ व्यक्तिहरु सम्पर्कमा आइसकेका छन् । पोखरेलका अनुसार यो क्रम बढदो छ ।

राजदूतावासको सम्पर्कमा झण्डै एक सय जना नेपाल जानका लागि तयारी अवस्थामा रहेको जानकारी फोन र इमेल मार्फत दिएका छन । नेपाल तत्काल फर्कनेमा बेलायत भ्रमणमा आएका नेपालीहरु, यहाँको परीक्षामा सहभागी हुन आएका डाक्टरहरु, केही विद्यार्थीहरु र बेलायतमा स्थायी रुपमा बसोवास अधिकार पाएका नेपालीहरु रहेको उपाध्यक्ष पोखरेलले जनाए ।

यता, राजदूतावासमा सम्पर्कमा आएकोमा पनि बेलायतमा एक कार्यक्रममा भाग लिन आएका डाक्टरहरुको समूह, बेलायत भ्रमणमा आएका नेपालीहरु र विश्वविद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीहरु छन् । नेपाल सरकारको अनुरोधमा बेलायतस्थित राजदूतावासले बेलायतबाट कति व्यक्तिहरु तत्काल नेपाल जान सक्छन भनेर आंकडा बनाइ रहेको दूतावासले जनाएको छ ।

एनआरएनए यूकेले कोरोना भाईरस (कोभिड- १९) को कारण बेलायतबाट नेपाल जान बन्चित भएका नेपालीहरुको नामावली संकलन कार्य गत सोमबारबाट शुरु गरेको थियो । उपाध्यक्ष पोखरेलले संयक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावाससँग समन्वय गरी तथ्यांक संकलनमा लागिरहेका छन् ।

उनका अनुसार बेलायतमा भ्रमणमा आएका, बिद्यार्थीहरु र लकडाउन खुल्ने वित्तिकै नेपाल जान चाहनेको नामावली संकलन गरि नेपाल सरकार, राजदूतावास, ट्राभल एजेन्सी, एयर लाईन्स एवं अन्य सरोकार वालाहरु संग समन्वय गरिनेछ । उक्त अभियानलाई एनआरएनए यूकेले नेपाल फर्काउ अभियान नाम दिइएको छ । नेपाल फर्काउ अभियान संयोजकमा उपाध्यक्ष रामचन्द्र पोखरेल छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री